coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

नागरिक इजुकेशन करिअर फेयर हुँदै

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को विज्ञान विषयको नतिजा साउन तेस्रो साता प्रकाशित गर्‍यो। ४४ हजार ८ सय ९७ विद्यार्थी सहभागी परिक्षामा ७९.४ प्रतिशत अर्थात ३५ हजार ६ सय ६८ उत्तीर्ण भए। व्यवस्थापन, मानविकी र शिक्षाशास्त्रतर्फको नतिजा केही दिनमै प्रकाशित हुने राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जनाए। उत्तीर्ण विद्यार्थीलाई अब स्नातक तहमा कुन विषय पढ्ने, कहाँ पढ्ने भन्ने चिन्ता छ। 'स्नातक तह विद्यार्थीको करिअर बनाउने आधार भएकाले उनीहरू बजारको मागअनुसारको बिक्न सक्ने विषय अध्ययन गर्न उन्मुख हुन्छन्,' नियन्त्रक बतास बताउँछन्।

यस वर्ष कक्षा १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र गरी कुल साढे ३ लाख परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रक बतासले बताए। चारै संकाय गरी वर्षेनी डेढ लाखका हाराहारीमा विद्यार्थी उत्तिर्ण हुन्छन्। उत्तीर्ण विद्यार्थीलाई स्नातक तहमा कुन विषय पढ्ने, कहाँ पढ्ने भन्ने विद्यार्थीहरूको अन्योल दूर गर्न नेपाल रिपब्लिक मिडियाले 'हेराल्ड कलेज नागरिक इजुकेशन करिअर फेर २०१७' को आयोजना गर्दैछ। काठमाडौंको अन्न्पूर्ण होटेलमा आयोजना गरिने मेला भाद्र २ गतेदेखि ५ गतेसम्म सञ्चालन हुनेछ।

अवसर र भविष्य सुरक्षित हुने विषय छनौट गरी विश्वविद्यालय शिक्षा हासिल गर्न स्नातकमा विद्यार्थीहरूको मुख्य आकर्षण प्राविधिक, आइटी तथा व्यवस्थापनतर्फ पाइएको शैक्षिक जानकार बताउँछन्। विगतमा कक्षा १२ मा विज्ञान अध्ययन गर्नसाथ स्नातकमा मेडिकल र इन्जिनियरिङ नै अध्ययन गर्नुपर्ने धारणामा समेत परिवर्तन आइरहेको छ। 'हेराल्ड कलेज नागरिक इजुकेशन करिअर फेर २०१७' मा स्वदेशी तथा विदेशी गरी कुल २५ वटा कलेजको सहभागिता हुने मेला संयोजक धीरज ढकालले बताए। मेला अवलोकनकर्तालाई निःशुल्क प्रवेशको व्यवस्था भएको पनि उनले जनाए। 'मेलामा विद्यार्थीहरूले कलेजका प्रतिनिधिसँगै प्रत्यक्ष भेटेर कलेज, विषय, शुल्कलगायतका सूचना प्राप्त गर्न सक्छन्,' संयोजक ढकालले भने, 'साथै मेलामा विद्यार्थीलाई ग्रोथसेलर संस्थाका प्रतिनिधिले करिअरबारे सही गाइडलाइन दिने व्यवस्था पनि गरिएको छ। विभिन्न विज्ञहरूबाट सेमिनार र करिअरबारे कक्षाहरूसमेत सञ्चालन हुनेछ।'

नेपाल मेघा कलेजका कार्यक्रम निर्देशक मधुकर पाण्डेका अनुसार एउटै छातामुनि विद्यार्थीलाई धेरै शैक्षिक कार्यक्रमबारे जानकारी गराइने भएकाले मेला विद्यार्थीका लागि उपलब्धीमूलक हुनेछ। 'विद्यार्थीले धेरै कलेज चहार्नु नपर्ने र समयको पनि बचत हुन्छ,' पाण्डेले भने, 'नेपालमै स्नातक तहको पठनपाठन स्तरीय भएकोले अब विद्यार्थी बाहिर जानु पनि पर्दैन।' करिब ५ हजार विद्यार्थीले दुई दिने मेला अवलोकन गर्ने अनुमान छ। शैक्षिक मेलाका सह–प्रायोजक हब इन्टरनेसनल एजुकेशनका उद्धव खड्काले स्वदेशमै विदेशी डिग्री हासिल गर्ने र विदेशमै गएर उच्च शिक्षा हासिल गर्न चाहने दुवै खाले विद्यार्थीका लागि मेला उपलब्धीमूलक हुने बताए। 'विदेशमै गएर उच्चशिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई मेलामा विदेशी कलेज, शुल्क, छात्रवृत्तिलगायतका शैक्षिक परामर्श दिइने व्यवस्था छ,' १२ वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा कार्यरत खड्काले नागरिकसँग भने, 'स्वदेशी र विदेशी दुवै डिग्रीका विद्यार्थीसँग रोजाइ हुन्छ। कुन छान्ने उनीहरूको अधिकार हो।'

प्रकाशित: १ भाद्र २०७४ ०३:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App