coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

प्रधानमन्त्री कार्यालय भन्छ : पुरिए सडकका खाल्डा

खाल्डैखाल्डा भएको राजधानीको जोरपाटीस्थित सडकमा आइतबार स्कुटर चलाउँदै सर्वसाधारण । तस्बिर : दिनेश गोले

उपत्यकाका मुख्य सडकका धेरैजसो जोखिमपूर्ण खाल्डा पुरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्रीको निर्देशनपछि तीव्र गतिमा काम भएकाले सडकका मुख्य खाल्डा पुरिएका हुन् ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले जिम्मेवार पाएका निकाय निरन्तर खटिएका कारण अहिले धेरैजसो जोखिमपूर्ण खाल्डा पुरिएको बताए । उनका अनुसार चावहिल–गोपीकृष्ण, पुतलीसडक–हात्तीसार–बालुवाटार, सुन्धारा–रत्नपार्क, भोटाहिटी–जमल, लैनचौर–नारायण गोपालचोक, अनामनगर–कालिकास्थान, चारखाल–ज्ञानेश्वर, चुच्चेपाटी–बौद्ध, बालाजु–नारायणगोपाल चोक, लाजिम्पाट–लैनचौर, नक्साल–भगवतीबहाल, गौशाला–जयवागेश्वरी, थापाथली–माइतीघर, तीनकुने–कोटेश्वर लगायत सडकखण्डका मुख्य खाल्डा पुरिएका छन् ।

‘अनुगमनमा धेरैजसो खाल्डा पुरिएको पायौँ,’ उनले भने, ‘बर्खाको समयमा काम गर्न कठिन भएकाले पनि प्रधानमन्त्रीले दिएको समयसीमाभित्रै काम नसकिएको हो ।’ उनले प्रधानमन्त्रीले दिएको १५ दिने समयअवधि सकिए पनि खाल्डा पुर्ने जिम्मा पाएका निकायले निरन्तर काम गरिरहेको जनाए । ‘मुख्य सडकखण्डका ८५ प्रतिशत खाल्डा पुरिएका छन्,’ प्रवक्ता पन्थीले भने, ‘अबको समस्या मुख्य सडकसँग जोडिएका भित्री सडक हुन्, जसको अवस्था निकै जोखिमपूर्ण छ ।’ उनले सडक विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई भित्री सडकका खाल्डा पुर्न निर्देशन दिइसकिएको जानकारी दिए  । उनले दसैँसम्म उपत्यकाका सडकमा खाल्डा देख्ननपर्ने गरी काम भइरहेको बताए ।

‘अनुगमनमा धेरैजसो खाल्डा पुरिएको पायौँ,’ उनले भने, ‘बर्खाको समयमा काम गर्न कठिन भएकाले पनि प्रधानमन्त्रीले दिएको समयसीमाभित्रै काम नसकिएको हो ।’

साउन १ गते प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि उपत्यकाका सडकका खाल्डाखुल्डी पुर्ने काम सुरु भएको थियो । प्रधानमन्त्री कार्यालयका सहसचिव दामोदर रेग्मी भन्छन्, ‘अहिले उपत्यकाका सडकमा चौतर्फी रूपमा काम भइरहेको छ । अहिले सडकसँग सम्बन्धित सबैजसो निकाय सडकमै परिचालित भएका छन् ।’ उनका अनुसार सडकका खाल्डा पुर्न काठमाडौं डिभिजन कार्यालय १ र २, आयोजना कार्यान्वयन निर्देशनालय लगायतले दुई सयभन्दा बढी कामदार परिचालन गरेका छन् ।

मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका क्षेत्रीय निर्देशक शिवहरि सापकोटाले सडकका खाल्डा पुर्ने काम भइरहेको जानकारी दिए । ‘सडकका ठूला खाल्डा पुरिएका छन्,’ उनले भने, ‘बिजुलीका पोल र खानेपानीको पाइपले केही ठाउँमा काम गर्न असहज भएको छ ।’

 

प्रकाशित: ३० श्रावण २०७४ ०७:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App