६ वैशाख २०८१ बिहीबार
अन्य

‘विदेशी सहर व्यवस्थित छन्’

जितु नेपाल, हास्य कलाकार

तपाईंलाई मनपर्ने सहर कुन हो ?
मलाई मनपर्ने सहर अस्ट्रेलियाका सिड्नी र गोल्ड कोस्ट हुन् । यी सहरलाई म कहिल्यै भुल्दिनँ । यी सहरमा पुरानो र नयाँ दुवै खाले संरचना छन् । वातावरण शान्त र सुन्दर छ । नेपालमा भने पोखरा मनपर्छ । पोखरामा हरियाली छ । फरक–फरक व्यक्तिको जमघट हुन्छ। 

हाम्रा सहर किन व्यवस्थित नभएका होलान् ?
विकास निर्माणलाई चुस्त रूपले सम्पन्न नगर्दा हाम्रा सहर अव्यस्थित भएका हुन् । सरकारले नीति–नियम र कानुन लागू गर्न सकेको छैन । सहरको विकासलाई यसले छेकेको छ । भएकै नीति–नियम र कानुनको पालना गराउन सक्ने हो भने सहर राम्रो बन्लान् । 

सहर व्यवस्थित गर्न के गर्नुपर्ला ?
सहर सपार्न सबै मिल्नुपर्छ । सरकारसँग नागरिकले हातेमालो गरेर काम गर्ने हो भने हाम्रो सहर राम्रो बन्न सक्छ । अहिले सहरको मुख्य समस्या ट्राफिक जाम र अव्यवस्थित पार्किङ हो । यी विषयको समाधान गर्न सबैभन्दा पहिले सडक नै फराकिलो पार्न जरुरी छ । यति गरियो भने उपत्यकाको मुख्य समस्या समाधान हुन्छ । योबाहेक पुनर्निर्माणका काम गर्दा पुरानो शैली र मौलिकतालाई जोगाएर काम गर्नुपर्ने देखिन्छ। 

काठमाडौं उपत्यका कस्तो लाग्छ ?
ठीकै लाग्छ । यहाँको प्रदूषण र भीडभाड सम्झँदा काठमाडौंमा बसौँजस्तो त लाग्दैन, तर यहाँ पाइने सुविधाको विकल्प अन्त छैन । त्यसैले यहाँ बस्न बाध्य भइन्छ । यहाँको हावापानी राम्रो छ । सरकारकै शैली कमजोर भएकाले सहर नराम्रो बनेको हो । शिक्षा, स्वास्थ्य, यातायात, सरकारी सेवा–सुविधा पनि भएकाले अहिले काठमाडौं सबैको केन्द्र बनेको छ। 

सहरका मुख्य समस्या समाधान गर्न के गर्नुपर्ला ? 
भएका नियम–कानुनलाई लागू गर्नुपर्‍यो । प्रदूषण कम गर्ने खालका सवारी–साधन सञ्चालनमा ल्याउनुप¥यो । यहाँ भएका इँटाभट्टालाई व्यवस्थित गर्नुप¥यो । सडकका खाल्डाखुल्डी पुरेर आममानिसलाई सहरमा बसेको छु भन्ने अनुभूति दिलाउन सक्नुपर्छ । अहिले सडक निर्माण र खानेपानीका पाइप बिछ्याउँदा सबैतिर धुलोधुँवा फैलिएको छ । सरोकारवाला निकाय र नागरिक मिलेर तुरुन्तै यसको समाधान खोज्ने बेला आएको छ ।

सहरवासीको मननपर्ने बानी के हो ? 
सहरवासीको मननपर्ने बानी अरुको कुरा काट्नु हो । आजकाल सहरमा बस्ने धेरैजसोले सरकार र राजनीतिक नेताको कुरा काटेको सुन्छु । अरुको कुरा काट्ने समय कुनै कामका निम्ति खर्चेको भए केही हुन्थ्यो होला। 

विदेशका सहर कतिको घुम्नुभएको छ ?
मैले धेरै देशका सहर घुमेको छु । त्यसमध्ये मलाई अमेरिका एकदमै सफा र राम्रो लाग्यो । यसबाहेक बेल्जियम, अस्टे«लियाका सहर पनि राम्रै छन् । यी ठाउँका सहर व्यवस्थित र प्रदूषणरहित छन् । सडक र सार्वजनिक यातायात व्यवस्थित छ । त्यहाँका नागरिक पनि उत्तरदायी नै लाग्यो । 

त्यहाँका सहरलाई हाम्रा सहरसँग दाँज्दा ?
विदेशका सहर र हाम्रा देशका सहरको विशेषता फरक छ, त्यसैले ती सहरसँग हाम्रा सहरलाई दाँज्न मिल्दैन । मौलिकता र ऐतिहासिक कुरामा हाम्रा सहर राम्रा छन् । आधुनिकताका हिसाबले विदेशका सहर राम्रा छन् । हाम्रोका नागरिक उत्तरदायी देखिँदैनन्। 

तपाईंको सपनाको सहर कस्तो हुनुपर्छ ?
मेरो सपनाको सहर सफा सुग्घर र प्रदूषणमुक्त होस् । सडक फराकिलो होस् । सार्वजनिक यातायात व्यवस्थित होस् । सडक छेउछाउ हरियाली पार्क र चउर भएदेखि हामी सबैले राम्रो सहरमा बसेका छौँ भनेर गौरव गर्न लायक हुन्थ्यो। 

काठमाडौंको मनपर्ने र मननपर्ने कुरा ? 
ट्राफिक जाम, अव्यवस्थित सडक, जथाभावी पार्किङ, प्रदूषण लगायत पक्ष राम्रो लाग्दैनन् । यहाँको राम्रो लाग्ने पक्ष आफूले खोजेका सबै चिज पाउनु हो । हावापानी, तापक्रम मठ–मन्दिर यहाँका राम्रा पक्ष हुन्। 

कतै घुम्न जानुपर्‍यो भने कुन ठाउँ रोज्नुहुन्छ ? 
धुलिखेल, चोभार, भक्तपुर दरबार क्षेत्र, चन्द्रागिरि, बालाजुलगायत ठाउँमा घुम्न जान्छु । यी ठाउँमा गएपछि फरक महसुस हुन्छ । हरियाली देख्न पाइन्छ । 

प्रधानमन्त्री हुनुभएको भए के गर्नुहुन्थ्यो ?
सबैभन्दा पहिले त सार्वजनिक यातायातलाई सहज बनाउँथेँ । सडकका खाल्डाखुल्डी पुर्थें । यहाँका सडकलाई फराकिलो पार्थें र सहरवासीका मुख्य आवश्यकता हेरेर विकास निर्माणका काम अघि बढाउँथेँ ।

 प्रस्तुति : शिवहरि घिमिरे

 

प्रकाशित: २७ श्रावण २०७४ ०८:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App