८ वैशाख २०८१ शनिबार
अन्य

विभाजन वाङ्मय

‘पार्टेसन’बारे प्राणनाथ मंगोले बनाएको कला । स्रोत : टिएनएस न्युज अन सन्डे

‘प्राज्ञिक अध्ययन र लोकप्रिय इतिहासभन्दा भारतीय विभाजन (पार्टेसन) बारे लेखिएका उत्कृष्ट उपन्यासले धेरै कुरा बोल्छन् भन्नेमा यसका अध्येता सम्भवतः सहमत हुन्छन्,’ प्रसिद्ध भारतीय इतिहासकार रामचन्द्र गुहाले एक दशकअघि दी टेलिग्राफ इन्डियामा लेखेका थिए, ‘यस विषयमा रचिएका उत्कृष्ट कविताले त मानसिक आघात (ट्रमा) र दुविधा (डिलेमा)लाई अझ सशक्त ढंगले प्रतिविम्बित गर्छन्।’

पत्रिकाको ‘पोलिटिक्स एन्ड प्ले’ स्तम्भअन्तर्गत २८ अप्रिल २००७ को अंकमा प्रकाशित आलेखको शीर्षक नै ‘पोइम्स अफ पार्टेसन’ अर्थात् ‘विभाजनका कविता’ थियो । प्रायः प्राज्ञिक अध्ययनमा रमाउने गुहाले ‘पोइम्स अफ पार्टेसन’मार्फत भारतीय स्वतन्त्रता र विभाजनलाई काव्यकलाले इतिहासभन्दा गहिरोसँग प्रतिनिधित्व गर्न सक्ने दाबी गरेका छन्।

त्यसलाई पुष्टि गर्न उनी लन्डनको ‘युद्ध संग्रहालय’मा भेटिएको एक अप्रकाशित भारतीय कविताको विवरण दिँदै लेख्छन्, ‘वास्तवमै खराब कविद्वारा लेखिएको खराब कविताले समेत कहिलेकाहीँ एकदमै उत्कृष्ट इतिहासले भन्दा धेरै कुरा बोल्न सक्छ।’

लासले भरिएका रेल आइपुगेको दृश्यलाई कुनै कविले कविताको विम्ब बनाउन सकेन । आख्यानकारले प्रतीकको रूपमा प्रयोग गर्ने आँट गरेन । सिर्जनशील मनहरू शिथिल भए, मुलुक अंशबन्डाको मानसिक आघातले, परिवार विभाजनको पीडाले, कहालीलाग्दो हत्या, बलात्कार र आतंकले । 

गुहाले भनेझैँ विभाजनका विषयमा भारतीय साहित्य र कलाले इतिहास तथा प्राज्ञिक लेखनमा भेटाउन नसकिने लय पक्रिसकेको छ । स्वतन्त्रता र विभाजनको ७० वर्षमा यिनै विषयमा धेरै कथा र उपन्यास लेखिएका छन् । हजारौँ कविता रचिएका छन् । कैयाँै गीतमा संगीत भरिएका छन् । क्यानभासमा कुची चलेका छन्, अनि बक्स अफिस र टेलिभिजन स्क्रिनका लागि कैयौँ चलचित्र र टेलिचलचित्र बनिसकेका छन्। 

विभाजनलाई विषय बनाएर लेख्नेहरू भारतभित्र मात्र छैनन्, पाकिस्तान र त्यसैबाट छुट्टिएको बंगलादेशमा पनि उत्तिकै छन् । भारतभित्रै हिन्दी र अंग्रेजीबाहेक बंगाली, उर्दू, पन्जाबी, गुजराती, तमिल, मराठी, भोजपुरीलगायत भाषाका लेखकले समेत विभाजनलाई विषय बनाएर कलम चलाइरहेका छन् । बेलायत, अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत मुलुकमा पुगेका भारतीय, पाकिस्तानी र बंगलादेशी लेखकले विभाजन र त्यसपछिको मानसिक आघातका विषयमा थुप्रै पुस्तक लेखिसकेका छन्।

