coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पुल नहुँदा डुंगाको भर

बैतडी- बैतडीका तल्लो स्वराड क्षेत्रका स्थानीय पुल नहुँदा डुङ्गाको भरमा ओहोरदोहोर गर्दै आएका छन्। महाकाली नदी क्षेत्रका शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका स्थानीय दैनिक उपभोग्य सामग्री खरिदको लागि भारतीय बजार जान जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

भारतीय सीमा बजार लुहाघाटमा निर्भर स्थानीय बर्खामासमेत डुङ्गामा चढेर समान लिन जाने गरेका छन्।

                नेपालबाट ढुवानी भाँडा महंगो हुँदा समानको भाउ बढी भएकाले सो क्षेत्रका स्थानीय भारतीय सीमा बजारमा निर्भर भएका हुन् । यो वर्ष कच्ची सडक पुगे पनि बर्खामा गाडी नचल्दा बजारमा नेपाली समानसमेत सकिएको स्थानीय बताउँछन् । दैनिक उपभोग्य सामग्रीदेखि औषधि उपचारको लागि भारतमै निर्भर छन् । सीमा नदीमा पुल नहुँदा सास्ती भोग्दै आएको स्थानीय बताउँछन् ।

                नदीमा झोलुंगे पुल नहुँदा डुङ्गाको साहाराले जोखिमपूर्ण यात्रा गर्नुपरेको स्थानीयको गुनासो छ। ‘भर्खरै पुगेको सडक हिलाम्ये छ,’ पञ्चेश्वर गाउँपालिका–१ का शुक्रराम पार्कीले भने, ‘पक्की सडक नहुँदासम्म सीमा बजारमै निर्भर हुनुपर्ने अवस्था छ ।’

                नदीमा पानी बढी हुँदा वारपार गर्न समस्या हुने गरेको छ । अन्य समयमा एक चालकले डुङ्गा खियाए पनि बर्खामा तीन जना चाहिने गरेको छ । डुङ्गामा चढनु जोखिम भए पनि अन्य उपाय नहुँदा बाध्य भएर ओहोरदोहोर गर्ने गरेको पञ्चेश्वर गाउँपालिका–२ का रमेश चन्दले बताए । ‘बर्खामा नदीमा पानीको वहाव बढेपछि समस्या हुने गर्छ,’ उनले भने, ‘बर्सेनि एक दुई जनालेअकालमै ज्यान गुमाउने गरेका छन्।

                तल्लोस्वराड क्षेत्रमा करिब आठ वटा घाट छन् । वारपार गर्न सबै घाटमा डुङ्गा चल्ने गरेका छन्। जिल्ला समन्वय समितिले डुङ्गा सञ्चालकबाट बार्षिक १५ देखि २० लाख रुपैयाँसम्म राजस्व लिने गरेको छ। जिल्लाका साना घाटमा झोलुंगे पुल र मुख्य नाका जुलाघाटमा मोटर चल्ने पुलका लागि पटकपटक पहल गरिए पनि समस्या समाधान हुन सकेको छैन।

                गत वर्ष पञ्चेश्वर घाटमा झुलुंगे पुलको लागि तत्कालिन जिविसले सर्वे गरेर बजेट माग गर्दै मन्त्रालयलाई पत्राचार गरे पनि पुल बन्ने कुनै सुरसार देखिएको छैन । सीमा नदी भएकाले नेपाल सरकारको एक्लै पहलले संम्भव नहुँदा दुई देशको उच्च तहबाट पहल भए मात्र पुल बन्न सक्ने शिवनाथ गाउँपालिका प्रमुख कर्णसिंह साउदले बताए।

                सीमा नदीसम्म भारतले पक्की सडक पु¥याएको छ। दैनिक उपभोग्य सामग्रीदेखि अन्य सामग्री खरिद गर्न जाँदा भारतीय सीमा सुरक्षा बलले बेलाबेलामा दुःख दिँदै आएको छ । नेपालबाट जाने समानभन्दा सस्तो समान भारतबाट ल्याउँदा पर्ने भएकाले एसएसवीको थिचोमिचो सहेर पनि भारतीय बजारबाट समान खरिद गर्न बाध्य भएको स्थानीय बताउँछन्।

 

 

 

प्रकाशित: ३२ श्रावण २०७४ ०२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App