१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

पाँच फिल्मको फाइनल भिडन्त

काठमाडौं- आगामी साउन २९ गते पोखरामा हुन लागेको डि–सिने अवार्डमा उत्कृष्ट फिल्मका लागि 'क्लासिक', 'ड्रिम्स', 'पशुपति प्रसाद', 'प्रेमगीत' र 'वडा नम्बर ६'बीच प्रतिस्पर्धा हुने भएको छ। छायाँछवि क्रियसनको आयोजनामा डि–सिनेको आठौं संस्करण पोखराको ग्रान्ड होटलमा हुन लागेको हो।

उत्कृष्ट निर्देशन विधामा 'ड्रिम्स'बाहेक चारवटै फिल्मका निर्देशक भिड्दैछन्। 'वडा नम्बर ६'का उज्ज्वल घिमिरे, 'क्लासिक'का दिनेश राउत, 'पशुपति प्रसाद'का दीपेन्द्र के खनाल, 'प्रेमगीत'का सुदर्शन थापा र 'कबड्डी कबड्डी'का रामबाबु गुरुङले उत्कृष्ट निर्देशन विधामा प्रतिस्पर्धा गर्दैछन्। 'ड्रिम्स'का भुवन केसीले चाहिँ 'भैरव'का निखिल उप्रेती, 'रेशम फिलिली'का प्रणव जोशी, 'सुश्री'का शिवम अधिकारी र 'अधकट्टी'का सुव्रत आचार्यसँग उत्कृष्ट नवनिर्देशकको अवार्डका लागि काँध जुधाउनेछन्।

अर्को महŒवपूर्ण विधा पटकथातर्फ पनि निर्देशन विधामा मनोनित फिल्मका लेखकहरु नै हावी भएका छन्। 'वडा नम्बर ६'का अभिमन्यु निरवी, 'पशुपति प्रसाद'का खगेन्द्र लामिछाने, 'क्लासिक'का छेतेन गुरुङ, 'प्रेमगीत'का रामशरण पाठक र 'कबड्डी कबड्डी'का रामबाबु गुरुङ र उपेन्द्र सुब्बा पटकथा अवार्डका लागि भिड्दैछन्।

उत्कृष्ट अभिनेता बन्ने होडमा आर्यन सिग्देल (क्लासिक), दयाहाङ राई (कबड्डी कबड्डी), निखिल उप्रेती (भैरव), सौगात मल्ल (फन्को) र प्रदीप खड्का (प्रेमगीत) छन्। त्यस्तै अभिनेत्रीतर्फ नम्रता श्रेष्ठ (क्लासिक), केकी अधिकारी (फन्को), प्रियंका कार्की (वडा नम्बर ६), नीता ढुंगाना (फूलैफूलको मौसम तिमीलाई) र पूजा शर्मा (प्रेमगीत) उत्कृष्ट पाँचमा मनोनित भएका छन्।

यसपालि छायांकन, सम्पादन, कथा, संवाद, खलपात्र, हास्यकलाकार, गीत, संगीत, गायन, पार्श्वसंगीतलगायत २६ विधामा अवार्ड वितरण गरिनेछ। आइटम डान्सको अवार्ड समेत थपिएको छ। पोखरामा गरिने अवार्डको तयारी तीव्र रुपमा भइरहेको कार्यक्रमका अध्यक्ष शान्तिप्रयले बताएका छन्। विगतका वर्षमा काठमाडौंभित्र हुँदै आएको डि–सिने पहिलोपटक मोफसलमा हुन लागेको हो। मोफसलका सहरमा पनि कार्यक्रम हुनु पर्ने आवश्यकता महसुस गरिएकाले नेपाली फिल्मको दोस्रो ठूलो बजार पोखरामा यसपटक कार्यक्रम गर्न लागिएको अध्यक्ष शान्तिप्रियले बताए।

कार्यक्रमका निर्देशक प्रदीप उदयले अवार्ड समारोहले नेपाली फिल्मको बजार बिस्तारको लागि उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरे। कार्यक्रममा नाम चलेका अभिनेता, अभिनेत्री, गायकगायिका तथा अरु कलाकारको सहभागिता रहने सांस्कृतिक कार्यक्रम संयोजक सुमन दहालले अवगत गराए। कार्यक्रमले पर्यटन प्रवद्धर्नमा पनि उल्लेखनीय सहयोग गर्ने दावी कार्यक्रम संयोजक मणिराज गौतमले गरे।

पोखरामा कार्यक्रम गर्न पाएको पोखरेली सहआयोजकहरु उत्साहित रहेको स्थानीय संयोजक सोभित बस्यालले बताए।

प्रकाशित: ११ श्रावण २०७३ ०४:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App