८ वैशाख २०८१ शनिबार
अन्य

उहिलेको डिपार्टमेन्ट स्टोर !

कतै  चना, कतै चाउचाउ, कहीँ गुन्द्रुक त कहीँ माछा । एकातिर नुन, अर्कोतिर सुन । साँघुरा गल्लीभित्र जताततै दैनिक उपभोग्य वस्तु देख्दा लाग्छ, खुला आकाशमुनिको डिपार्टमेन्ट स्टोर हो– असन बजार। 

भोटाहिटीदेखि इन्द्रचोकसम्मको करिब दुई सय ५० मिटरबीच ‘नुनदेखि सुनसम्म’ र ‘पर्दादेखि मर्दासम्म’का सबै सामान पाइन्छन् । त्यसैले होला अझै पनि अधिकांश राजधानीवासीका लागि किनमेलको मुख्य गन्तव्य बनिरहेको छ, असन । 
‘यहाँ आए किनमेलका लागि धेरैतिर धाउनुपर्दैन,’ सुन्दरीजलबाट ‘सपिङ’का लागि आएका ६२ वर्षीय शम्भु सिंखडाले भने, ‘बाबुबाजे पनि पहिलेदेखि नै किनमेलका लागि यहीँ आउनुहुन्थ्यो।’  

उनको परिवार र आफन्तले समेत विवाहका आवश्यक वस्तुदेखि दैनिक  उपभोग्य सामग्री समेत यहीँ किन्ने गर्छन् । ‘कपडा किन्न इन्द्रचोक, गेडागुडी किन्न अन्नपूर्ण मन्दिर,’ उनले भने, ‘ताजा सागपातदेखि सुकुटीसम्म यहीँ भेटिन्छ ।’ एकाधपटक आधुनिक डिपार्टमेन्ट स्टोर पुगेका उनलाई असन समेत त्यस्तै पसलजस्तो लाग्छ।

असनको एउटा पुरानो मसला पसलमा भेटिएका  २३ वर्षीय मनोज तिमल्सिना यो आफ्नो पुस्तैनी व्यापार भएको बताउँछन् । बाबु–बाजेदेखि नै व्यापार गर्न थालेको उनको परिवारले असनमै पसल चलाइरहेको छ । ‘यहाँ राजधानी र वरपरका मात्र होइन, देशभरका मान्छे आउँछन्,’ उनले भने, ‘सामान किनेर लिएर जान्छन् ।’ 

भोटाहिटीदेखि इन्द्रचोकसम्मको करिब दुई सय ५० मिटरबीच ‘नुनदेखि सुनसम्म’ र ‘पर्दादेखि मर्दासम्म’का सामान पाइन्छन् । त्यसैले होला अझै पनि अधिकांश राजधानीवासीका लागि किनमेलको मुख्य गन्तव्य बनिरहेको छ, असन । 

उपत्यकाका विभिन्न स्थानमा आधुनिक सपिङ मल, डिर्पाटमेन्ट स्टोर र सुपर मार्केट खुलिरहेका छन् । तिनले ठुल्ठूला होर्डिङ बोर्डदेखि टेलिभिजनका स्क्रिनमा समेत विज्ञापन गरिरहेका छन् । व्यापक प्रचार भए पनि नयाँ व्यापारिक केन्द्र असनको प्रतिस्पर्धी नभएको तिमल्सिनाको दाबी छ। 

‘किनमेल यहाँको संस्कृति हो,’ उनी भन्छन्, ‘अनेक चहलपहले यो जीवन्त देखिन्छ, अन्त कहाँ यस्तो भेटिन्छ ?’ उनी असनलाई पुरानो जमानाको डिपार्टमेन्ट स्टोर भन्न रुचाउँछन्। 