विभाजनलाई केन्द्रमा राखेर हिन्दी, उर्दू र अंग्रेजी लेखकले गरेका सिर्जनाले भारत, पाकिस्तान र बंगलादेशसहित विश्वभर नै चर्चा कमाएका छन् । दक्षिण एसियाली मूलका बाहेक डब्लुएच अडेन जस्ता प्रसिद्ध अंग्रेजी कविले समेत विभाजनमाथि कलम चलाए । धर्मका आधारमा भारतलाई दुई मुलुकमा बाँड्ने सहमतिपछि बेलायत सरकारद्वारा विभाजन रेखा कोर्न पठाइएका वकिल सिरिल रेडक्लिफमाथि अडेनले लेखेको ‘पार्टेसन’ कविताको चर्चा अहिलेसम्म सेलाएको छैन । धेरै भारतीय प्राज्ञिकले यो कवितालाई ‘पार्टेसन’ हेर्ने पश्चिमा चस्माको रूपमा लिएका छन्।

विश्वमञ्च पुग्ने दक्षिण एसियाली आख्यानमा विभाजन साहित्यको वर्चस्व छ । नजिकै भएर पनि हामीकहाँ भने विभाजन साहित्यको चर्चा कमै हुन्छ । नेपाली साहित्यिक मञ्चहरूमा अरुन्धती रोयको चर्चा धेरै हुन्छ, अमिताभ घोषको अत्तोपत्तो हुँदैन । बौद्धिक बहसमा एसडी मुनीहरू डाकिन्छन्, उर्वशी बुटालियाको ‘द अदर साइड अफ साइलेन्स’को चर्चा हुँदैन । 
सन् १९४७ कालको भारतीय उपमहाद्वीपबारे चर्चा भइहाले स्वतन्त्रता संग्राम र त्यसले दक्षिण एसियामा पारेको सकारात्मक प्रभावको मात्र मूल्यांकन हुन्छ । स्वतन्त्रता संग्रामका नाममा निम्तिएको मानव सिर्जित संसारकै सबैभन्दा ठूलो बसाइँसराइँबारे चर्चा हुँदैन । सयाँै वर्षदेखि एउटै धाराको पानी पिएर बाँचेकाबीच मारकाटबाट झन्डै १० लाख (बिबिसीका अनुसार)ले ज्यान गुमाएको इतिहासबारे कुरा उठ्दैन । घरबारविहीन भएर हिँडँका एक करोड २० लाख (बिबिसीका अनुसार) मानिस र लाखाैँ बलात्कृत महिलाबारे कसैले चासो दिँदैन। 

नेपालमा खासै चर्चा नभए पनि छिमेकी भारत र पाकिस्तानमा विभाजन साहित्य इतिहासको अँध्यारो पाटो उजागर गर्ने सशक्त माध्यम बनेको छ । हिन्दू र मुसलमानका लागि छुट्टाछुट्टै मुलुक बनाउने त्रिपक्षीय (बेलायत, कंग्रेस र मुस्लिम लिग) सहमतिपछि जब पन्जाब र बंगालमा विभाजनका रेखा कोरिए, तिनले मानव सभ्यताकै सबैभन्दा ठूलो बसाइँसराइँ निम्त्याए । युद्धबाहेक मानव सिर्जित कारणबाट विश्व इतिहासमै सबैभन्दा धेरैको बलात्कार र हत्या भयो।

विभाजन र त्यसका दुष्परिणामबारे झन्डै दशकसम्म सन्नाटा छायो । लासले भरिएका रेल प्लेटफर्म आइपुगेको दृश्यलाई कुनै कविले कविताको विम्ब बनाउन सकेन । आख्यानकारले प्रतीकका रूपमा प्रयोग गर्ने आँट गरेन । सिर्जनशील मनहरू शिथिल भए, मुलुक अंशबन्डाको मानसिक आघातले, परिवार विभाजनको पीडाले, कहालीलाग्दो हत्या, बलात्कार र आतंकले । 

विभाजन अघिका कविहरू कवि रहेनन् । आख्यानकार आख्यानकार भएनन् । जसले आफ्नै आँखाअगाडि आमा, दिदीबहिनी र प्रेमिकाको बलात्कृत चित्कार सुने, तिनले क्यानभासमा कुची चलाउन सकेनन् । मान्छेहरू जिउँदै जलाइएको दृश्य देखेका लेखकले आतंकको आगोलाई शब्दको मालामा उन्ने हिम्मत गरेनन्।

