coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

विपत् रोक्ने तयारी

बाढीको पानीले घेरिएका तराईका सर्वसाधारणको अवस्था यतिबेला कवि एसटी कलरिजको पंक्तिजस्तो हुन पुगेको छ– 
‘पानी पानी जताततै पानी, तर छैन पिउनलाई एक थोपा पानी ।’ 

पछिल्ला केही दिनमा ‘क्लाउड ब्रस्ट’ नामक मौसमी प्रभावका कारण अत्यधिक वर्षा भई अत्यन्तै ठूलो जनधनको क्षति हुन पुगेको छ । तराई–मधेसमा बाढी र पहाडमा पहिरो जाँदा दुई दिनमै कम्तीमा ७० जनाको मृत्यु भइसकेको छ । घाइते र विस्थापितको संख्या ज्यादै ठूलो छ । वर्षात्को पानीका कारण सर्वसाधारण त्राहीमामको स्थितिमा छन् । अग्लो ठाउँमा पुग्न र रूख चढ्न सक्नेले मात्र ज्यान जोगाउन सकेका छन् । सबैभन्दा बढ्ता यसले सर्वसाधारणलाई बास, खाना र सम्पत्ति खोसेको छ । भावनात्मक क्षतिको परिपूरण त सम्भव छैन । बाढी पसिसकेका जमिनमा धेरै वर्षसम्म खेती गर्न गाह्रो पर्नेछ । धेरैका मूल्यवान् वस्तु, कागजपत्र आदि पनि बाढीमा परेका छन् । यसले तिनलाई भविष्यमा प्रशासनिक झैझमेलामा पार्ने निश्चित छ । बाढी तथा पहिरोपीडितलाई प्राथमिकतामा राखेर जुन हिसाबले सहयोग र सेवा दिनुपर्ने हो, त्यस्तो गरेको देखिएको छैन। 

प्रत्येक वर्ष विपत् आइरहे पनि यसबाट सर्वसाधारणलाई जोगाउने तयारी सरकारबाट भएको देखिँदैन । आखिर बाढीबाट हामी आक्रान्त हुन थालेको अहिले मात्र होइन । बर्सेनि यही अवस्था हुँदा पनि त्यसका निम्ति भरपर्दो तयारी नदेखिनु दुःखलाग्दो अवस्था हो ।

पछिल्ला केही वर्षयता पानी पर्दा बाढीपहिरो र नपर्दा खडेरी तथा अन्य विपत्ले एकपछि अर्को गर्दै हाम्रो मुलुकका सर्वसाधारणलाई आक्रान्त तुल्याउँदै आएको छ । त्यति मात्र होइन, हाम्रो विकास निर्माणको अभ्याससमेत विपत्तिलाई ध्यानमा राखेर हुन सकेको छैन । हाम्रा पहाडहरू कमला छन्, तिनलाई कसरी भूक्षयबाट जोगाउने भन्ने काम गरिएको छैन बरु जथाभाबी डोजर लगाएर भत्काउने काम मात्रै भएको छ । तराईमा बाढी आइरहन्छ भने तिनलाई जोगाउन घरको संरचनादेखि अन्य आवश्यक विकास पूर्वाधार पनि तदनुकूल हुनुपर्ने थियो । प्रत्येक वर्ष विपत् आइरहे पनि यसबाट सर्वसाधारणलाई जोगाउने तयारी सरकारबाट भएको देखिँदैन । यसपटक बाढीका बारेमा चेतावनीको सूचना मोबाइल र इन्टरनेटलगायतका माध्यमबाट दिने काम प्रशंसनीय भए पनि यस्तो अवस्थाबाट जोगाउन राष्ट्रिय स्तरमा जुन तयारी हुनुपथ्र्याे, त्यस्तो तयारी पटक्कै देखिएन । आखिर बाढीबाट हामी आक्रान्त हुन थालेको अहिले मात्र होइन । बर्सेनि यही अवस्था हुँदा पनि त्यसका निम्ति भरपर्दो तयारी नदेखिनु दुःखलाग्दो अवस्था हो । सरकार र प्रमुख प्रतिपक्ष मात्र होइन, समाजका सबै निकायको तत्परता बाढी जानासाथ उद्धार र राहतका निम्ति खटिन जरुरी छ जुन एक हदसम्म भए पनि युद्धस्तरमा उद्धार र राहतको काम हुनैपर्छ/गर्नैपर्छ । त्यसो त मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेर निर्णय लिनेदेखि प्रधानमन्त्री शेरबहादुर देउवाले यस विषयलाई लिएर सम्बोधन नै पनि गरेका छन् । तर, मुख्य कुरा यो सम्बोधन र निर्णय कार्यान्वयनमा ध्यान जान आवश्यक छ  । त्यति हुँदाहुँदै पनि घटना भइसकेपछिको तत्परतासँगै त्यसअघि नै तयार हुने राष्ट्रिय व्यवस्था अहिलेको प्रमुख आवश्यकता हो। 

