कस्तो एनआरएन!

आइतबार, २९ साउन २०७४, ०९ : ०९ डा.गोविन्द कार्की


गैरआवासीय नेपाली (एनआरएन) संघ  स्थापना भएको करिब १५ वर्ष भएको छ र यस अवधिमा करिब ७५ देशमा यसको संगठन विस्तार भएको छ। कुनै पनि संगठन विकासको हिसाबले १५ वर्ष पक्कै पनि कम हैन। तर के यसले आफ्नो सुरुआती अवस्थामा राखेको लक्ष्य, उद्देश्य हासिल गर्न सफल हुँदैछ त? के साँच्चै नै यो विदेशमा बस्ने नेपालीको प्रतिनिधि संस्था हो त? के यसले उनीहरूको हकहितको संरक्षण गरेको छ त? समीक्षा गर्ने बेला भइसकेको छ।

गैरआवासीय भारतीयको सिको गरेर गठन भएको यो संस्था सुुरुआतका वर्षमा विदेशी नेपाली र नेपालीहरूमा समेत राम्रै आकर्षणको केन्› थियो। किनकि, माओवादी द्वन्द्वकालमा लगानी गर्न कोही पनि इच्छुक नभइरहेका बेलासमेत यसले जलविद्युत् र भौतिक पूर्वाधारमा लगानी गर्ने आकर्षक नारा अघि सारेको थियो। बाहिरी संसार राम्रोसँग नदेखेका नेपाली, राजनीतिक दल र सरकार समेतले यो कुरा पत्याइदिए। संस्थाको हरेक दुई वर्षमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा समेत नेपाल सरकारले खर्च बेहोर्नुपरेको छ र विगत १५ वर्षमा खाडी मुलुकमा गएर श्रम गरेर पठाएको रेमिट्यान्सको ५ प्रतिशत पनि एनआरएनमार्फत संगठित लगानी भएको छैन। बोली र व्यवहारबीचको फरक थाहा पाउन त भर्खरै भूकम्पपछि एनआरएनमार्फत भूकम्प पीडितलाई बनाइदिने भनेको घर हेरे मात्र पनि उदाहरण काफी छ।

'एक पटकको नेपाली, सधैँको नेपाली' भन्ने नारा त विदेशमा बस्ने नेपालीका लागि आकर्षक छँदै थियो। यसको निहितार्थ थियो, दोहोरो नागरिकता। कुनै कारणले नेपाली नागरिकता त्यागेका नेपालीलाई यही मेसोमा विदेशी नागरिकता वा स्थायी बसोवासपत्र नत्यागी फेरि नेपाली नागरिकता लिन पाए दुवै हातमा लड्डु हुने नै भयो। एनआरएन नागरिकताको नयाँ प्रावधान संविधानमा राख्ने उद्देश्यमा सफल पनि भयो। त्यो आफँैमा नेपालको दीर्घकालीन हितमा छ कि छैन वा त्यसले नेपाल र नेपालीलाई के फाइदा हुनेछ, केही वर्षपछि थाहा हुने नै छ।

सुरुआती अवधिका यिनै आकर्षक नारा, तत्कालीन नेतृत्व तुलनात्मक रूपमा राजनीतिक रूपले निरपेक्ष, सार्वजनिक र सामाजिक रूपमा कम विवादित र आर्थिक रूपमा सम्पन्नशाली भएका कारण एनआरएन विवादरहित र लक्ष्यउन्मुख थियो भन्दा फरक नपर्ला। तर समयसँगै यसले आफ्नो लक्ष्यअनुसार काम गरेको छैन भन्न हिच्किचाउनु पर्दैन। ठाउँ र आस्थाअनुसार अमूक राजनीतिक दलको गोटीका रूपमा विकास हुँदै गएको जगजाहेर छ। अहिले आएर त यस्तो अवस्थामा पुगिसक्यो कि यसको औचित्य र आवश्यकता दुवै सकियो भनेर घोषणा गरिदिए पनि गलत हुनेछैन। एनआरएनको परिकल्पना गर्नु आफैँमा साहै्र सह्रानीय, महत्वपूर्ण र आवश्यक कदम थियो। यसको उद्देश्य अमूक व्यक्तिहरूको सामाजिक छवि उचो बनाउन मात्र नभई नेपाल र नेपालीको भलोका लागि नै थियो भन्नेमा पनि शंका नगरौँ। कुनै पनि संगठनमा राजनीतिक विचारको कुनै महत्व नै छैन र विचारले संगठनलाई यो वा त्यो प्रकारले असर गरेकै हुन्न भन्नेमा पनि दुई मत नहोला तर के प्रत्येक संगठन राजनीतिज्ञहरूको खेलमैदान नै हुनुपर्छ र? के राजनीतिक संगठनको अभाव भएर नै एनआरएन जन्मिन परेको हो? के प्रजातान्त्रिक अभ्यासको नाममा कुनै अमूक राजनीतिक दलको भगिनी संस्थाका रूपमा नै चुनावी मैदानमा उत्रनुपर्ने हो र? के कुनै अमूक राजनीतिक दलका व्यक्ति किनारमा बसेर समर्थन र विरोधमा ताली वा गाली बर्साउनैपर्ने हो र? एनआरएनका अभियन्ताले ठण्डा दिमागले सोच्ने बेला आएको छ।

