coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मकवानपुरमा बाढी र पहिरोबाट ६ जनाको मृत्यु, ८ जना बेपत्ता

अशोकसुजन श्रेष्ठ

हेटौंडा- बाढी पहिरोबाट मकवानपुरमा मृत्यु हुनेको संख्या ६ पुगेको छ भने ८ जना बेपत्ता भएका छन्।

मकवानपुरको पूर्वी बकैया गाउँपालिका–१ की ३२ बर्षिया सुनमाया मोक्तान धियाँल खोलाको बाढी तर्दै गर्दा शनिवार बेपत्ता भएकी थिईन्। उनको शव आईतबार बिहान खाला किनारमा भेटिएको बकैया १ का वडा अध्यक्ष बुद्धिमान वाईबाले बताए। बाख्रा लिएर सँगै बाढी तर्दै गरेका मोक्तानका १३ वर्षीय छोरा विशाललाई भने उद्धार गरिएको छ।

बकैया १ कै चन्डौबजारका मानबहादुर ब्लोनको चाँदे खोलाले बगाएर मृत्यु भएको छ। आईतबार बिहान बाढीले बगाएका उनको शव रौतहट प्रहरीको सहयोगमा फेला परेको स्थानीय प्रतीक ब्लोनले जानकारी दिए।

बाढी आएको समयमा राप्ती खोलामा काठ टिप्न गएका हेटौडा १३ पदमपोखरीका २५ बर्षीय ज्ञानबहादुर हिम्डुङको ज्यान गएको छ। गोल्फिङटारबाट राप्तीले बगाएपछि उनको शव नवलपुर झोलुङ्गेपुल मूनी भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

पहिरोले घर पुर्दा भिमफेदी गाउँपालिका ८ ईपामा ५० बर्षिया मिठु दानीको शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक बामदेव गौतमले बताए। उक्त घरमा पुरिएकी १९ वर्षीय सरु खड्कालाई भने स्थानीयले सकु्शल उद्वार गरेका थिए।

बकैया–३ जलजलेमा एक महिला र एक पुरुषलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी विकासराज खनालले बताए। उनका अनुसार बकैंया–६ मा ४२ बर्षिय वीरबहादुर घलानलाई पनि खोलाले बगाएको छ। उनका अनुसार बाढी, पहिरोबाट बेपत्ता मानिसको खोज, उद्धारलाई तिब्रता दिईएको छ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण शर्मा दुवाडीले सम्भव भएसम्म सबै स्रोत साधन परिचालन गरि बेपत्ताको खोजि, उद्धार र राहत बितरणको काम अघि बढाईएको बताए।

एकै परिवारको ५ जना बेपत्ता, २ जनाको शव फेला

मकवानपुरको बकैया गाउँपालिका–१०(साविक मन्थली–२) अम्बासबेंसीमा पहिरोले घर बगाउँदा एकै परिवारका ५ जना बेपत्ता भएका छन् भने २ जनाको शव फेला परेको छ। पहिरोले ५० बर्षिय मंगलसी न्यासुरको घर नै पहिरोले बगाएपछि सबै बेपत्ता भएका थिए।

बेपत्ता भएकाहरुमा मंगलसिंकी श्रीमती ४८ बर्षिय सुनमायाँ, छोरीहरु २४ बर्षिया मायाँ, १२ बर्षिया हिरा, १० बर्षिया सानुमायाँ, ८ बर्षिया पाल्मो र छोरा २ बर्षिय बिकास न्यासुर रहेका छन् ।

बेपत्ता भएका २ शवमध्ये सानुमायाँ र पाल्मोको भएको अनुमान गरिएको छ भने एक जनाको खुट्टा मात्र भेटिएको स्थानीय बुध लामाले बताए । उनका अनुसार घर माथिबाट आएको पहिरोले सबैलाई बगाएको हो।

ईलाका प्रहरी कार्यालय ठिंगनका प्रहरी उपरीक्षक खुशराम कार्कीको नेतृत्वमा घटनास्थल पुगेको टोलीले खोज, उद्धारमा कठिनाई भएको बताए।

बाढीले ४ घर बगायो, सय बढी ढुबान

मकवानपुरको पश्चिमी व्यापारिक क्षेत्र मनहरी गाउँपालिका–६ को प्रतापपुरमा ४ घर राप्ती खोलाको बाढीले बगाएको छ।

स्थानीयवासीका अनुसार एक सयभन्दा बढी घर राप्ती खोलाको बाढीबाट डुबानमा परेका छन् । त्यसैगरी, मनहरी गाउँपालिका–५ दमारमा पनि चौंराहा खहरेमा आएको बाढीले खेतबारी बगाएको तथा घरहरुमा बाढी पसेको बताईएको छ । मानवीय क्षति नभए पनि बस्तीको अधिकांश क्षेत्र जलमग्न रहेको स्थानीय गोविन्द रिजालले बताए ।

प्रकाशित: २९ श्रावण २०७४ १४:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App