८ वैशाख २०८१ शनिबार
अर्थ

एक र दुईका सिक्का छाप्न आठ कम्पनी इच्छुक

काठमाडौं- एक र दुई रुपैयाँ दरका सिक्का छाप्न आठ कम्पनी इच्छुक देखिएका छन्। बजारमा सिक्काको अभाव हुन थालेपछि नेपाल राष्ट्र बैंकले छपाउन ग्लोबल टेन्डर आह्वान गरेको थियो। केन्द्रीय बैंकले सिक्का छाप्न साउन ३१ गतेसम्म टेन्डर हालिसक्नुपर्ने सूचना जारी गरेको थियो। सोमबारसम्ममा आठ कम्पनीले इच्छा देखाएको केन्द्रीय बैंकअन्तर्गतको टक्सार विभागले जानकारी दिएको छ।

पहिलो चरणको टेन्डर आह्वानमा विभिन्न देशका आठ कम्पनी इच्छुक देखिएको राष्ट्र बैंक टक्सार विभागका प्रमुख उद्धवलाल रन्जितकारले बताए। 'सिक्का छाप्न अस्ट्रेलिया, इग्ल्यान्ड, रुसबाट विभाजित भएका मुलुक समेतले इच्छा जाहेर गरेका छन्,' उनले भने, 'उक्त टेन्डर मंगलबार खोलिने छ।'

पहिलो चरणमा छनोटमा परेका कम्पनीमध्येबाट पुनः टेन्डर आह्वान गरी उत्कृष्ट ठहरेकालाई सिक्का छाप्न दिइने राष्ट्र बैंकको भनाइ छ। 'पछिलो छनोट (पिक्यू) का लागि टेन्डर आह्वान गरिएको हो,' उनले भने, 'त्यसपछि अन्तिम छनोट गर्नेछौं।'

यसअघि छापिएका एक र दुई रुपैयाँ दरका सिक्का कम हुँदै गएकाले पनि पुनः छाप्न लागिएको केन्द्रीय बैंकको भनाइ छ। राष्ट्र बैंकले यसअघि ०६६ सालमा उक्त दरका सिक्का छाप्न दिएको थियो। छाप्न दिएको करिब दुई वर्षपछि ०६८ सालमा सिक्का ल्याइएको थियो।

त्यसबेला एक रुपैयाँ दरका ५२ करोड रुपैयाँको र दुई रुपैयाँ दरका ४४ करोड रुपैयाँको सिक्का छापिएको थियो। त्यसपछि अहिले छाप्न लागिएको रन्जितकारले जानकारी दिए।

'सिक्काको माग क्रमशः कम हुँदै गएको छ,' उनले भने, 'त्यसैले पनि लामो समयपछि छाप्न लागिएको हो।' केन्द्रीय बैंकले अहिले बजारमा प्रचलित सिक्का भिन्दै डिजाइनका १ र २ दरका सिक्का ल्याउने तयारी गरेको छ। 'सिक्काको डिजाइन परिवर्तन हुने सम्भावना बढी छ,' रन्जितकारले भने, 'कस्तो डिजाइन भन्नेमा छलफल गर्दैछौं।'

बजार भाउ थेगिनसक्नु गरी बढ्दै गएपछि खुद्रा पैसाको अस्तित्व क्रमशः हराउँदै गएको छ। सानोतिनो रकमले केही सामान नपाइने भएपछि नेपाल राष्ट्र बैंकले पनि साना नोट र सिक्का निकाल्न कम गरेको छ।

राष्ट्र बैंकले पछिल्लो समय एक र दुई रुपैयाँका कागजी नोट पनि छाप्न छाडेको छ। केही वर्षअघि खुबै प्रचलनमा आउने एक र दुई रुपैयाँ दरका सिक्का पनि निकाल्न क्रमशः कम गर्दै गएको छ।

