८ वैशाख २०८१ शनिबार
खेल

नेतृत्व ‘अक्षम’ कि परिपक्व ?

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को आन्तरिक कलह अहिले चरमोत्कर्षमा छ । राष्ट्रिय फुटबलको मेरुदण्ड मानिने लिग हुन नसकेको चार वर्ष भइसक्यो । राष्ट्रिय टोली छान्ने खेलाडीको घेरा ४० भन्दा तल झरिसक्यो । भुइँचालोले बिगारेको देशकै एक मात्र दशरथ रंगशाला बन्न सकेको छैन । च्यासललगायतका अन्य पूर्वाधारको अवस्था पनि उत्तिकै दयनीय छ । प्रायोजक भटाभट फुटबलबाट बाहिरिने अवस्थामा छन् । एन्फाकै गल्तीका कारण थ्री स्टारले एएफसी एसिया कप छनोटको दोस्रो चरण खेल्न नपाउँदा फुटबल थप समस्यामा परेको छ । समग्रमा भन्दा नेपालमा सबभन्दा लोकप्रिय खेल फुटबल अहिले चरम संकटमा छ ।

तमाम संकटका बीच केही महिनापछि नयाँ चार वर्षे कार्यकालका लागि एन्फाको निर्वाचन गर्नुपर्नेछ । बाढीपहिरोको प्रभावले फेरि स्थगित नभए यी र यस्तै एजेन्डामाथि छलफल गर्न बुधबार नेपाली फुटबलको सर्वोच्च निकायको कार्यसमिति बैठक बस्दै छ । देशभित्रको फुटबललाई विकासको बाटोमा डोर्‍याउने र यहाँभित्रका तमाम समस्याबाट निकास दिने काम एन्फाको हो । त्यसैले यसपालि एन्फाको  बैठक विशेष महत्त्वपूर्ण छ । अझ यसै महिनाको पूर्वार्धमा यिनै एजेन्डामा छलफल गर्न बोलाइएको एन्फा कार्यसमिति बैठक बीचमै रद्द गर्नुपर्ने अवस्थाका कारण पनि यसपालिको बैठकलाई नेपाली खेलजगत्ले विशेष चासोका साथ हेरेको छ । 

अघिल्लो पटक साउन ११ गते बोलाइएको एन्फा कार्यसमिति बैठकमा थ्री स्टार क्लबलाई एएफसी एसिया कपको दोस्रो चरण खेल्न नपाएबापत क्षतिपूर्ति दिने विषयमा कुरा नमिलेपछि एक दिनका लागि स्थगित भएको थियो । भोलिपल्ट पुनः निरन्तरता दिने भन्दै स्थगित बैठक १२ गते पनि सुरु नै नगरी एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले अनिश्चित कालका लागि स्थगित गरेका थिए । अध्यक्ष श्रेष्ठले थ्री स्टारको विषयमा होमवर्क नपुगेको भन्दै थप अनौपचारिक छलफलको बहानामा अनिश्चित कालका लागि स्थागित गरेको बैठक बुधबार बस्दै छ। 

थ्री स्टारले एसिया कप खेल्न नपाएपछि दोषीमाथि कारबाही तथा उचित क्षतिपूर्ति नदिएसम्म कुनै पनि फुटबल गतिविधिमा संलग्न नहुने निर्णय लिएको थियो । थ्री स्टारले सुरुमा ६ करोड रुपैयाँ क्षतिपूर्ति मागे पनि पछिल्लो समय एन्फा र क्लब पदाधिकारीबीच १ करोड ५० लाख तथा तीनवटा मैत्रीपूर्ण खेलमा अनौपचारिक सहमति भएको थियो । त्यही अनौपचारिक सहमतिलाई कार्यसमितिबाट अनुमोदन गराउनेसहित तीन महिनापछि हुने निर्वाचन र लामो समयदेखि गर्न नसकेको लिग आयोजना, महिला प्रतियोगिता, फुटसल गर्ने, भौतिक पूर्वाधारको अभावलगायतका विषय एन्फा बैठकका एजेन्डा थिए । सबै विषयमा सौहार्दपूर्ण छलफल भए पनि थ्री स्टारलाई क्षतिपूर्ति दिने विषयमा भने चर्काचर्की भएको थियो। 