प्रमुख विपक्षी एमालेले पनि तराईमा बाढीबाट बर्सेनि हुने जनधनको क्षति रोक्न संसद्मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ । निःसन्देह यो प्रस्ताव महत्त्वपूर्ण छ । तर, यस्तो प्रस्ताव मनसुन आउनुअघि नै प्रस्तुत गर्नुपर्ने हो । र, त्यसो गरेको भए त्यसको अझै महत्त्ववपूर्ण अर्थ रहन्थ्यो । वास्तवमा संसद्भित्र जरुरी सार्वजनिक महत्त्ववका प्रस्ताव प्रस्तुत गर्ने, सरकारको ध्यानाकर्षण गराउने, प्रश्न सोध्नेजस्ता अभ्यास पछिल्लो संसदीय कालखण्डमा हराउँदै गएका छन् जुन चिन्ताको विषय हो । तर, यो अभ्यासको अहिले ढिलै भए पनि थालनी हुनुलाई सकारात्मक रूपमा लिन सकिन्छ । त्यति हुँदाहुँदै पनि बाढीपहिरोबाट क्षति कम गर्ने उपायको खोजीमा सरोकारवाला निकायले आफूलाई लगाउन सकेको देखिएको छैन । त्यति मात्र होइन यस्ता विपत्मा पर्नेहरूले तत्कालका निम्ति केही राहत पाए पनि कालान्तरमा तिनका समस्यामा ध्यान पुग्दैन । यसअघि पहिल्यै बाढीमा पर्नेहरूले अहिलेसम्म राहत पाएका छैनन् । सिन्धुपाल्चोक जुरेको पहिरोमा पर्नेहरूले अहिलेसम्म केही नपाएको खबरसमेत प्रकाशित भइरहेको छ । यसले पनि हाम्रो राज्य कुन तहसम्मको संवेदनशील छ भन्ने देखाउँछ । हाम्रा भन्दा धेरै ठूलो विपत्ति आउने मुलुक पनि छन् संसारमा । अमेरिकालाई जहिल्यै आँधीहुरीले आक्रान्त तुल्याउँछ । जापानमा भुइँचालो गइरहन्छ । तर, तिनका संस्थाहरूले यस्ता विपत्तिका निम्ति तयारीलाई चुस्त राखेका छन् । समयमा यससम्बन्धी भविष्यवाणी गरेर सर्वसाधारणलाई सुरक्षित ठाउँमा स्थानान्तरण मात्र गर्दैनन्, तदनुकूलकै सहयोगसमेत गर्छन् । हामीकहाँ भने सम्पूर्ण तयारी र काम तदर्थवादी छ । हाम्रो मुलुक पनि ‘टु मच वाटर, टु लिटल वाटर’ का चुनौतीमा छ । यसरी दोहोरिइरहने अहिलेको विपत्बाट जोगाउन दीर्घकालीन तयारीको आवश्यकता झनै खड्किएको छ ।

 

प्रकाशित: ३० श्रावण २०७४ ०३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App