coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

भूकम्पको कथामा 'नीरफूल'

काठमाडौं- बिनासकारी भूकम्पपछि छिन्नभिन्न बनेको एक परिवारको कथालाई प्रस्तुत गरेर फिल्म 'नीरफूल' निर्माण गरिएको छ। सर्ट फिल्म 'सेलफोन' बनाएका सञ्चारकर्मी तथा निर्देशक फूलमान बलको ठूलो पर्दामा डेब्यु निर्देशन रहेको फिल्मले भूकम्पपछिको सामाजिक अवस्थालाई पनि चित्रण गरेको छ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फिल्मका निर्देशक बलले नेपालमा भूकम्प गएपछि फिल्म निर्माणको सोच आएको खुलाए। 'मैले एउटा पत्रिकामा भूकम्पपछि एक बालिकाले भोगेको व्यथालाई पढेको थिएँ। त्यो समाचारले मलाई छोयो,' फिल्मको कथा, गीत र पटकथाकारसमेत रहेका उनले भने, 'भूकम्पपछि छिन्नभिन्न बनेको परिवारले पुनर्मिलनको लागि गरेको संघर्षलाई फिल्ममा प्रस्तुत गरेका छौं।' उनले राज्य प्रणालीको भ्रष्टता र प्राकृतिक विपत्तिले मानवीय संवेदनामा पारेको क्षयीकरणलाई पनि फिल्ममा देखाइने खुलाए।

अभिनेता दयाहाङ राईले आफू एक छोरीको अभिभावकका रूपमा फिल्ममा देखिने बताए। 'मलाई पत्रकारहरूबाटै धेरै फिल्म खेल्छ भन्ने आरोप छ। तर, पत्रकारले नै निर्देशन गरेको चारवटा फिल्ममा काम गरेको रहेछु,' दयाहाङले भने, 'नीरफूल सरल र सामान्य घटनामा बनेको असामान्य फिल्म हो।' उनले तामाङ र नेपाली भाषा बराबर रहेको फिल्ममा भाषागत शुद्धताका लागि आफूले निकै मेहनत गरेको उनले बताए।

अभिनेत्री रेखा थापाले भूकम्पपछिको विषयमा निर्माण गरिएको कथाले आफूलाई फिल्ममा काम गर्न उत्साहित बनाएको बताइन्। 'म आफंै पनि भूकम्पपछि धेरै ठाउँमा राहत बाँड्नका लागि पुगेको थिएँ,' रेखाले भनिन्, 'वास्तविक कथामा बनेको हुनाले पनि फिल्ममा काम गर्नका लागि तयार भएको हुँ।'

सेलो प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा रेखा र दयाहाङसँगै शान्ति वाइवा, जिग्मे छ्योइकी घिसिङ, पुष्कर गुरुङ, बुद्धि तामाङ, सरोज अर्याल, राजन खतिवडा, सरिता गिरी, लक्ष्मी बर्देवा, जीवन बराल, सुरेश चन्द, रमेश रञ्जन झा, मानस राज, कृष्णभक्त महर्जन, अनिता ताम्राकार, रोशन फ्युबा, निरज कार्की, सन्तोष तामाङलगायतको अभिनय छ।

डोमा सोनाम कार्यकारी निर्माता रहेको फिल्ममा माया केसी, चन्द्रमाया तामाङ, दीपक श्रेष्ठ, उदय लामा र निदेश लम्ती मगर निर्माता छन्। 'नीरफूल'मा फूलमान र सचिन घिमिरेको पटकथा, अर्जुन पोखरेलको संगीत, कुमार महर्जनको द्वन्द्व र प्रमोद कार्कीको छायांकन छ। फिल्मको छायांकन, धादिङ र गणेश हिमालको फेदी रुबी भ्यालीमा गरिएको छ।

प्रकाशित: २ भाद्र २०७४ ०४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App