coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अक्सफामको गोदाममा म्याद गुज्रिएका राहत सामग्री

नुवाकोट –  भूकम्पपीडितलाई राहत वितरण र जीविकोपार्जनमा सहयोग पुर्‍याउन नुवाकोटमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था अक्सफामको गोदाममा रहेका राहत सामग्रीको म्याद गुज्रिएको छ। 

नुवाकोटमा कार्यालय नै राखेर सञ्चालनमा रहेको अक्सफामको बट्टारस्थित गोदामघरमा रहेका मञ्जन, लुगा धुने र नुहाउने साबुन, सिमेन्टलगायतका राहत सामग्रीको म्याद सकिएको भेटिएको हो । जिल्लाका साविक नौ गाविसमा क्रियाशील रहेको संस्थाले भूकम्पपीडितलाई वितरण गर्न र भूकम्पले क्षति पुर्‍याएका खानेपानी आयोजना निर्माण गर्न ल्याएको सिमेन्टको समयमै काम नहुँदा म्याद सकिएको हो। 

अक्सफामले राहत वितरण गर्न तयार बनाएको २०० थान ‘हाइजेनिक किट्स’मा राखिएका साबुन, मञ्जनलगायतका सरसफाइका सामग्रीको म्याद सकिएको छ। ती सामान भूकम्पपछिको पहिरोको कारण विस्थापित भएकालाई वितरण गर्न नुवाकोट ल्याइएको थियो। 

यस्तै, संस्थाको गोदाममा रहेका ११४ बोरा सिमेन्टको म्याद सकिएर काम नलाग्ने भएको अक्सफामका जिल्ला संयोजक अरुण पौडेले स्वीकार गरेका छन्। 

राहत वितरणमा प्रभावकारी काम नगरेको आरोप लाग्दै आएको अक्सफामले भने स्थानीय तहको निर्वाचन र त्यसपछि वर्षा शुरु भएकाले काम गर्न नपाउँदा राहत सामग्रीको म्याद सकिएको दाबी गरेको छ । “चुनावले गर्दा वैशाख महिनाभर काम गर्न पाएनौँ ।”संयोजक पौडेलल भने, “त्यसपछि बर्खायाम शुरु भएकाले लैजानुपर्ने स्थानमा पुर्‍याउन नसक्दा म्याद गएको हो, त्यसलाई नष्ट गर्ने तयारी गरेका छौँ ।”गोदाममा रहेका सामग्रीको लेबल हेर्दा मंसिरदेखि फागुन महिनाभित्र नै म्याद सकिएको पाइएको छ। 

म्याद गुज्रिएका सामग्रीको मूल्य रु तीन लाख हाराहारीमा रहेको संस्थाले जनाए पनि यकिन विवरण बाहिर ल्याएको छैन । राहत सामग्रीको म्याद सकिएको सम्बन्धमा जिल्लाका नियामक निकाय भने बेखबर छन् । रासस

प्रकाशित: १ भाद्र २०७४ ०७:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App