coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

भारतलाई बाँध भत्काउ भन्ने हिम्मत गर्नुपर्छ : गगन थापा

दोस्रो तीज महोत्सव उद्घाटनपछि मन्तव्य राख्दै काँग्रेस नेता गगन थापा । तस्बिरः संगम घर्तिमगर

बाग्लुङ– नेपाली काँग्रेसका नेता गगन थापाले तराई डुबानको समस्या हल गर्न सबै दल र संसद एक ठाउँमा उभिनुपर्ने बताएका छन् । बाग्लुङ उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी विकास समितिले आयोजना गरेको दोस्रो तीज महोत्सवको बिहीबार उद्घाटन गर्दै नेता थापाले राष्ट्रिय समस्याको हल गर्न राष्ट्रिय एकता जरुरी रहेको बताए। 

‘के कति कारणले तराई डुबानमा परेको छ भन्नेबारे सबै गम्भीर हुन जरुरी छ,’ उनले भने, ‘भारतले बनाएको बाँधले नेपाल डुबेको हो भन्ने निश्कर्ष हो भने सबै एक ठाउँमा उभिएर भारतलाई बाँध भत्काउ भन्ने हिम्मत गर्नुपर्छ । यसका लागि राष्ट्रिय एकता आवश्यक छ ।’ पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले चुरे दोहनका कारण अहिले तराईमा बाढी आएको तर्फ पनि सबै सचेत हुनुपर्ने बताए। 

‘तराई डुब्नुमा बाँध त कारण हो नै, चुरेको दोहन पनि अर्को कारण हो,’ थापाले भने,‘चुरे क्षेत्रको संरक्षण हुन नसके हामी शहर निर्माण गरिरहन्छौं । ती शहरहरू डुबिरहन्छन् ।’ नेपालमा आइपर्ने प्राकृतिक विपत्तीहरू केही समयमा भुल्ने बानीले समस्या बल्झिरहेको उनको तर्क थियो । ‘तराई अहिले डुबेको छ, हामीले नेपाली अहिले एक ठाउँमा उभिएको छौं,’ उनले भने,‘केही समय राहत भन्छौं, त्यसपछि समस्या भुल्छौं, यसको विस्तृत अध्ययन गरेर दीर्घकालिन समाधानका लागि संकल्प गर्न जरुरी छ ।’ उनले अहिले सरकार संसद एक ठाउँ भएर देशका लागि सोच्ने बेला भएको बताए । ‘यो राष्ट्रका लागि संकल्प गर्ने बेला हो, अब सबै एक ठाउँ उभिनुपर्छ,’ उनले भने । नेपाललाई स्थायीत्व र विकासका अगाडि बढाउनका लागि आगामी माघ भित्र सबै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने उनको भनाई थियो ।

‘माघभित्र प्रदेश र संसदको चुनाव गर्नुपर्नेछ,’ उनले भने, ‘मंसिर दोस्रो साता एकै पटक दुबै तहको निर्वाचन गर्ने दलहरूबीच सहमतीको भएको छ । त्यसपछि देशको विकासका लागि प्रतिस्पर्धा गर्ने ढोका खुल्छ ।’ नेपाल युवाहरूको देश भएकाले विकास गर्न सहज हुने विचार राखे । ‘नेपालमा अहिले काम गर्न सक्ने युवाहरुको जनसंख्या बढी छ, यो हाम्रो लागि अवसर हो,’ उनले भने,‘तर यो सधैं रहँदैन, त्यसैले हर दिन वैदेशिक रोजगारमा जाने युवालाई यही अडिने वाताबरण बनाउनुपर्छ । अबको १५/२० वर्षमा हामीले देशको विकास गर्न सकेनौं भने कहिल्यै सक्दैनौं ।’ नेपालको ठूलो पुँजीको रुपमा रहेको युवाशक्ति विदेश हुनु नेपालको लागि दुर्भाग्य भएको उनको कथन थियो । 

विदेशबाट आएको रेमिट्यान्सको भरमा देश धानिए पनि विकास नहुने उनले तर्क गरे । ‘यहाँको बारी बाँझो राखेर विदेशबाट पठाएको रेमिट्यान्सको भरमा बाँचेर देशको विकास हुँदैन,’ थापाले भने,’‘यहाँको विकासका लागि यही पसिना बगाउनुपर्छ । रेमिट्यान्स ल्याएर ठूलो घर बनाएर मात्र केही हुँदैन ।’ रेमिट्यान्स उद्यम स्थापना गर्न खर्च गर्नुपर्ने उनले बताए । थापाले नेपाल सलाद जस्तै भएको बताए । ‘नेपाल बहुसांस्कृतिक बहुधार्मिक देश हो, जसरी एउटा थालीमा मूला गाजर, काँक्रो विभिन्न थरिका वस्तुहरू मिलेर सलाद बन्छ नेपाल पनि त्यस्तै बनेको छ,’ उनले भने, ‘समग्रमा हामी नेपाली हौं । त्यस भित्र हाम्रो आ—आफ्नै पहिचान छ ।’ 

 

प्रकाशित: १ भाद्र २०७४ ११:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App