केही समययता एनआरएन स्थापना भएका हरेक देशका घटना हेरौँ। विवाद नभएको ठाउँ सायदै होला। अमेरिकालगायत अलि विकसित मुलुकको त झन् कुरा गरी साध्य नै छैन। यसको एजेन्डा हो, जसरी पनि नेतृत्वमा पुग्नु। यसबाहेक अर्को कुनै एजेन्डा नै छैन। कसैले केही एजेन्डा ल्याइहाले पनि यति हास्यास्पद भयो कि यो एजेन्डा एनआरएनकै हो भन्न पनि लाजै लाग्ने। जस्तो कि, एनआरएन मन्त्रालयको माग। हुन त यो माग समयसँगै आफैँ बिलाएर गयो।

एनआरएन अमेरिकाको मात्रै कुरा गर्ने हो भने यसमा केही सीमित मान्छे मात्र आकर्षित छन्। तीमध्ये आफ्नो युवा उमेर नेपालमा नै बिताएका, नेपालमा राजनीतिको कुनै न कुनै नशा लागेका तर नेपालमा आफ्नो आर्थिक उन्नतिको खासै भविष्य नदेखी आफू र आफ्नो सन्ततिको सुरक्षित भविष्यका लागि 'भतुवा' लागेका र अहिले आएर विदेशिएको केही समयपछि पारिवारिक दायित्व नभएका पहिलोपुस्ते अधबैँसे वा प्रौढहरू पर्छन्। यद्यपि व्यावसायिक वा पेसागत रूपमा आफ्नो सफल छवि बनाएर सामाजिक छवि बढाउन लागेका एकाध अधबैँसे वा प्रौढ पनि संलग्न नभएका भने हैनन्। राजनीतिभन्दा नितान्त अलग तर पेसागत र व्यावसायिक रूपमा सफल र असल छवि बनाएका पेसाकर्मी, अनुसन्धानकर्ता, प्रोफेसर, युवा वर्ग र दोस्रो पुस्ताका नेपाली–अमेरिकीको संलग्नता एनआरएनमा प्रायः शून्य छ भन्दा पनि हुन्छ। अमेरिकामा बसोबास गर्ने नेपाली मूलका नेपाली वा नेपालमा जन्मेका करिब एक लाख पचास हजारभन्दा बढी नेपालीमध्ये करिब पन्„ हजार मात्रै सदस्य भएकोबाट पनि बु‰न सकिन्छ यो संस्थाप्रतिको अनाकर्षण। यसका अरू धेरै कारण हुन सक्छन् तर एउटा मूल र प्रथम कारण भनेको यो संस्थालाई राजनीतिक भगिनी संस्थाका रूपमा विकास गर्दै लानु र प्रजातान्त्रिक अभ्यासको नाममा प्रत्यक्ष राजनीतिक सहभागिता हुनु हो। अझ प्रस्ट भनौँ, केही राजनीतिक प्राणीहरूले आफ्नो स्वार्थ सिद्ध गर्न एनआरएनलाई माध्यमका रूपमा प्रयोग गर्नु। नेतृत्वकर्ताहरूको बोली र व्यवहारमा एकरूपता नहुनु, मूल एजेन्डाबाट विमुख हुनु, पेसागत र सामाजिक रूपमा उचो छवि भएकालाई संगठनमा आकर्षित गर्न नसक्नु र भएकालाई समेत अपमान गरी पार्टी भजनमण्डली निर्माण गरी त्यसैबाट परिचालित हुनु र पारदर्शिता र जवाफदेहिता पटक्कै नहुनु पनि समस्या हुन्।

संस्थालाई नेतृत्व दिने क्षमता के हुनुपर्ने? यसको विकास कसरी गर्ने? कसरी नयाँ विचारलाई आकर्षित गर्ने? नवीनतम प्रविधिसँग अद्यावधिक युवापुस्ता र अनुसन्धानकर्ताहरूलाई कसरी आकर्षित गर्ने? दोस्रो पुस्ताका युवाहरूलाई आकर्षित गरी नेपालमा स्वयंसेवीका रूपमा कसरी पुर्‍याउने? यस्ता कुरामा ध्यान नै पुगेको छैन।  







यसमा तपाईको मत

अन्य समाचार

संगीतकार गुरुङलाई गीतकार संघको सहयोग

संगीतकार गुरुङलाई गीतकार संघको सहयोग

छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आँखैमा झलझली, दोष कसैलाई दिन चाहन्न जस्ता कालजयी गीतका गीतकार तथा संगीतकार शुक...

सास्ती खेप्दै रुबीबाट फर्कियो ‘नीरफूल’

सास्ती खेप्दै रुबीबाट फर्कियो ‘नीरफूल’

धादिङको रुबी भ्यालीमा दुई साता लामो छायांकन पछि फिल्म ‘नीरफूल’ युनिट काठमाडौं फर्केको छ। सात दिनको समय तालिका मिलाएर रुबी...

वस्तीको नेपाली लेखाउने काइदा

वस्तीको नेपाली लेखाउने काइदा

भाषामा भए गरेका गाईजात्राले आहत भएका भाषाविद् शरच्चन्द्र वस्तीले भाषाशुद्धी र एकरूपताका लागि ‘नेपाली कसरी लेख्ने ?’ ...

निर्माता विनस्टन ओस्कार एकेडेमीबाट निष्काशित

निर्माता विनस्टन ओस्कार एकेडेमीबाट निष्काशित

हलिउड अभिनेत्री एन्जेलिना जोली, ग्वीनेथ पाल्त्रोव लगायतका आधा दर्जन हलिउड कलाकारहरू माथि यौन शोषणको आरोप लागेका फिल्म निर्माता हार्वे विनस्टन...