coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाढीको कहर : पाँच दिनसम्म भोको र अनिँदो

बर्दिया- एकजनासम्म सुत्न नमिल्ने त्रिपालको टहरो। चर्को घामले त्रिपाल तातेका कारण बस्नै नसक्ने गरी अत्यधिक गर्मी छ। पानी पर्नेबित्तिकै त्रिपालबाट चुहिन थाल्छ। पालको टहरो यति साघुँरो छ कि बिस्तरा सार्ने ठाउँसमेत छैन। बचेको ठाउँमा खाने पकाउने समान र चुलो छ। तर, चुलो जलेको  छैन। त्यही टहराभित्र सुत्केरी सोनी मल्लाह शनिबारदेखि ६ महिने शिशु र डेढबर्से बालक मुन्नु सुत्छन्। मल्लाहाका ११ जना परिवारमध्ये अन्य आठजनालाई त्यही त्रिपाल मुनिको बास पनि भाग्यमा छैन।

शिविरमा कति दिन बित्ला? अन्योल भविष्यको चिन्ता लाग्छ,' बनियाँभारका पीडित राजन केसीले भने, 'एक्लै भए बरु मुग्लान पस्दो हुँ, यी कान नसुन्ने आमा, बा, सुत्केरी श्रीमती छोडेर कहाँ जानु?

''हामी अनिँदो भएको पाँच दिन भयो,' सोनीकी सासु रत्नाले दुःखेसो पोखिन्, 'सुत्केरी बुहारीलाई ठाउँ दिन पर्‍यो, हामी आठजना परिवार बाढी आएदेखि भोको र अनिँदो छांै।' 'हामीले यसैगरी कति दिन बिताउ पर्ने हो,' उनले भनिन्। शनिबार बबईमा आएको बाढीले घरखेत बगाएका बाढीपिडितको अवस्था नाजुक बन्दै गएको छ। नेपालगन्ज–गुलरिया सडकखण्डको भादापुल नजिक यस्ता टहरा धेरै छन्। सोही ठाउँका मुराही मल्लाहको अवस्था पनि त्यस्तै छ। ११ जना त्रिपालमुनि पालैपालो सुत्ने गरेको मल्लाहले सुनाए। 'पानी कम भएपछि आफन्तले दिएको खानेकुरा खान थालेका छांै,' उनले भने, 'यतिका दिनसम्म नगरपालिकाले दिएको दुई पोका चाउचाउ र चिउराका भरमा बाँचेका थियौं।'

गुलरिया–५  बालापुरकी कालीदेवी चौधरी बबईको बाढीबाट ज्यान जोगाएर स्थानीय शान्ति प्राविमा शनिबार मध्यरात पुगिन्। उनीजस्तै मध्यरातमा ज्यान जोगाएर विद्यालय पुग्ने तीन सय घरधुरी छन्। पाँचरात छतमा गुजारेका उनीहरूले अहिलेसम्म अन्न चाख्न पाएका छैनन्। बालापुरका ५० घर बाढीले बगाएको छ। दुई सय ५० घरमा बाढीले क्षति पुर्‍याएको छ।

कालीदेवीजस्तै गाउँका सबैले विद्यालयको छतमा गएर ज्यान जोगाए। 'पानी घटेपछि विद्यालय छाड्न भनेका छन्,' अर्का पीडित रामलाल चौधरीले भने, 'घर छैन, अब परिवार लिएर कहाँ जाने भन्ने पिरलो छ।' बबईमा आएको बाढीले चार जनाको ज्यान गएको छ। पाँच हजार विस्थापित भएका छन्। विद्यालय, सामुदायिक भवन र सडकमा आश्रयस्थलमा बसेका बाढीपीडितलाई त्रिपालको व्यवस्था हुन सकेको छैन। यसले केही विस्थापीत आफन्तकहाँ शरण लिएका छन्।

'शिविरमा कति दिन बित्ला? अन्योल भविष्यको चिन्ता लाग्छ,' बनियाँभारका पीडित राजन केसीले भने, 'एक्लै भए बरु मुग्लान पस्दो हुँ, यी कान नसुन्ने आमा, बा, सुत्केरी श्रीमती छोडेर कहाँ जानु?'

