coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाढी प्रभावित क्षेत्रमा बीपीको घुम्ती शिविर

सुनसरीको बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य जाँच गर्दै बीपी प्रतिष्ठानको चिकित्सक टोली । तस्बिर श्रोत : बीपी प्रतिष्ठान

धरान – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले बाढी प्रभावित सुनसरीको दक्षिणी क्षेत्रमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

बाढी पीडितहरूको स्वास्थ्यमा गम्भीर संकट आउनसक्ने भएकोले जनचेतना जगाउन साथै स्वास्थ्य जाँच गर्नको लागि पनि स्वास्थ्यकर्मीहरूको घुम्ती टोली बाढी प्रभावित क्षेत्रमा पठाएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका उपकुलपति डा.राजकुमार रौनियारका अनुसार बुधबारदेखि खटिएको घुम्ती टोलीले शनिबार बाढी प्रभावित क्षेत्रमा शिविर सञ्चालन गर्नेछन । पहिलो दिन सुनसरीको भोक्राहामा घुम्ती शिविर राखेको टोलीले बिहीबार भने अति प्रभावित देवानगञ्ज र कप्तानगञ्जमा शिविरलाई निरन्तरता दिएको थियो । ‘बाढीले प्रभावित क्षेत्रमा विभिन्न रोग र संक्रमण फैलने खतरा हुन्छ, त्यसैले त्यस क्षेत्रमा हाम्रो स्वास्थ्यकर्मीहरूको घुम्ती शिविर पठाएका छाैँ,’ उपकुलपति डा.रौनियारले भने, ‘प्रभावित क्षेत्रमा शनिबारसम्म शिविर जारी रहन्छ ।’ 

प्रतिष्ठानका अनुसार घुम्ती टोलीमा डा. प्रशान्त प्रताप साह, डा. रितेश चौधरी, डा. काश्यप दाहाल, डा. अकशत मिश्र, डा. जितेन्द्र ठाकुर र डा. अन्जु शाक्य छन् । यस्तै, नर्सहरू अम्मल राई र श्रृजना प्रधान छन् भने सहयोगीकोरुपमा राजन कोइराला र खड्ग राउत पनि खटिएका छन् । यस्तै, भोक्राहामा प्रतिष्ठानको फेमेली मेडिशिन विभागका प्रमुख डा. रविन भण्डारीको नेतृत्वमा चिकित्सकहरू डा. दिपक मोक्तान, डा. राजन पौडेल, डा. भुवनेश्वर यादव, डा. शुभम गुप्ता र डा. अन्जना पराजुली तथा नर्सहरू कमला राई र संगिता कोइराला खटिएका थिए । प्रभावित क्षेत्रमा शिविर सञ्चालन गर्नुका साथै विरामीहरूको निःशुल्क जाँच र औषधी पनि वितरण भइरहेको प्रतिष्ठानका सूचना अधिकृत सुजेन्द्र तामाङले जानकारी दिए । यसबाट विरामीहरूलाई ठूलो राहत मिलेको जचाउन आएका विरामीहरूले बताएका छन् ।

बाढी प्रभावित क्षेत्रमा शुद्ध पिउने पानी र खानेकुराको अभावले प्रभावितहरूमा स्वास्थ्य समस्या देखिएको चिकित्सकहरूको भनाई छ । साथै, बाढी प्रभावितहरुमा स्वास्थ्य सम्बन्धी चेतनाको कमीले जण्डिस, झाडापखाला, ज्वरो, रुघाखोकी, वान्ता आउने, रिंगटा लाग्ने र छाला सम्बन्धी रोगका विरामीहरू बढी मात्रामा पाइएको डा. रविन भण्डारीले बताए । उनका अनुसार छाला सम्बन्धी रोग र रुघाखोकीले अधिकांश बालबालिकाहरू ग्रस्त छन् । ‘बाढी प्रभावित मानिसहरूको स्वास्थ्य हरेक किसिमले धेरै जोखिममा छ, त्यसैले महामारी फैलनबाट रोक्न पनि स्वास्थ्य शिविर आवश्यक छ,’ उनले भने । 

 

प्रकाशित: १ भाद्र २०७४ १३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App