आधुनिक डिपार्टमेन्ट स्टोर संस्कृतिको सुरुवात युरोपबाट भएको हो । औद्योगिक क्रान्तिपछि एउटै स्टोरमा सबै खाले सामान पाइने संस्कृति बेलायत र फ्रान्सबाट सुरु भएको थियो । नेपालमा भने एउटै गल्लीमा सबैखाले सामान पाइने चलन त्यसअघि नै सुरु भइसकेको उदाहरण हो, असन। 

असन–इन्द्रचोकका एउटै गल्लीमा आवश्यक सबै सामग्री पाइने चलन मल्लकालमै चलेको विश्वास गरिन्छ । खुला आकाशमुनिको डिपार्टमेन्ट स्टोरजस्तो लाग्ने असनको अवधारणा १२औँदेखि १८औँ शताब्दीबीच आएको असन सेवा समितिका पूर्वप्रमुख अमूलकाजी तुलाधार बताउँछन्। 

असनमा सबैखाले सामान पाइने भएकाले यो क्षेत्र प्राचीनकालदेखि नै प्रमुख व्यापारिक केन्द्र बनेको उनले बताए । ‘असन धनीदेखि गरिब सबैको साझा बजार हो,’ उनले भने। 

उनका अनुसार असनका प्रत्येक चोकमा फरक–फरक सामान पाइन्छ । ‘असन खाद्यान्नका लागि प्रख्यात छ, इन्द्रचोक कपडाका लागि,’ उनी भन्छन्, ‘बालकुमारीमा फलाम पाइन्छ, न्ह्याकामा सुन।’

उनका अनुसार, बांगेमुढा रङ–रोगनका लागि प्रख्यात छ भने केलटोल ढाकाका सामानका लागि । असन सेवा समितिका अध्यक्ष  अरुणलाल श्रेष्ठ यस क्षेत्रको  महŒव मल्लकालदेखि नै रहेको बताउँछन् । असनलाई  जीवन्त राख्न सबै लाग्नुपर्ने उनको धारणा छ । ‘असनलाई व्यवस्थित बनाउन लागिपरेका छौ,’ उनले भने, ‘यसका लागि सवैपक्षको सहयोग जरुरी छ ।’ पार्किङस्थलको अभावमा असन थप अव्यवस्थित भएको उनको बुझाई छ ।

बदलिँदो असन 
पुराना घरमा सामान बेच्दै आएका पसल अचेल परिवर्तन हुँदै छन् । दुई वर्षअघिको भूकम्पमा कतिपय घर भत्किए । कतिपय घर अझै टेकेको भरमा छन् । 

दैनिक उपभोग्य वस्तुका लागि प्रख्यात भए पनि अचेल यहाँ आधुनिक सामानको उपस्थिति समेत देखिन थालेको छ । पहिले फापरको पिठो पाइने असनमा अचेल ल्याक्टोजिन र फापरको पिठो सँगसँगै बिक्छन् । परम्परागत सुगन्धित धूपसँगै आधुनिक अत्तर र पफ्र्युम राखिएका हुन्छन् । खुला साबुनका डल्ला बिक्ने असनमा अचेल बहुराष्ट्रिय कम्पनीका महँगा स्याम्पु देखिन्छन् । पहिलेदेखि बिक्दै आएको लंगुरबुर्जादेखि आधुनिक भिडियो गेम समेत असनमा बिक्री हुन्छ । 
पुरानो बजार भएकाले असनका गल्लीहरू साँघुरा छन् । तिनै साँघुरा गल्लीमा गुड्छन् आधुनिक गाडीहरू । जसले थपेको छ, भीड व्यवस्थापनको जटिलता । व्यवस्थित पार्किङको अभावमा असन पुग्नेहरू घट्न थालेका छन् । ‘असनलाई बचाइराख्न हामी सबै लाग्नुपर्छ,’ असन सेवा समिति अध्यक्ष  श्रेष्ठ भन्छन् ।  

प्रकाशित: ३० श्रावण २०७४ ०६:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App