गाडी चढ्नेबित्तिकै १५ रुपैयाँ भाडामा तिर्नुपर्ने हुन्छ। सरकारले न्यूनतम गाडी भाडा १३ रुपैयाँ तोके पनि उपभोक्ता १५ रुपैयाँ तिर्न बाध्य छन्। उपभोक्ताले १५ रुपैयाँ दिएर दुई रुपैयाँ फिर्ता माग्दा चानचुन नभएको भन्दै बढी रकम असुल्ने गरिन्छ।

केही वर्ष अघिसम्म राष्ट्र बैंकले एक, दुई, पाँच र १० रुपैयाँका नोट बढी छाप्ने गरेको थियो। तर, अहिले ती नोटले चकलेट पनि नआउने परिस्थिति बनेपछि छाप्ने क्रममा पनि कमी आएको उसको भनाइ छ। अहिले राष्ट्र बैंकले पनि बढी प्रचलनमा आउने २०, ५०, १००, ५०० र हजारका नोट छापिरहेको छ।

पाँच सय र हजारको नोट लिएर बजारमा जाने हो भने दुई छाक तरकारीमात्र किन्दा सकिने परिस्थिति आएको उपभोक्ताको गुनासो छ। अर्थशास्त्रीहरु यसलाई नेपाली मुद्रा दिन प्रतिदिन कमजोर भएको बताउँछन्।

पाँच रुपैयाँभन्दा कम रकम दरका नोट/सिक्काको खासै काम नभएको पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बताए। 'एक रुपैयाँ बाटोमा कसैले खसालेको छ र अर्कोले देख्यो भने टिप्ने चेष्टा गर्दैन,' उनले भने, 'यसको मतलब एक रुपैयाँको भ्यालु नै छैन रहेछ भन्ने बुझनुपर्छ।' तर, आफूले भने राष्ट्र बैंकमा काम गरेका कारण माया लागेर टिप्ने गरेको पनि उनले बताए।

बजारमा किनमेल गर्न जाँदा पैसा बोराभरि बोकेर जाने र फर्कंदा सानो प्लास्टिकको झोलामा सामान बोकेर फकर्नुपर्ने दिन आएका छन्। 'साना दरका सिक्का त बोक्न गाह्रो मान्ने अवस्था आएको छ,' क्षेत्रीले भने, 'सानोतिनो मुद्राको अस्तित्व नै छैन।'

राष्ट्र बैंकले सानोतिनो नोट/सिक्का छाप्न छाडेको छ। मुद्राको वास्तविक मूल्यभन्दा छपाइ खर्च तीन गुणा बढी पनर्ेे भएका कारण पनि सानो सिक्का निकाल्न क्रमशः कम हुँदै गएको उनको भनाइ छ। 'एक रुपैयाँ दरको नोट छाप्न तीन रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ,' क्षेत्रीले भने, 'कस्ट अफ प्रडक्सन बढी छ।'

पाँच रुपैयाँका नयाँ नोट चल्तीमा

नेपाल राष्ट्र बैंकले आज (मंगलबार)बाट पाँच रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ।

हालको नोटमा रहेको जस्तो तलेजु भवानीको मन्दिरको चित्र नयाँ नोटमा छैन। यसको सट्टामा भूकम्पअघिको काष्ठमण्डप मन्दिरको चित्र छ। बजार मागअनुसार उक्त नोट चलनचल्तीमा ल्याउँदै जाने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले सोमबार नागरिकलाई बताए। हाल उक्त दरका २६ करोड थान बजारमा ल्याउन लागिएको जानकारी पनि उनले दिए।

त्यस्तै, सगरमाथाको चित्रको विकल्पमा हुम्लाको लिमी क्षेत्रको हिमाल, साबिकका याकहरुको सट्टामा जंगली याक राखिएको छ। जंगली याक दुर्लभ मानिएकाले नोटमा राखिएको निरौलाले बताए। यी नोटमा संकेत नम्बर ढ/६६ ०००००१ देखि थ/४५ ९९९९९९ सम्म छ।

प्रकाशित: ३१ श्रावण २०७४ ०५:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App