१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एनसेलले पठायो एक हप्तामा ६० लाख एसएमएस

काठमाडौं- निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी एनसेलले बाढीपहिरोको जोखिम भएका क्षेत्रमा हप्ता दिनमा ६० लाखभन्दा धेरै एसमएस पठाएको छ । देशका विभिन्न ठाउँमा भारी वर्षा हुन थालेपछि एनसेलले बाढीपहिरोको उच्च जोखिम भएका क्षेत्रमा रहेका आफ्ना ग्राहकलाई सतर्क र सुरक्षित रहन भन्दै एसएमएसमार्फत पूर्वसूचना पठाएको थियो ।

उसले गत साता (साउन २४ देखि ३० सम्म) ६० लाखभन्दा बढी त्यस्ता पूर्वसूचना पठाइको जनाएको छ । ‘मुलुकका विभिन्न ठाउँमा वर्षा हुन थालेपछि बाढीपहिरोबाट सर्तक र सुरक्षित रहन भन्दै विभिन्न क्षेत्रमा एसएमएस पठाउन सुरु गरेका थियौं,’ एनसेलका कर्पोरट सर्भिसेस निर्देशक प्रणय आयार्चले मंगलबार नागरिकसँग भने, ‘यस्तो पूर्वसूचनाले प्रभावित क्षेत्रका स्थानीयलाई सुरक्षित रहन सर्तक बनाएको छ ।’

केही दिनदेखि मुलुकका विभिन्न भागमा उच्च वर्षा भएकाले लाखौं स्थानीय प्रभावित भएका छन् । सयभन्दा धेरैको मृत्यु भइसकेको छ भने लाखौं विस्तापित भएका छन् । अविरल वर्षा भइरहँदा तराई क्षेत्र, नदी किनारका क्षेत्रमा बाढीबाट प्रभावित हुने र पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको थियो । यस्तो बेलामा स्थानीय मोबाइलबाट पाउने पूर्वसूचनाले जनधनको क्षति जोगिएको छ ।

मोबाइलमार्फत गएका पूर्वसूचना सहितको एसएमएसले जनधनको क्षति हुनबाट लाखौं बचेको जल तथा मौसम विभागका बाढी पूर्वानुमान शाखाका जलविद् विनोद पराजुलीले बताए । ‘विभिन्न माध्यमबाट पठाएको पूर्वसूचनाको एसएमएस निकै प्रभावकारी भएको छ,’ पराजुलीले नागरिकसँग भने, ‘स्थानीय तहमा म आफैं पुगेर पनि त्यो अनुभव गरें ।’ चितवनको सौराहा लगायत क्षेत्रमा एसएमएसबाट आएको पूर्र्वसूचनाले धेरैको ज्यान, धन जोगिएको पराजुलीले बताए ।

उक्त क्षेत्रका स्थानीयले मोबाइलबाट एसएमएस आएको तर त्यस स्तरको आउनेबारे सोच्न नसकेको बताएका छन् ।

एनसेलले पछिल्लो तीन दिनमा शनिबार, आइतबार र सोमबार मात्रै ५० लाखभन्दा बढी त्यस्ता एसएमएस पठाएको जनाएको छ । लगातार वर्षाका कारण पश्चिम राप्ती, बबई, पूर्व राप्ती नदी रजैया, वागमति (रौतहट र सर्लाही) को तटीय क्षेत्र लगायत डुबानमा पर्ने खतरा बढ्दै गएको थियो । त्यसैलाई ध्यानमा राखेर एनसेलले आफ्ना ग्राहकलाई सन्देश पठाएको थियो ।

आइतबार अविरल वर्षापछि विभिन्न नदीमा बढेको जलसतहबारे ३५ लाख ७० हजार र शनिबार सात लाख ३० हजारभन्दा बढी पूर्वसूचनाका एसएमएस बाढीबाट प्रभावित हुने स्थानका ग्राहकलाई पठाएको जनाएको छ ।

पश्चिम राप्ती नदीको कुसुमको जलसतह खतराको तहभन्दा माथि पुगेकोले सुरक्षित स्थानमा जान अनुरोध, बर्दियाको बबई तटीय क्षेत्रका ग्राहकलाई पानीको सतह खतरा तहभन्दा निकै माथि पुग्दै गरेकाले सुरक्षित स्थानमा जान अनुरोध र वागमति नदीको तल्लो तटीय क्षेत्र (रौतहट, सर्लाही) मा भारी वर्षा भएकोले नदीको तटीय र डुबान भइरहने क्षेत्रमा बसोबास गर्नेलाई सुरक्षित रहन अनुरोध गरिएका एसएमएस शनिबार पठाएको थियो ।

नदीमा जलसतहको स्थिति अनुसार जल तथा मौसम विज्ञान विभागले प्रदान गरेको एसएमएस कन्टेन्ट एनसेलले तोकिएको क्षेत्रमा रहेका व्यक्तिलाई पठाएको हो । बाढी–पहिरोबाट हुने क्षति न्यूनीकरण गर्न विभागले एनसेललाई नदीमा पानीको बहाब र जलसतहको अवस्थाअनुसार एसएमएस पठाउन जानकारी दिने गरेको छ ।

पानीको सतह खतराको तहभन्दा माथि गएको एसएमएस पाएपछि मानिसहरु सरकारले तोकेको वा अन्य कुनै सुरक्षित स्थानमा जान सक्छन् । पानीको सतह सामान्य अवस्थामा फर्किएपछि पनि तत्काल कुनै खतरा नभएको जानकारी ग्राहकले एसएमएसमार्फत पाउँछन् । नदीमा पानीको बहावको आधारमा विभिन्न चार प्रकारका एसएमएस पठाउने गरिन्छ ।

एनसेलले गत वर्ष जल तथा मौसम विभागसँग पूर्वसूचना प्रदान गर्नका निमित्त समझदारीपत्रमा हस्ताक्षर गरको थियो र सोहीअनुरुप एनसेलले बाढी र पहिरोको उच्च जोखिम रहेका स्थानमा बस्ने परिवारलाई सम्भावित बाढी–पहिरोको पूर्वचेतावनीका लागि एसएमएस पठाउँदै आएको छ ।

समझदारी अनुसार, एनसेलले वर्षा र नदीमा जल सतहको आधारमा बाढी पहिरोको जोखिमबारे पश्चिम राप्ती, नारायणी, कन्काई, कोसी, वागमति, कर्णाली, बबई, कमला लगायत नदीका तल्लो तटीय क्षेत्रमा बसोबास गरिरहेका परिवारलाई एसएमएसमार्फत पूर्वानुमान तथा पूर्वसूचना पठाउँछ ।

विभागले एनसेलसँगै नेपाल टेलिकमसँग पनि प्राकृतिक विपदको बेला सर्वसाधारणलाई सुरक्षित र सजग रहन भन्दै एसएमएस अलर्ट पठाउने सम्झौता गरेको छ । यसै सम्झौता अनुरुप एनसेल र टेलिकमले एसमएस सन्देश पठाएको जनाएको छ । यसपालिको एसएमएसहरू एनसेलको तर्फबाट कम्पनी आफैंले पठाएको थियो । टेलिकमको एसएमएस विभागबाट पठाइएको पराजुलीले जानकारी दिए । नेपाल टेलिकमको सर्भिसबाट समयमै एसएमएस पठाउन केही समस्या देखिए पनि पछि सामान्य भएको पराजुलीले बताए ।

प्रकाशित: ३२ श्रावण २०७४ ०२:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App