अघिल्लो पटक कार्यसमितिको बैठक सम्पन्न गर्न नसकेपछि श्रेष्ठको क्षमतामा गम्भीर प्रश्न उठेको छ । आफ्नो क्षमतामाथि नै प्रश्न उठेको अवस्थामा उनले बुधबारको बैठकमा आफूलाई साँच्चै कुनै पक्षको गोटी मात्र नभई एउटा स्वतन्त्र अध्यक्ष र परिपक्व नेतृत्वका रूपमा प्रस्तुत गर्न सक्नुपर्छ । फुटबलका विभिन्न स्वार्थ समूहको खेलभन्दा माथि उठेर बैठकमा भूमिका निर्वाह गर्न सक्नुपर्छ।

थ्री स्टारलाई क्षतिपूर्ति दिने विषयमा कार्यसमितिका सबै सकारात्मक भए पनि दोषीलाई कारबाही गरेर अघि बढ्नुपर्छ भन्ने र क्षतिपूर्ति मात्र दिने भन्नेबीचको विवादका कारण पछिल्लो बैठक निर्णयमा पुग्न असफल थियो ।  

एन्फाले समयमै टिम दर्ता नगराइदिएका कारण थ्री स्टारले एसिया कप खेल्ने अवसर गुमाउनुपरेको थियो । त्यस विषयमा छानबिन गर्न एन्फाले आफ्नै उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा केन्द्रीय सदस्य रमेश रायमाझी तथा सहमहासचिव सञ्जीव मिश्र सदस्य रहेको छानबिन समिति बनाएको थियो । जुन समितिले आफ्नो प्रतिवेदनमा कर्मचारी गोकुल थापा, महासचिव धीरेन्द्र प्रधानलगायतलाई दोषी करार दिएको छ । चेन अफ कमान्ड कायम गर्न नसकेको भन्दै अध्यक्ष श्रेष्ठमाथि पनि प्रतिवेदनले औंला उठाएको बताइएको छ । 

पछिल्लो समय केही उमेर समूह, आमन्त्रण र तल्लो वरीयताका प्रतियोगिता जितेको भरमा विश्वकप जितेजसरी उत्ताउलिएको एन्फा नेतृत्वका लागि यो समय निकै चुनौतीपूर्ण छ । नेतृत्व, त्यसमा पनि मुख्य रूपले अध्यक्ष श्रेष्ठले आफूलाई प्रमाणित गर्नुपर्ने कठिन अवस्था हो, बुधबारको बैठक । अघिल्लो पटक कार्यसमितिको बैठक सम्पन्न गर्न नसकेपछि श्रेष्ठको क्षमतामा गम्भीर प्रश्न उठेको छ । आफ्नो क्षमतामाथि नै प्रश्न उठेको अवस्थामा उनले बुधबारको बैठकमा आफूलाई साँच्चै कुनै पक्षको गोटी मात्र नभई एउटा स्वतन्त्र अध्यक्ष र परिपक्व नेतृत्वका रूपमा प्रस्तुत गर्न सक्नुपर्छ । फुटबलका विभिन्न स्वार्थ समूहको खेलभन्दा माथि उठेर बैठकमा भूमिका निर्वाह गर्न सक्नुपर्छ । 