सिर्जनशील मनहरू मानसिक आघातको भूमरीमा पर्दा विभाजनपछिको दशक साहित्यिक सन्नाटाले भरियो । विभाजनलगत्तै उर्दू, हिन्दी र पन्जाबी भाषामा केही कविता र आख्यान लेखिए पनि अंग्रेजीमा भने खुशवन्त सिंहको ‘ट्रेन टु पाकिस्तान’ले साहित्यिक सन्नाटालाई चि¥यो, सन् १९५६ मा । सिंहको उपन्यासअघि नै उर्दू कवि फैज अहमद फैज र कथाकार सदत हसन मन्टो तथा पन्जाबी लेखिका अमृता प्रीतमले भारतीय स्वतन्त्रता र विभाजनको पीडालाई आफ्ना रचनामार्फत उजागर गर्ने कोसिस गरिरहेका थिए । ‘ट्रेन टु पाकिस्तान’ले भने विभाजन साहित्यको दायरालाई अझ फराकिलो बनाइदियो।

‘ट्रेन टु पाकिस्तान’ले भारतीय पन्जाबको एक काल्पनिक गाउँ मनो माजराको कथा बोल्छ । उपन्यासमा भारत¬–पाकिस्तान विभाजनको राजनीतिक पाटो भन्दा पनि मानवीय त्रासदिलाई केन्द्रमा राखिएको छ । यसलाई अंग्रेजीमा लेखिएको भारतीय विभाजन साहित्यको पहिलो सशक्त साहित्यिक कृति मानिन्छ।

मनो माजरामा मिलेर बसेका शिख र मुसलमान समुदायलाई विभाजनले कसरी एक–अर्काको शत्रु बनाउँछ भन्ने देखाउने उपन्यासको प्रस्तुति सशक्त छ । नङ र मासुझैँ मिलेर बसेका दुई समुदायबीच त्यसबेला विभाजन सुरु हुन्छ, जब पाकिस्तानबाट लखेटिएका शिख गाउँमा आइपुग्छन् । पाकिस्तानबाट आएको रेलमा हिन्दू र शिखका लासैलासको खात हुन्छ । त्यसले मनो माजराका शिखलाई समेत मुसलमानविरुद्ध खनिन प्रेरित गर्छ। 

गाउँमा शिखले मुसलमानलाई सिध्याउने रणनीति बन्दै गर्दा मुसलमान भने शरणार्थी शिविरमा हुन्छन् । उनीहरूलाई त्यसै साँझ रेलबाट पाकिस्तान पठाउने तयारी हुन्छ । शिख युवा भने रेललाई पाकिस्तानतर्फ जाने पुलमा आक्रणम गरी सबै मुसलमानलाई मार्ने योजना बुन्छन् । मुसलमान युवती नुरनको प्रेममा परेको शिख डाकु जगत सिंह ‘मेजिस्ट्रेट’को आदेशले त्यसै दिन जेलबाट छुट्छ । प्रेमिका बचाउन जगत सिंहले मुसलमानलाई लिएर जाँदै गरेको रेललाई पाकिस्तान जाने बाटो खुला गरिदिएपछि सकिने उपन्यासको सूत्रधार भने ‘डिस्ट्रिक म्याजिस्ट्रेट’ हुकुम चन्द हुन्छ । जसले विभाजनका बेला आफ्नी छोरी गुमाएको हुन्छ । पुत्री वियोगले सिर्जना गरेको पारिवारिक पीडा मेटाउन जँड्याहा बनेको हुकुमकहाँ एउटी किशोरी यौन व्यवसायी ल्याइएकी हुन्छे । यौनप्यास मेटाउन राखिएकी भए पनि हुकुमलाई किशोरी आफ्नै छोरीजस्ती लाग्छ । किशोरीसँगको उठबसमा ऊ बारम्बार छोरीलाई सम्झन्छ । सबै मुसलमानले गाउँ छाड्ने भएपछि ‘डिस्ट्रिक म्याजिस्ट्रेट’की रखैल बन्नुभन्दा पाकिस्तान जानु तिम्रा लागि उचित हुन्छ भन्दै किशोरीलाई पाकिस्तान पठाउँछ ।  

