८ वैशाख २०८१ शनिबार
खेल

रोनाल्डोलाई रातो कार्ड

बार्सिलोना- क्रिस्टियानो रोनाल्डोले गोल गरेको दुई मिनेट नबित्दै रातो कार्ड सामना गरेको स्पेनिस सुपर कपको पहिलो लेगमा आइतबार रियाल मड्रिडले नेइमारबिनाको बार्सिलोनामाथि ३–१ को जित हासिल गरेको छ।

दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिराइएका रोनाल्डोले समय सकिन १० मिनेट बाँकी रहँदा गोल गर्दै रियाललाई २–१ को अग्रता दिलाएका थिए। तर त्यसपछिका दुई मिनेटमा दुई पहेंलो कार्ड सामना गरेपछि उनी मैदान छोडन बाध्य भए। तर रियालले १० जनामा सीमित हुनाका बावजुद मार्को एसेन्सियोले अन्तिम समयमा गोल गरेपछि अग्रता फराकिलो पार्‍यो।

त्यसअघि जेरार्ड पिकेको गोलमा दोस्रो हाफको पाँचौं मिनेटमा रियालले अग्रता लिएको थियो। लियोनेल मेसीले ७७औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याएका थिए। जसले केही समयका लागि भए पनि पेरिस सेन्ट जर्मनका लागि नेइमारले बार्सिलोना छोड्दा भएको पीडामा राहत मिलेको थियो। तर त्यसपछि रोनाल्डो र एसेन्सियोले गोल गरेर बार्सिलोनालाई निराश पारे।

दुई टोलीबीचको निर्णायक दोस्रो लेग बुधबार रियालको सान्टियागो बेर्नाबेउ रंगशालामा हुनेछ।

'मलाई आफ्ना खेलाडीप्रति गर्व छ, किनकि उनीहरूले १० जनामा सीमित भएपछि पनि उत्कृष्ट फुटबल खेले,' रोनाल्डोको रातो कार्डविरुद्ध अपिल गर्न सक्ने बताउँदै रियालका प्रशिक्षक जिनेदिन जिदानले भने।

गोल गर्दै रियाललाई अग्रता दिलाएपछि खुसी मनाउने क्रममा जर्सी फुकालेपछि पहिलो पहेंलो कार्ड सामना गरेका विश्व वर्ष खेलाडी रोनाल्डोले लगत्तै दुई मिनेटपछि पेनाल्टी पाउने आशामा डाइभ गरेबापत दोस्रो पहेंलो कार्ड सामना गरे। उनले पेनाल्टी अपिल गर्दै डाइभ गर्दा रेफ्री रिकार्डो डी बुर्गस बेन्जेएट्सिया उनको नजिकै थिए। रोनाल्डोको करियरमा यो १०औं रातो कार्ड हो।

'उनले कुनै पनि बेला कुनै नाटक गरेका थिएनन्,' रियालका कप्तान सर्जियो रामोसले भने, 'बार्सिलोनाविरुद्धको अल क्लासिकोमा समय सकिन १० मिनेट बाँकी रहँदा मुख्य खेलाडीलाई रातो कार्ड देखाउनु भनेको सामान्य निर्णय होइन। रेफ्रीले यसलाई फरक ढंगले सोच्नुपर्छ। त्यसैले हामी यो निर्णयको विरुद्ध अपिल गर्नेछौं। बुधबारको दोस्रो लेगमा रोनाल्डो हामीलाई अपरिहार्य छन्।'

उता नेइमारको अनुपस्थितिमा बार्सिलोना स्वाभाविक लय समाउन संघर्ष गरिरहेको थियो। मेसी र लुइस स्वारेजसँगै अग्रपंक्तिमा खेलाइएका फरवार्ड जेरार्ड डिउलोफेउले खेलमा कुनै प्रभाव पार्न सकेनन्।

'यो हाम्रा लागि अत्यन्तै निराशाजनक नतिजा हो। अब उनीहरू दाबेदार भएका छन्। यसलाई हामीले स्विकार्नुपर्छ,' निराशाका साथ कार्यकाल सुरु गरेका बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भार्डेले भने, 'तर अझै हामीसँग दोस्रो खेल बाँकी छ। एउटा हारले सबथोक सकिँदैन। हामी अन्तिम अवस्थासम्म पनि प्रयास जारी राख्नेछौं।'

पाँच खेलको प्रतिबन्ध

स्पेनिस फुटबल संघले सोमबार रेफ्रीलाई धक्का दिएको भन्दै रियाल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमाथि ५ खेलको प्रतिबन्ध लगाएको छ।

आइतबार बार्सिलोनाविरुद्धको स्पेनिस सुपर कपको पहिलो लेगमा रियालका लागि दोस्रो गोल गरेको दुई मिनेटको अन्तरमा दोहोरोे पहेँलो कार्डको दर्शन गरेपछि उनले आक्रोशित हुँदै रेफ्री डि बुर्गोसलाई धकेलेका थिए।  बुर्गोसले खेलपछि बुझाएको प्रतिवेदनमा रोनाल्डोले आफूलाई धक्का दिएको उल्लेख गरेपछि स्पेनिस फुटबल संघले उनीमाथि प्रतिबन्धको निर्णय सुनाएको हो। 

प्रकाशित: ३१ श्रावण २०७४ ०४:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App