८ वैशाख २०८१ शनिबार
अर्थ

बाढी पीडितलाई निजी क्षेत्रबाट सहयोग

काठमाडौं – निजी क्षेत्रका विभिन्न संघसंस्थाले केही दिनदेखि अविरल परेको वर्षाका कारण मुलुकभर भएको ठूलो जनधनको क्षतिमा राहत प्रदान गर्न सहयोगको घोषणा गरेका छन् । 

बाढी र पहिरोका कारण केही दिनयता विभिन्न ठाउँमा गरी दर्जनौंको मृत्यु र हजारौं परिवार घरबारबिहीन हुन पुगेका छन् । यस्तो विषम परिस्थितिमा सहयोगको घोषणा गर्दै अरूलाई पनि सहयोग गर्न उनीहरूले आग्रहसमेत गरेका छन् । 

उद्योगी–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आइतबार आफ्ना सदस्य तथा अन्य संघसंस्थाको समेत सहयोगमा नगद तथा जिन्सी गरी तत्काल करिब १ करोड रुपैयाँबराबर सहयोगको घोषणा गरेको छ। 

उक्त सहयोगमा महासंघले १० लाख रुपैयाँ, नेपाल औषधी उत्पादक संघबाट ५० लाख रुपैयाँबराबरको औषधी, नेपाली युवा उद्यामी मञ्चबाट १५ लाखबराबरको नगद तथा जिन्सी, शंकर ग्रुपबाट ५ लाखबराबरको नगद तथा जिन्सी, बागमती सफाई महाअभियानबाट १० लाख तथा अन्य संघसंस्थाबाट १० लाख सहयोग घोषणा गरिएको हो । 

महासंघले सामाजिक सेवा फोरमका सभापति जयप्रसाद शिवाकोटीको संयोजकत्वमा १७ सदस्यीय बाढी–पहिरो व्यवस्थापन कार्यदल २०७४ समेत गठन गरेको छ । महासंघले बैंक अफ काठमाडौंमा एफएनसिसिआई रिलिफ खाता (खाता नं. ०१२५०००००६३५) सञ्चालनमा ल्याएको छ । महासंघले सबै सदस्य वाणिज्य संघ, वस्तुगत संघ, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ, एसोसिएट सदस्य, उद्यमी–व्यवसायी, गैरआवासीय नेपाली संघलगायतलाई सहयोगको अपिल गरेको छ । 

‘संस्थागत सामाजिक उत्तरदायित्वबाट निजी क्षेत्र सधैं अभिप्रेरित रहेको तथा देश र देशवासीमा प्राकृतिक विपत्तिका बेला खुला हृदयले सहयोग गर्दै आएका छौं,’ महासंघले आइतबार जारी गरेको विज्ञप्तिमा छ, ‘हामी आफ्ना सबै सदस्य संघसंस्थाको सहयोग र सहकार्यमा अग्रस्थानमा रहेर विपत्तिमा परेका जनताको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।’

त्यसैगरी गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आपतकालीन राहत कोष स्थापना गरेको छ । कोषमा अध्यक्ष शेष घले र जमुना घलेले १ करोड रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएका छन्। 

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको आइतबार बसेको आकस्मिक बैठकले आपतकालीन राहत प्रदानका लागि कोष स्थापना गर्ने र तत्कालै राहत वितरणमा खटिने निर्णय गरेको हो।

‘यो दुःखको घडीमा हामी देशबासीको साथमा छौं,’ अध्यक्ष घलेले भने, ‘बैठकबाट हामीले १ करोड बढी रकम संकलन गरिसकेका छौं, आवश्यक राहत सामग्री खरिद गरी तुरुन्तै वितरणमा खटिने छौं।’

संघ अध्यक्ष घले र उनकी श्रीमती जमुना गुरुङको एमआइटी फाउन्डेसनले बाढीपीडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो । एनआरएनका संरक्षक जीवा लामिछाने, उपाध्यक्षहरू भवन भट्ट र कुमार पन्तले एक–एक लाख रुपैयाँ सहयोग गरेका छन् । संघका अन्य पदाधिकारी र सदस्यले पनि सहयोग गर्ने घोषणा गरिसकेका छन्।

बाढीपहिरो पीडितलाई आवश्यक सहयोगबारे संघका अध्यक्ष घलेले आइतबार गृहमन्त्री जनार्दन शर्मासँग टेलीफोनमा छलफल गरेका थिए । सहयोगको आवश्यकताबारे गृह मन्त्रालयले विस्तृतमा जानकारी दिएपछि सोही आधारमा राहत सामग्री उपलब्ध गराउने संघले निर्णय गरेको छ।

तत्कालका लागि राहत कोषको रकम २ करोड रुपैयाँ पुर्‍याउने र सामग्री खरिद प्रक्रिया सुरु गर्ने जनाइएको छ । राहत वितरण समन्वय गर्न अध्यक्ष घले तत्कालै अस्ट्रेलियाबाट नेपाल आउने संघले जनाएको छ । संघले विश्वभरि छरिएर रहेका नेपालीलाई गच्छेअनुसार सहयोग गर्न आह्वान पनि गरेको छ। 

त्यसैगरी बाढीपीडितको सहयोगका लागि आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयरले २५ लाख रुपैयाँ राशीको प्रारम्भिक राहत कोष स्थापना गरेको छ । बुद्धले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापना गरेको कोषमा संकलित रकम मोरङ र सुनसरीका अतिप्रभावित बस्तीमा खाद्यान्न, औषधीलगायत वितरणमा प्रयोग गरिने जनाएको छ। 

बुद्धका अनुसार राहत सामग्री स्थानीय टोल, युवा क्लब तथा सुरक्षाकर्मीको सहयोगमा आफैं वितरण गरिने छ भने वितरण गर्दा लाग्ने प्रशासनिक खर्च पनि आफैं बेहोर्ने छ। 

प्रकाशित: ३० श्रावण २०७४ ०४:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App