गोर्खा सैनिकलाई सामानजस्तै भागबन्डा गरिएको इतिहास नेपालीका लागि साहित्य सिर्जनाको चाखलाग्दो विषय हुनसक्छ, भारतीय र पाकिस्तानी विभाजित परिवार त्यहाँका लेखकका लागि गहकिलो खुराक बनेझैँ ।

विभाजनको मानवीय त्रासदिलाई महत्त्व दिएको उपन्यासले भारतीय र पाकिस्तानी स्वतन्त्रताको अँध्यारो पाटोलाई देखाएकैले ६ दशकपछि पनि यसको उचाई उत्तिकै छ । ट्रेन टु पाकिस्तानमाथि सन् १९९८ मा पामेला रुक्सको निर्देशनमा फिल्म समेत बनेको छ । 

खुशवन्त सिंहपछि विभाजनलाई मुख्य विषय बनाएर धेरैले उपन्यास लेखे । त्यसैमध्ये पर्छ, सलमान रुस्दीको उपन्यास मिडनाइटस् चिल्ड्रेन (१९८१) ।

बेलायती उपनिवेश, भारतीय स्वतन्त्रता र विभाजनदेखि इन्दिरा गान्धीले लगाएको संकटकाललाई जादुमय यथार्थवाद (म्याजिकल रियालिजम) मार्फत अभिव्यक्त गरिएको यो उपन्यास दक्षिण एसियामा मात्र होइन, विश्वभर नै धेरै पढिएकोमध्ये पर्छ । प्रकाशित भएकै वर्षको बुकर पुरस्कार विजेता ‘मिडनाइट्स चिल्ड्रेन’ले सन् १९९३ र २००८ मा ‘बुकर अफ बुकर्स’ समेत जित्यो। 

पेन्गुइन बुक्सले २०आैँ शताब्दीमा प्रकाशित उत्कृष्ट पुस्तक सूचीभित्र राखेको यसलाई पाठक सर्वेक्षणका आधारमा सन् २००३ मा बिबिसीले सबैभन्दा धेरै पढिएको पुस्तक घोषणा गरेको थियो । रुस्दीको विश्व चर्चित उपन्यासको कथामा पाँच वर्षअघि दीपा मेहेताद्वारा निर्देशित फिल्म समेत बनिसकेको छ। 

भारतीय र पाकिस्तानी स्वतन्त्रताको अँध्यारो पाटो उजागर गर्ने अर्को सशक्त सिर्जना हो– सदत हसन मन्टोको कथा ‘टोबा टेक सिंह’ । सन् १९५५ मा प्रकाशित कथामा प्रयुक्त व्यंग्यात्मक शैलीले आजका दिनसम्म पनि गहकिलो प्रभाव पारिरहेको छ । विभाजनलगत्तै भारत–पाकिस्तान हिन्दू र शिख तथा मुसलमान पागललाई साटासाट गर्ने बिन्दुमा पुग्छन् । भारतमा रहेका मुसलमान पागललाई पाकिस्तान र पाकिस्तानका हिन्दू एवं शिख पागललाई भारत पठाउने निर्णय हुन्छ । पागलको आदान–प्रदान सुरु हुन्छ । पाकिस्तानी पागलखानामा रहेको कथाको नायक बिसन सिंह भने भारततर्फ लैजाँदै गर्दा दुई मुलुककै सिमानामा उभिन्छ । जसलाई दुवैतर्फका फौज मिलेर तान्दा पनि न पाकिस्तान लान सक्छन्, न त भारत पठाउन। 

पागलखानाको ‘सेटिङ’मा रचिएको कथाको व्यंग्यबाणले जो–कोहीलाई प्रभावित पार्न सक्छ । स्वतन्त्रताका नाममा धर्मलाई आधार मानेर मुलुक टुक्र्याउने कति पागल थिए भन्ने सन्देश दिने कथालाई भारतको राष्ट्रिय प्रसारण दूरदर्शनले टेलिचलचित्रमा कैद गरिसकेको छ । केतन मेहेताको निर्देशनमा यसै वर्ष ‘टोबा टेक सिंह’को कथामा फिल्म समेत बनिसकेको छ। 

