८ वैशाख २०८१ शनिबार
समाज

राहत वितरण र उद्धारमा धुर्मुस

बाढीपीडित मुसहर बस्तीमा चलाइएको स्वास्थ्य शिविरमा स्थानीयलाई सहजीकरण गर्दै धुर्मुस।

सर्लाही- हास्य कलाकार एवं धुर्मुस-सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल 'धुर्मुस'ले बिहीबार जिल्लाको लालबन्दीस्थित बाढीपीडित मुसहर बस्तीमा राहत वितरण गरेका छन्। राहत वितरणसँगै धुर्मुसले आगोले पोलेर छ महिनादेखि सख्त घाइते एक मुसहर महिलाको उपचारका लागि व्यवस्थासमेत मिलाइदिएका छन्।

होटल व्यवसायी संघ सर्लाहीको संयोजनमा फाउन्डेसनका अध्यक्ष धुर्मुसले लालबन्दी नगरपालिका-५ स्थित सुकुमबासी बस्तीका २७ घर मुसहर परिवारलाई राहत सामग्री वितरण गरेका हुन्। मुसहरलाई चामल, चिउरा, चाउचाउ, दालमोठलगायतका खाद्यान्न दिनुका साथै स्वास्थ्य परीक्षण गरी आवश्यक औषधिसमेत प्रदान गरिएको धुर्मुसले बताए।

आफूलाई हास्यकलाकारका रूपमा मुलुकभर चिनाउन मद्दत गर्ने नेपाली दाजुभाइदिदीबहिनी डुबानमा परेर दुःख परेका बेला थोरै भए पनि सहयोग गर्न मुसहर बस्तीमा राहत लिएर आएको उनले बताए। केही दिनअघिको अविरल वर्षापछि बेतिनी दहमा आएको बाढी गाउँ पस्दा रञ्जितपुरको मुसहर बस्ती डुबानमा परेको थियो।

राहत वितरणकै क्रममा सोही टोलमा आगोले पोलेर सख्त घाइते भएकी एक महिलालाई देखेपछि धुर्मुसले उपचारका लागि सँगै लिएर गएका छन्। गत पुसमा आगोले जलेर गम्भीर घाइते भएकी रामप्रित माझीकी पत्नी रत्नीदेवी माझीलाई धुर्मुसले उपचारका लागि महोत्तरीको बर्दिबासस्थित जनसेवा अस्पतालमा लगेका हुन्।

'उहाँको साह्रै बिजोग रहेछ', धुर्मुसले भने, 'बर्दिबासको जनसेवामा उपचार सुरु गछर्ौं र त्यहाँ नहुने भए काठमाडौं नै पठाउँछौं।' आर्थिक अभावमा उपचार हुन नसकेको अवस्थामा धुर्मुसले घरमै आएर उपचारका लागि लिएर हिँडेपछि रत्नीदेवीले खुसी प्रकट गरिन्। उनको दायाँ खुट्टाको अधिकांश भागसहित शरीरका अन्य भागमा समेत आगोले पोलेर घाउ भएको छ।

होटल व्यवसायी संघ नेपालका प्रदेश नं. २ का संयोजक हीरा गौतम, सर्लाही अध्यक्ष हीराकाजी योञ्जनले मुसहर बस्तीमा राहत वितरण एवं घाइते महिलाको उपचारको व्यवस्था गरेकामा धुर्मुसप्रति आभार प्रकट गरे।

प्रकाशित: २ भाद्र २०७४ ०२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App