८ वैशाख २०८१ शनिबार
खेल

शीर्ष तीनमा बुफोन, मेसी र रोनाल्डो

पेरिस- इटालीका भेट्रान गोलकिपर जियानलुइजी बुफोन मंगलबार लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोसँगै २०१६–१७ सिजनको उत्कृष्ट युरोपेली फुटबलर पुरस्कारका लागि युइएफएको शीर्ष तीन मनोनयनमा परेका छन्।

युभेन्ट्सले गत सिजनको च्याम्पियन्स लिगमा फाइनलसम्मको यात्रा तय गर्दा ३९ वर्षे बुफोनको भूमिका महŒवपूर्ण थियो। तर कार्डिफमा सम्पन्न फाइनलमा रोनाल्डोको रियालसँग ४–१ को नतिजामा पराजित भएपछि उनले च्याम्पियन्स लिगको विजेता ट्रफी उचाल्न भने पाएनन्।

च्याम्पियन्स लिग र युरोपा लिगको समूह चरण खेलेका ८० क्लबका प्रशिक्षक र युरोपका ५५ पत्रकारको मतका आधारमा मनोनयन सार्वजनिक गरिएको हो। पाँच पटकका बालन डी अर विजेता मेसी र विश्व वर्ष खेलाडी पोर्चुगलका फरवार्ड रोनाल्डोले अहिलेसम्म दुई/दुई पटक यो उपाधि जितेका छन्।

२०११ मा युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएले सुरु गरेको यो पुरस्कारमा भने फुटबलका अन्य पुरस्कारमा जस्तो यसबीचमा रोनाल्डो र मेसीको दबदबा छैन। स्पेनका मिडफिल्डर आन्द्रियास इनियस्टाले २०१२ मा यो पुरस्कार जितेका थिए। लगत्तैको वर्ष फ्रान्सका विंगर फ्रयांक रिबेरी युरोपको सर्वोत्कृष्ट फुटबलर घोषित भएका थिए।

पछिल्ला चार वर्षमा तीन पटक युरोपियन कप जितेको रियाल मड्रिडबाट मनोनयनको शीर्ष १० मा चार खेलाडी परेका छन्। लुका मोडरिच चौथो स्थानमा रहँदा टोनी क्रुस पाँचौं तथा कप्तान सर्जियो रामोस सातौं स्थानमा छन्।

यसै गरी युभेन्ट्सबाट बुफोनसहित अर्जेन्टिनाका फरवार्ड पाउलो डिबाला पनि शीर्ष १० मा परेका छन्। डिबाला छैटौं स्थानमा छन्। त्यस्तै मोनाकोका उदीयमान किशोर स्टार काइलियान एमबाप्पे, बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोवस्की र म्यानचेस्टर युनाइटेडका पूर्वफरवार्ड ज्लाटान इब्राहिमोभिच पनि शीर्ष १० मा अटाउन सफल भए।

बार्सिलोनाका लागि गत सिजन सबैखाले प्रतियोगितामा गरी ३७ गोल गरेका उरुग्वेका फरवार्ड लुइस स्वारेज र उनका पूर्व टिम सहयात्री ब्राजिली स्टार नेइमार भने शीर्ष १० मा छैनन्। नेइमार हालै मात्र विश्व कीर्तिमानी २२ करोड २० लाख युरोमा बार्सिलोना छोडेर पेरिस सेन्ट जर्मन प्रस्थान गरेका थिए।

प्रकाशित: १ भाद्र २०७४ ०३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App