विभाजनबारे लेखिएका उपन्यासमा बाप्सी सिध्वाको ‘आइस क्यान्डी म्यान’ अर्को सशक्त पुस्तक हो । सन् १९८८ मा बेलायतबाट प्रकाशित यो उपन्यास सन् १९९१ मा अमेरिका र १९९२ मा भारतबाट ‘क्र्याकिङ इन्डिया’का नाममा प्रकाशित भयो । विभाजनबारे पाकिस्तानी लेखिकाद्वारा लेखिएको पहिलो उपन्यास ‘आइस क्यान्डी म्यान’ले एउटी पारसी बालिकाका माध्यमबाट ‘पार्टेसन’को पीडालाई व्यक्त गर्छ । सिध्वा आफैँ पारसी समुदायकी हुन् । उनी नौ वर्षकी हुँदा भारत विभाजन भएको थियो । पुस्तककी पात्र लेनीमार्फत सिध्वाले कतिपय आफैँले भोकेका कुरालाई व्यक्त गरेको मानिन्छ । उनको उपन्यासकै कथामा सन् १९९८ मा दीपा मेहेताले ‘अर्थ १९४७’ फिल्म बनाएकी छन्। 

विभाजनमाथि लेखिएको अर्को एकदमै सशक्त उपन्यास हो, अमिताभ घोषको द स्याडो लाइन्स । सन् १९८८ मा प्रकाशित यो उपन्यासले भारतीय स्वतन्त्रता आन्दोलन, दोस्रो विश्वयुद्ध, भारतीय विभाजन, भारतमा हुने धार्मिक हिंसालगायतलाई समेटेको छ । उपनिवेश कालमा भारतीय र बेलायती परिवारसँग गाँसिएको सम्बन्धलाई समेत उत्कृष्ट शैलीले प्रस्तुत गरिएको ‘द स्याडो लाइन्स’मा विभाजनका रेखालाई छाया रेखाको रूपमा चित्रण गर्न खोजिएको छ । 
कस्मिरको हजरतबालबाट हराएको हजरतको कपालका विषयमा तत्कालीन पूर्वीपाकिस्तान (हालको बंगलादेश)मा भड्केको धार्मिक दंगामा नायक ट्रिडिबको मृत्यु भई दुखान्त रूपमा सकिने उपन्यासका हरेकजसो अनुच्छेदले विभाजनलाई दार्शनिक रूपमा कटाक्ष गरेका छन् । एसिया र युरोपका विभिन्न सहर घुमेको भान दिने गरी लेखिएको उपन्यासले भारतीय विभाजनलाई अरू धेरै पुस्तकभन्दा फरक ढंगले प्रस्तुत गर्न सफल भएको छ। 

भारतीय विभाजनमाथि सिंह, रुस्दी, मन्टो, सिध्वा र घोषबाहेक सयौँले अंग्रेजी भाषामै कलम चलाएका छन् । अनिता देसाईको क्लिअर लाइट अफ डे (१९८०), मुकुल केसभनको लुकिङ थ्रु ग्लास (१९९८), आतिया हुसैनको सनलाइट अन अ ब्रोकन कोलम (१९६१)लगायत दर्जनौँ पुस्तकले विभाजनको अँध्यारो पक्षलाई उजागर गरेका छन्। 

हिन्दीमा लेखिएका विभाजन साहित्यमा भिसम सहनीको ‘तमस’लाई एउटा सशक्त उपन्यास मानिन्छ । पन्जाबको विभाजनले निम्त्याएको धार्मिक दंगामाथि केन्द्रित ‘तमस’ले एउटा गरिब परिवारको कठिन बसाइँसराइँमार्फत विभाजनको विद्रूप रूपलाई प्रतिविम्बित गर्छ । ‘तमस’माथि सन् १९८८ मा टेलिचलचित्र बनिसकेको छ। 

‘तमस’बाहेक सन् १९५० मै अमृता प्रीतमले पन्जाबीमा लेखेको ‘पिञ्जर’, उर्दू उपन्यासकार इन्तेजार हुसैनको ‘बस्ती’लगायत उपन्यासलाई पनि भारतीय विभाजन वाङ्मयका उत्कृष्ट नमुना मानिन्छ । ‘पिञ्जर’को कथामा आधारित फिल्म समेत बनिसकेको छ । 

