coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

फेम शृंखलामा नरेन

काठमाडौं- गायक, गायिका तथा ब्यान्डलाई एकल गायनमा प्रस्तुत गर्दै आएको फेम नेपालले जुलाई महिनाको शृंखलामा गायक नरेन लिम्बुलाई प्रस्तुत गर्ने भएको छ। युवा पुस्तामाझ लोकप्रिय नरेनले दरबारमार्गस्थित भिक्ट्री लन्जमा आउँदो शनिबार आफ्ना गीत पस्कन लागेका हुन्।

सन् २००३ मा सुदीप गुरुङका साथमा स्थापना गरेको 'आस्था' ब्यान्ड र सोही ब्यान्डको नाममा निस्किएको एल्बमले रातारात नरेन र सुदीप नेपाली संगीतमा स्थापित नाम भए। आस्थामै समावेश भएका दुई गीत 'हरपल' र 'एक मौका'ले दुवैको चर्चा आकासियो। तर दोस्रो एल्बम निस्कनु अघि नै सुदीप पढ्न लन्डन गएपछि नरेनले एक्लै नेपाली संगीतमा निरन्तरता दिइरहेका छन्।

सुगम संगीत सुन्ने बानी परेकालाई नरेनको गीत झट्ट बुझिँदैन तर उनको संगीतमा पाइने गहिराइले श्रोतालाई गीत सितिमिति छोडाउन दिँदैन। सायद यही कारण पनि हुनसक्छ समयको बहावले थुप्रै गायकगायिका पलायन हुँदा नरेन अहिलेसम्म लोकप्रिय गायककै सूचीमा अटाउन सफल छन्।

फेम नेपालले नरेनलाई 'लाइभ म्युजिकल एरा २०१६'को छैटौं शृंखलामा प्रस्तुत गर्न लागेको हो। कार्यक्रममा नरेनले 'मलाई भन्न आउँदैन', 'प्रायश्चित', 'एक मौका,  'जिन्दगी मेरो', 'जुनी', 'बन्धन', 'अर्थ' लगायत दर्जनभन्दा बढी गीत सुनाउनेछन्।

कार्यक्रममा सदाझैं नरेनको गायनपछि डिजेहरुको प्रस्तुति रहने आयोजक साइमन राईले बताए। फेम नेपालले हरेक अंग्रेजी महिनाको अन्तिम शनिबार गायकगायिकालाई एकल गायनमा प्रस्तुत गर्दै आएको छ।

प्रकाशित: ११ श्रावण २०७३ ०४:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App