८ वैशाख २०८१ शनिबार
समाज

न गास रह्यो न बास

भोकभोकै हनुमानगर–कुनौली बाँधछेउमा त्रिपालमुनि बस्दै आएकी सुत्केरी रेणु मुखिया। तस्बिर : मिथिलेश

तिलाठी  कोइलाडी (सप्तरी)- दुईमहिने शिशु अञ्जली भोकले छटपटिएर चिच्याउँदैछिन्। आमा रेणु मुखिया दूध चुसाएर भोक मेटाउने कोसिसमा भए पनि दूध नआएपछि अञ्जलीको रुवाइ थामिएको छैन। सप्तरी हनुमाननगर–कुनौली बाँधमा आश्रय लिएर त्रिपालमुनि बस्दै आएका बाढीपीडतको अवस्था हो यो।

बाढीको कहरले घरबार बगाएपछि तिलाठी कोइलाडी गाउँपालिका बनरझुला टोलकी सुत्केरी रेणुको परिवारका पाँचजना शनिबारदेखि बाँधछेउमा त्रिपालमुनि ओत लागेर बस्दै आएका छन्। ज्यान जोगाउन भगवान् पुकार्दै आएका विस्थापित भोक मेटाउने राहतको पर्खाइमा छन्। यो त्रिपालमुनि अहिलेसम्म सरकारी राहत पुगेको छैन।

 विस्थापित अधिकांश मजदुरी गरेर गुजारा चलाउने छन्। बाढीले उनीहरूको घरबार मात्र नभई मजदुरीसमेत खोसेको छ। मजदुरी गरेर परिवारको गुजारा चलाउँदै आएका देवकुमार मुखिया (मलाह) ले पीडा पोखे, ‘यो बाढीको विपद्ले हामी गरिबलाई सडकमा ल्याइदियो।’ सडकमा बस्न थालेको पाँच दिन भइसक्यो तर सरकारका मान्छे राहत त परको कुरा हाल बुझ्नसमेत आएनन् '।

 विस्थापित रेणु गुनासो गर्छिन्, ‘गैरसरकारी (व्यक्तिबाट) पाएको मुरही (भुजा) र नुन चपाएर काखेछोरीको प्यास कसरी मेट्नु?’ पाँच दिनदेखि अन्न मुखमा नपरेपछि दूध आउन छोडेको उनले बताइन्। दूध नआएपछि छोरी भोकले छटपटिँदै चिच्याउँछिन्। उनले आँखा रसाउँदै भनिन्, ‘यी अबोधलाई के थाहा हामी विपद्मा परेका छौं?’

 विशाखादेवी मुखिया परिवारको व्यथा पनि उस्तै छ। 'पाँच दिन भयो सरकारी राहत पाउन त के देख्नसमेत पाएका छैनौं,' उनले भनिन्, 'सरकारी राहत (चामल, दाल, चिउरा) यति आयो उति आयो भनेको सुन्छु तर हाम्रो हातमा एक दाना चामल पनि परेको छैन।' उनले थपिन्, ‘सरकार न आफू हाम्रो भोक मेटाउने अन्न दिन्छ न अरूलाई दिन दिन्छ।’ आकाशमा हेलिकोप्टर उडेको आवाज सुनेपछि बस्तीका विस्थापितको मुहार उज्यालिन्छ। तर, केही घन्टा नबित्दै उनीहरूको आसलाग्दो मुहार मुर्झाउँछ।

  विशाखादेवीकी ६ वर्षीया छोरी ज्योतिको विलाप फरक छ। बाढीले भरथेग गर्ने घरसँगै ज्योति पढ्ने किताबकापी सबै बगाइदियो। उनी घरीघरी आमासँग अब केमा लेखपढ गर्ने भन्दै कचकच गर्छिन्। विशाखादेवी भन्छिन्, ‘सन्तापको भारी बोकेर कति दिन जिन्दगी धान्नु? जीवनभर कमाएको घर, अन्न, लत्ताकपडा सबै बगाइदियो। दैनिक मजदुरीबाट पाउने ज्यालाबाट घर ठड्याउनु कि पेट भर्ने अन्न किन्नु?’

  दैवी प्रकोप उद्धार समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले बाढीपीडित सबैलाई राहत प्याकेज ‘ड्राइफुड’ वितरण गरिसकिएको दाबी गरे। उनले थपे, ‘एकपटक होइन दोहोर्‍याएर पनि बाँडिसक्यांै राहत।’

 महिला, बालबालिका र वृद्धवृद्धाको स्वास्थ्यलगायत अन्य समस्या बुझ्न महिला तथा बालबालिका कार्यालयका कर्मचारीलाई परिचालन गरेको दाबी गर्दै पाण्डेले भने, ‘स्वास्थ्य शिविरसमेत बस्तीमै पुर्‍याउने योजना बनाउँदैछौं।’

 अबको राहत (चामल, दाल) समेत स्थानीय तह (गाउँ, नागरपालिका) मार्फत नै बाढीपीडितको घरघरमै पुर्‍याउने उनले बताए।

बालुवाले हरियो खेत सेताम्य

सप्तरीको डुबान क्षेत्र भनेर चिनिने हनुमाननगर, इनर्वा, बरसाइन, सकरपुरा, तिलाठी, कुसहालगायत गाउँ तीनतिरबाट नदीले घेरिएका छन्। उत्तरपूर्व र पश्चिमबाट क्रमशः जिता, खाँडो, महुली र कोसी नदीले घेरिएका छन्, यी गाउँ। यी नदीबाट सिँचाइ नहर बनाइएका छन्।  यी नदीले पानीभन्दा पनि बालुवा धेरै बोकेर ल्याउँछन। चुरे मूल भएका यी नदीबाट यहाँका जनता आक्रान्त छन्। कारण बर्सेनि आइपर्ने एउटै समस्या ‘बाढी’ ले यहाँका गाउँबस्ती मात्र डुबान पर्दैन खेत, खाद्यान्नसमेत डुबाउँछ।

 पहिला यी नदी बस्तीभन्दा गहिरो थियो। यी नदीका पानीले यस क्षेत्रका खेत सिँचाइ हुन्थ्यो। किसान मनग्य खाद्यान्न उब्जनी गर्थे। तर एक दशकयता नदीको प्रकृति फेरिएको साबिक बनरझुला गाविस पूर्वअध्यक्ष धर्मनारायण राय औंल्याउँछन्। उनी भन्छन्, ‘पहिला पानी आउने यी नदी अहिले बालुवा लिएर आउन थाले।’ वन तथा जलाधारबारे किताबी अध्यन नगरेका राय भन्छन्, ‘पछिल्लो दशकमा चुरेमा भएको विनाशलीलाको असर अहिले पानीढलो (मधेस) मा देखिएको छ।’ बर्सेनि बाढीले ल्याउने बालुवाले मधेसका अन्नखेत पुरिँदै गएकाप्रति चिन्तित राय भन्छन्, ‘चुरे संरक्षणमा सरकारी संयन्त्र गम्भीर नहुँदा अन्नको भण्डार मधेसका खेत बगरमा परिणत भइरहेको छ।’

 जिल्ला कृषि कार्यालय सप्तरीका प्रमुख भगीरथ यादवका अनुसार यो बाढीले यहाँका १२ हजार हेक्टरको अन्नबाली नष्ट भएको छ। 'अधिकांश खेत बालुवाले पुरिएको छ,' उनले भने।

प्रकाशित: २ भाद्र २०७४ ०२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App