भारतीय विभाजनले साहित्य मात्र होइन, बलिउडमा धेरै फिल्म समेत जन्माएको छ । गरम हावा, खामोस पानी, हे राम, गदर : एक प्रेम कहानी, छलियाजस्ता दर्जनौँ फिल्मले भारत–पाक विभाजनका पीडालाई कलात्मक ढंगले प्रस्तुत गरेका छन् । 

उर्दू कवि फैज अहमद फैजलगायतले विभाजन र त्यसपछिको पीडालाई कवितामार्फत व्यक्त गरेका छन् भने कैयौँ कलाकारले आफ्नो कुचीमार्फत विभाजनलाई कलामा उतारेका छन् । 

विभाजन र त्यसले निम्त्याउने मानवीय त्रासदिबारे विश्वभर नै साहित्य लेखिएको छ । बर्लिनको पर्खालदेखि इजराइल–प्यालेस्टाइन विभाजनसम्म, कोरिया टुक्रँदादेखि युगोस्लाभिया विभाजन हुँदासम्मका पीडादायी सम्झनाहरू साहित्यको मालामा उनिएका छन् । तिनलाई कतिपयले कलामा उतारेका छन् । स्मृति चाहे सुखद होस् वा दुःखद त्यसले सिर्जनशील मनहरूलाई त्यत्तिकै छाडेर जान सक्दैन । अनि सिर्जनशील मगजहरू त्यसैलाई कहिले शब्दबाट, कहिले संगीतबाट त कहिले कुचीबाट व्यक्त गर्छन् । 

छिमेकीका नाताले मात्र होइन, कैयौँ दंगाफसादमा पहरा दिने सैनिकका रूपमा समेत नेपालीहरू भारतीय विभाजनमा जोडिएका छन् । जसरी धर्मका नाममा भारतको विभाजन भयो, त्यसैगरी बेलायती फौजमा कार्यरत नेपालीलाई पनि बाँडफाँड गरिएको थियो । एक हिसाबले बेलायती फौजभित्रका नेपाली सेनाको समेत ‘पार्टेसन’ भयो । 

नेपाल, भारत र बेलायतबीच गोर्खा सैनिकसम्बन्धी त्रिपक्षीय सम्झौतापछि तत्कालीन ब्रिटिस इन्डिया सरकार मातहतका १० युनिट गोर्खा फौजमध्ये ६ युनिट भारतीय र चार युनिट बेलायती सेनामा गाभिए । गोर्खा सैनिकलाई सामानजस्तै भागबन्डा गरिएको इतिहास नेपालीका लागि साहित्य सिर्जनाको चाखलाग्दो विषय हुनसक्छ, भारतीय र पाकिस्तानी विभाजित परिवार त्यहाँका लेखकका लागि गहकिलो खुराक बनेझैँ ।

भारतीय विभाजन साहित्य सुखद कथाहरूको टिपोट होइन । प्रेमीलाई पल्लोपट्टि छाडेर आएकी प्रेमिका र प्रेमिकालाई अर्कैपट्टि छाडेर आएको प्रेमीहरूको कथा हो । भूगोलको कुनै ज्ञान नभएको एउटा अपरिचित बेलायतीले कोठाभित्र सिसाकलमले कोरिदिएको रेखामा रगतको नदी बगाउनेको व्यथा हो । स्वतन्त्रताको नाममा गरिने घृणित राजनीतिले निम्त्याएको क्रूर यथार्थको चित्रण हो । यद्यपि विभाजनमाथि लेख्ने धेरैले मानवीय क्रूरताबीच आशाका किरण जगाउँदै आफ्ना रचनाको इतिश्री गर्ने कोसिस गरेका छन् । यथार्थमा भने आशाका किरण अझै टाढै छन् । त्यसैले त गत साता गार्जियनसँग ‘मिड नाइट्स चिल्ड्रेन’ बारे कुरा गर्दै रुस्दीले भनेका छन्, ‘अचेल जब म मेरो उपन्यासका अन्तिम पाताहरू हेर्छु, तिनीहरू बेतुकका आशावादी लाग्छन् ।’
 

प्रकाशित: २८ श्रावण २०७४ ०७:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App