थ्री स्टारको विषयले एन्फाको बैठक अवरुद्ध भएको छ । लामो समयदेखि हुन नसकेको लिग सुरु हुन सकेको छैन । त्यसैले यो नेपाली फुटबलको भविष्यसँग जोडिएको विषय हो । यो एन्फाका कुनै पनि व्यक्तिको पदमोहभन्दा धेरै ठूलो विषय हो । त्यसैले श्रेष्ठले अध्यक्षका रूपमा बैठकलाई मर्यादित रूपमा  मात्र सञ्चालन गरे हुन्छ । अध्यक्षले कुनै स्वार्थको जुत्ता नलगाई बैठकभित्र छिरे समस्या समाधान जटिल छैन । लोकतन्त्रमा बहुमतले निर्णय गर्ने हो । एन्फा आफँैले गठन गरेको छानबिन समितिको प्रतिवेदन टेबुल गरेर त्यसमाथि खुला रूपमा सबै सदस्यलाई छलफल गर्न दिनुपर्छ । बैठकको प्रक्रियाअनुसार अध्यक्षले पूर्ण रूपमा तटस्थ बसेर बैठकलाई मर्यादाभित्र राख्ने काम मात्र गर्नुपर्छ । अध्यक्षले अन्तिममा मत बराबर भए मात्र निर्णायक मत राख्ने हो भने बैठक सम्पन्न नै गर्न नसक्ने ‘अक्षम’ नेतृत्वको ट्याग उनले भिर्नुपर्ने छैन । अन्यथा फेरि पनि बैठक सम्पन्न नहुन सक्छ । 

नरेन्द्र श्रेष्ठ नेपाली फुटबलका एउटा भलाद्मी प्रशासक हुन् । त्यसैले उनी फुटबलकर्मीहरूमाझ सम्मानित पनि छन् । फुटबलमा सबैखाले जिम्मेवारी निर्वाह गरिसकेपछि उनी एक हिसाबमा ‘रिटायर्ड’ जीवन बिताउन थालिसकेका थिए । यसैबीच भएका केही घटनाले उनलाई एन्फा अध्यक्षको कुर्सी चिट्ठामा परेको हो । त्यसैले उनले एन्फाबाट कुनै व्यक्तिगत स्वार्थ राख्नुपर्ने छैन । भलाद्मी व्यक्तिको छविदेखि व्यक्तिगत जीवनको यथार्थसमेतले उनी कसैको दबाब र प्रभावमा पर्नुपर्ने अवस्थामा छैनन् । यसलाई उनले एउटा ‘बोल्ड’ नेतृत्वका रूपमा प्रस्तुत हुने बलियो हतियारका रूपमा प्रयोग गर्न सक्नुपर्छ । 

तर अध्यक्षका रूपमा कार्यसमिति बैठक सम्पन्न गर्न नसकेपछि उनको छविमा भलाद्मीबाट ‘बिचरा’ र ‘अक्षम’ जस्ता शव्दावली प्रयोग हुन थालेका छन् । यो अवस्था श्रेष्ठको सोझोपनाको कारण आएको हो । अरूलाई नबिझाऊँ भन्ने भावनाका कारण उनी आफैँ ‘बिचरा’ र ‘अक्षम’ भइदिएका हुन् । यो सत्य पनि फुटबलकर्मीले बुझेका छन् । तर अध्यक्ष भएपछि सोझो र भलाद्मी हुँ भनेर मात्र हुँदैन । अध्यक्षले समग्र देशको फुटबललाई नेतृत्व प्रदान गर्न सक्नुपर्छ । भएका सबै कमजोरीको जिम्मेवारी लिनुपर्छ । त्यसो गर्न नसक्ने हो भने नेतृत्व त्याग गर्नुपर्छ । 

नेपाली फुटबलमा चार दशकभन्दा लामो समय विभिन्न भूमिकामा रहेर बिताएका श्रेष्ठले यो कठिन घडीमा गर्नुपर्ने पहिलो र एक मात्र काम भनेकै अध्यक्षका रूपमा परिपक्व भएर खेललाई धराशयी हुनबाट जोगाउनु हो । त्यसका लागि बुधबारको बैठकमा उनको भूमिका महत्त्वपूर्ण छ । किनकि बुधबारको बैठक नेपाली फुटबललाई यथास्थितिमा राख्ने, धराशयी हुने बाटोमा धकेल्ने वा अगाडि बढाउने भन्नेमा महत्त्वपूर्ण हुनेछ । श्रेष्ठलाई सक्षम नेतृत्वका रूपमा स्थापित हुन शुभकामना! 

प्रकाशित: ३० श्रावण २०७४ ०६:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App