८ वैशाख २०८१ शनिबार
विचार

उद्धार र राहतमा ध्यान देऊ

अविरल वर्षाका कारण तराई–मधेसमा बाढी र पहाडमा पहिरोका कारण ३० जनाभन्दा बढीको मृत्यु हुनुका साथै कैयौं बेपत्ता भएको र हजारौं विस्थापित भएको अहिलेको अवस्थामा उद्धार र राहतकार्य युद्धस्तरमा अघि बढाउन आवश्यक छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार साँझ गृहमन्त्री, रक्षामन्त्रीका साथै सुरक्षा निकायका प्रमुखहरूलाई बालुवाटार बोलाएर तदारुकताका साथ उद्धारकार्य अघि बढाउन निर्देशन दिए पनि प्रभावित क्षेत्रमा उद्धार र राहतका कार्य प्रभावकारी देखिएको छैन। त्यसो त तराईमधेसका अधिकांश भूभाग डुबानमा परेको यस अवस्थामा सुरक्षा निकायका प्रमुखहरूसहित गृह तथा रक्षामन्त्री आफैं स्थलगत निरीक्षणमा जानुपर्ने हो तर राजनीतिक नेतृत्वले त्यो तहको सक्रियता देखाएको पाइएन।

सरकार बाढीपीडितको उद्धार, राहत र स्थानान्तरणमा कुनै कसर बाँकी नराखी अघि बढ्नुपर्छ। विपत्तिको यस घडीमा राहत तथा उद्धारका लागि राजनीतिक दलहरूदेखि नागरिक समाजसम्म सबै एकजुट भएर लाग्न आवश्यक छ। 

चाहे राजनीतिक नेतृत्वबाट होस् वा सुरक्षा निकाय प्रमुखहरूको तहमा नै किन नहोस्, त्यो किसिमको तदारुकता नदेखाउँदा उद्धार तथा राहत कार्य प्रभावकारी हुन नसकेको हो। नेतृत्व तहले काठमाडौंमा बसेर निर्देशन दिने र आफंै प्रभावित क्षेत्रमा खटिँदा हुने उद्धार तथा राहत कार्यक्रममा ठूलो अन्तर आउँछ। यो कुरालाई गृहमन्त्री, रक्षामन्त्रीदेखि सुरक्षा निकायका प्रमुखहरूले मनन गर्नुपर्ने हो। फेरि राजनीतिक नेतृत्वको परीक्षण हुने पनि यस्तै संकटको बेला हो भने सर्वसाधारणले राज्यसँग आस गर्ने पनि यस्तै विपत्तिमा हो। बाढीपहिरोको विपत्तिमा परेकाहरूको उद्धार तथा राहत प्रक्रिया प्रभावकारी हिसाबले अघि बढाउन त आवश्यक छ नै, साथै बाढीका कारण थप डुबानमा पर्न सक्ने क्षेत्रको पहिचान गरी उच्च सतर्कता अपनाउँदै सम्भावित क्षति हुनबाट जोगाउन पनि उत्तिकै आवश्यक छ। सरकार बाढीपीडितको उद्धार, राहत र स्थानान्तरणमा कुनै कसर बाँकी नराखी अघि बढ्नुपर्छ। विपत्तिको यस घडीमा राहत तथा उद्धारका लागि राजनीतिक दलहरुदेखि नागरिक समाजसम्म सबै एकजुट भएर लाग्न आवश्यक छ। 

शुक्रबार साँझदेखि परिरहेको भारी वर्षाले सबैभन्दा बढी मानवीय क्षति इटहरीमा भएको छ जहाँ डुबेर सातजनाको मृत्यु भएको छ। मोरङमा अविरल वर्षापछिको डुबान र बाढीले ४ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता छन्। गछिया खोला र बूढीखोलामा आएको बाढीले बलिया खापमा रहेको वृद्धाश्रमका तीनजना वृद्धालाई बगाएर बेपत्ता बनाएको छ। झापामा बाढीका कारण २ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता र ११ सय ११ परिवार विस्थापित छन्। वर्षाले तराई–मधेसका अधिकांश जिल्लाका भूभाग डुबानमा परेको छ। कोसी राजमार्गको धरान–धनकुटा सडक खण्ड पहिरोले अवरुद्ध छ। पहिरोले त्यहाँ सडक भत्काइदिएको छ।  विराटनगर विमानस्थल ३ देखि ४ फिट पानी जमेपछि बन्द गरिएको छ। गछिया खोलाले पुलको पश्चिम भाग कटान गरेकाले पूर्व–पश्चिम राजमार्गमा सवारीसाधन आवतजावतमा रोक लगाइएको छ।  भारी वर्षासँगै झरेको पहिरोले सिन्धुली, तेह्रथुम र पाँचथरमा ६ जनाको मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ मा पहिरोले एकै परिवारको चारजनाको मृत्यु भएको छ। यी त प्रतिनिधि घटना मात्रै हुन्। पूर्वी नेपालका अतिरिक्त मध्यदेखि पश्चिम तराईसम्म जताततै बाढीको वितण्डा देखिएको छ। अविरल वर्षाका कारण देशैभरको जनजीवन अस्तव्यस्त छ।

वर्षाका बेला सीमा क्षेत्रमा भारतीय पक्षले बनाएका संरचनाका कारण पनि क्षतिको परिणाम बढी हुने गरेको छ। लगातार पानी पर्दा सीमा क्षेत्रमा भारतले बनाएका तटबन्धले नेपाली भूभागमा बढी क्षति हुने गरेको देखिन्छ। यसका साथै कोसी नदीमा बाढी आउनेबित्तिकै कोसी ब्यारेजको थप ढोका खोल्ने हो भने त्यतिसारो क्षति हुँदैन। तर, यसमा भारतीय पक्षबाट हुने ढिलाइले क्षति हुने गरेको छ। ब्यारेजमा ५६ वटा ढोका निर्माण गरिएकोमा शनिबार दिउँसोसम्म ३२ वटा मात्रै खोलिएका थिए। फेरि कोसी ब्यारेज सञ्चालन नेपाली र भारतीय सेनाले गर्ने भनिए पनि अहिलेसम्म सबै काम भारतीय सेनाले गर्दै आएको छ। यस अवस्थामा सरकारले तत्कालका लागि उद्धार र राहत कार्यमा सक्रियता देखाउन जरुरी भए पनि आगामी दिनमा सम्भावित बाढीको चपेटाबाट जोगाउन सीमा क्षेत्रमा बनाइएका संरचनाहरूका विषयमा कूटनीतिक तहमा भारतीय पक्षसँग कुराकानी गर्दै समस्या समाधान खोज्न जरुरी छ। अन्यथा हरेक वर्ष यस्तै किसिमको प्राकृतिक विपत्ति दोहोरिरहने छ। सरकारको ध्यान यसतर्फ पनि जाओस्।

प्रकाशित: २९ श्रावण २०७४ ०३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App