८ वैशाख २०८१ शनिबार
खेल

राष्ट्रिय पौडीमा नयाँ नियम

काठमाडौं– नेपाल पौडी संघले २०औं राष्ट्रिय पौडी प्रतियोगितादेखि एउटा खेलाडीले चार इभेन्टमा मात्र सहभागी हुन पाउने नियम लागू गर्न लागेको जनाएको छ । 

भदौ १ र २ गते हुने प्रतियोगिताको जानकारी दिने क्रममा संघकी उपाध्यक्ष गीता राणाले समावेशी ढंगमा प्रतियोगिता गर्न लागेकाले यस्तो नियम लागू गर्न लागेको बताइन् । तथापि उनले प्राविधिक टोलीसँगको छलफलपछि यसबारे टुंगो लाग्ने बताइन् । ‘यो प्रतियोगितालाई केही पछि गर्ने भनेका थियौं तर हाम्रा खेलाडी ट्रेनिङका लागि विदेश जानुपर्ने भएकाले हतारमै भए पनि गर्न लागेका छौं,’ उपाध्यक्ष तथा आयोजक समिति संयोजक राणाले भनिन्, ‘नयाँ खेलाडीहरूलाई पनि मौका दिनुपर्छ भनेर हामीले यस्तो गर्न लागेका हौं । एक जनाले ४ इभेन्टमा मात्र भाग लिँदा खेलाडी त्यही इभेन्टमा मात्र ध्यान केन्द्रित हुन्छ र प्रदर्शनमा सुधार आउँछ ।’ 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोग र नेपाल पौडी संघले आयोजना गर्ने प्रतियोगितामा ५ विकास क्षेत्रको खेलाडीसहित तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र एपिएफ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 
प्रतियोगितामा विभिन्न १ सय ३६ खेलाडीले भाग लिने नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठले बताए । प्रतियोगितामा महिला र पुरुषका ५० मिटर, १ सय मिटर, २ सय मिटर फ्रिस्टायल, ५० मिटर, १ सय मिटर, २ सय मिटर ब्याकस्ट्रोक, ५०, १ सय , २ सय मिटर ब्रेस्टस्ट्रोक, ५०, १ सय मिटर बटरफ्लाई, फ्रिस्टायल रिले र मिक्स रिलेलगायत २१ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । 

महासचिव श्रेष्ठले खेलाडीले आफ्नो इभेन्टमा बढी ध्यान केन्द्रित गर्न पाओस् भनेर नयाँ नियम लागू गर्न लागेको बताए । श्रेष्ठले थपे, ‘हामीले कुनै एक खेलाडीलाई हेरेर नियम बनाउन खोजेको होइन । एउटा खेलाडीले धेरै इभेन्टमा भाग लिनुभन्दा एउटा विशेष इभेन्टमा राम्रो गर्न सकोस् भनेर यस्तो नियम बनाएका हौं । तर यो अहिले नै प्रयोग गर्ने भन्ने हामीले निर्णय गरेका छैनौं।’ 

प्रतियोगितामा सबैभन्दा धेरै मध्यमाञ्चलबाट समान २० महिला र पुरुष खेलाडीले भाग लिनेछन् । सबैभन्दा कम मध्यपश्चिम, सुदूरपश्चिम, पुलिस र एपिएफबाट समान ४ महिला र पुरुष खेलाडीको सहभागिता रहने आयोजक नेपाल पौडी संघले बताएको छ । 

प्रकाशित: ३० श्रावण २०७४ ०५:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App