आफन्त र सार्वजनिक स्थलमा आश्रय लिएका उनीहरूलाई घरको न्यास्रो लाग्न थालेको छ। कहाँ जाऊँ र के गरौंको चिन्ताले पिरोलिएका छन्। थातथलो बगेर गए पनि बाँचेकालाई घामपानीबाट ओत लाग्ने ठाउँ चाहिएको छ। 'हामीलाई थाहा छ, दैवको लीला सम्झन्छौं', उनले भने, 'केटाकेटीले घर जाम भन्दा आँखाबाट आँसु झर्छ।'

बबईमा पानी घटेपछि दैवी प्रकोप उद्धार समितिले एकद्वार प्रणालीमार्फत बिहीबारदेखि राहत वितरण सुरु गरेको छ। थपुवा, कोठिया, सुरजपुर, खैरीमा हेफर इन्टरनेसनलको सहयोगमा स्थानीय सहकारीमार्फत प्रतिपरिवार १० केजी चामल, साढे दुई लिटर तेल, एक पोका नुन पठाइएको छ। हेफरका कर्मचारी शोभाकान्त पौडेलले राहत वितरण गरेको बताए। उद्योग वाणिज्य संघले तीन लाख बराबरको खाद्यान्न उपलब्ध गराएको गुलरिया उद्योग वाणिज्य संघका अध्यक्ष अमर खड्काले बताए।

राहत वितरण सुरु भए पनि कतिपय परिवारसँग एकसरो लुगा मात्र छ। 'चामल दिन थालेका छन्। तर हामीसँग पकाउन भाँडा नै छैन,' रामबहादुर चौधरी भन्छन्। बाढीबाट १३ हजार तीन सय ६२ घरधुरीका ७४ हजार तीन सय २७ घरपरिवार प्रभावित भएको तथ्यांक छ।

बाढीले पाँचवटा नगरपालिका क्षति पुर्‍याएको छ। सदरमुकाम गुलरिया नगरपालिका सबैभन्दा बाढी प्रभावित छ। बाढीबाट विस्थापित भएका परिवार गुलरिया, ठाकुरबाबा, बारबर्दिया, मधुवन र राजापुर नगरपालिकाका सामुदायिक विद्यालय, सरकारी कार्यालय, सामुदायिक भवन र सडक किनारमा अस्थायी शिविर बनाएर बसिरहेका छन्।

बाढीले धान, मकै, तिललगायतका खाद्यान्न बाली र माछापोखरी पुरिदिएको जिल्ला कृषि विकास कार्यालय जनाएको छ। पानी पर्न रोकिएपछि बाढीपीडित परिवार सामान्य अवस्थामा फर्कन थालेको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले वताए। 'पानी पर्दा आश्रयस्थलमा आए पनि अन्य बेला घर समाल्न फर्कने गरेका छन्,' उनले भने।

यसैबीच सामूहिक बसोबासले सरुवा संक्रमण बढेको छ। उच्च ज्वरो, झाडापखालाका बिरामी बढेका छन्। खानेपानी अशुद्ध खाएकाले समस्या भएको गुलरिया–५ की जनप्रतिनिधि कालीदेवी चौधरीले बताइन्। 'सामूहिक बसाइमा कतिपय सरुवा रोग त्यतिकै फैलिन्छ,' उनले भनिन्।

४८ वटा विद्यालय ठप्प

बबईमा आएको बाढीले क्षति पुगेका ४८ वटा विद्यालयमा पठनपाठन ठप्प छ। पाँचवटा नगरपालिकाका अधिकांश विद्यार्थी बाढीबाट प्रभावित भएका छन्। बबई बाढीबाट आश्रयस्थल बनाएका अधिकांश विद्यालय सञ्चालन हुन सकेका छैनन्। विद्यार्थीसँग किताब नहुँदा विद्यालय जान सकेका छैनन्। विद्यालयमा सरसफाइ गर्न थालेकाले पढाइ नभएको छत्रपाल मेवालाल प्रधानाध्यापक श्याम झाले बताए। 'विद्यालय बाढीले क्षति नपुर्‍याए पनि बाढी पसेको थियो,' उनले भने, 'घाम लाग्नेबित्तिकै पढाइ सञ्चालन हुन्छ तर विद्यार्थीसँग किताब छैन।' कतिपय विद्यालय पुनर्निर्माण गरिदिन सम्बन्धित निकायमा पहल गरिरहेका कारण विद्यार्थी पढाइबाट वञ्चित भएका छन्।

प्रकाशित: २ भाद्र २०७४ ०२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App