coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

उपत्यकाका कुन नगर कति धनी?

हिमाल लम्साल/शिवहरि घिमिरे
अहिलेकै अवस्थामा उपत्यकाका स्थानीय तह आन्तरिक स्रोतबाट मात्र चल्न नसक्ने देखिएको छ। 
उपत्यकाका सबैजसो स्थानीय तहले केन्द्रबाट ठूलो अनुदान पाइरहेकाले अहिलेकै अवस्थामा उनीहरूको खर्च आन्तरिक स्रोतले नधान्ने देखिएको हो।

उपत्यकाका स्थानीय तहले घर–जग्गा, घरबहाल र व्यावसायिक कर तथा पर्यटन एवं वातावरण शुल्क लगायतबाट आन्तरिक आम्दानी गर्दै आएका छन्। 

उपत्यकाका अधिकांश स्थानीय तहको बजेटमा ५० प्रतिशत केन्द्रीय अनुदान हुने गरेको छ। केही स्थानीय तहमा त आन्तरिक आम्दानीभन्दा केन्द्रीय अनुदान बढी आउने गरेको छ। 
स्थानीय तहको आम्दानी बढिरहेको भए पनि त्यसले खर्च धान्ने अवस्था भने अझै आइनसकेको उनीहरूकै तथ्यांकले देखाउँछ। गत आर्थिक वर्षमा काठमाडौं र ललितपुरका स्थानीय तहले ठूलो मात्रामा केन्द्रीय अनुदानबाट खर्च चलाएको देखिन्छ।
उपत्यकाका स्थानीय तहले घर–जग्गा, घरबहाल र व्यावसायिक कर तथा पर्यटन एवं वातावरण शुल्क लगायतबाट आन्तरिक आम्दानी गर्दै आएका छन्। उपत्यकाका स्थानीय तहले घर–जग्गा, घरबहाल र व्यवसायी कर तथा पर्यटन एवं वातावरण शुल्क लगायतबाट आन्तरिक आम्दानी गर्दै आएका छन्। 
आम्दानीका आधारमा काठमाडौं र ललितपुरका १४ नगरपालिकामध्ये काठमाडौं महानगरपालिका सबैभन्दा धनी छ। नगरपालिकामध्ये सबैभन्दा कम आम्दानी हुने दक्षिणकाली हो। 
 

काठमाडौं महानगरपालिका  
कामनपाको आर्थिक वर्ष ०७३/७४ को कुल बजेट तीन अर्ब आठ करोड ३० लाख ५२ हजार आठ सय ८३ रुपैयाँ थियो। त्यसमध्ये उसले केन्द्रीय अनुदान एक अर्ब २४ करोड ४४ लाख ५१ हजार नौ सय ५१ रुपैयाँ पाएको थियो।
महानगरपालिकाले सबैभन्दा धेरै घर–जग्गा करबाट ७२ करोड ८७ लाख ८५ लाख आठ सय ३० रुपैयाँ आम्दानी गरेको छ। यस आधारमा महानगरलाई आफ्नै आयस्रोतबाट सञ्चालन हुन कठिन देखिन्छ। कामनपाले घर–जग्गा, घरबहाल, व्यवसायी लगायत कर र नक्सापास दस्तुरबाट मुख्य आम्दानी गर्दै आएको राजस्व महाशाखा प्रमुख महेश्ा काफ्लेले बताए। 
महानगरले चालू आर्थिक वर्षका लागि १२ अर्ब ७८ करोड ८९ लाख ४७ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ। त्यसमध्ये आफ्नै स्रोतबाट ६ अर्ब ४८ करोड ७६ लाख ५३ हजार चार सय ३५ रुपैयाँ आम्दानी गर्ने अनुमान छ। यस वर्ष केन्द्रीय अनुदान तीन अर्ब ७८ करोड ६४ लाख ५४ हजार रुपैयाँ आउने अपेक्षा छ। अरु रकम गत वर्षको बचत र अन्य सम्भाव्य स्रोतबाट परिचालन गरिने महानगरले जनाएको छ।
 

ललितपुर महानगरपालिका 
ललितपुर महानगरपालिकाको गत आर्थिक वर्षको बजेट कुल एक अर्ब २१ करोड रुपैयाँ बराबर थियो। त्यसमध्ये आन्तरिक आम्दानी ३७ करोड १८ लाख थियो भने केन्द्रीय अनुदान ७३ करोड २५ लाख २३ हजार रुपैयाँ थियो। त्यसबाहेक अन्य स्रोतबाट १० करोड ५१ लाख २३ हजार रुपैयाँ आम्दानी भएको महानगरले जनाएको छ। 
गत वर्ष आन्तरिक आम्दानीअन्तर्गत ३३ करोडको लक्ष्य राखेको महानगरले २० प्रतिशत बढी राजस्व संकलन गरेको राजस्व महाशाखा प्रमुख डिल्लीराज शाक्यले जानकारी दिए। चालू आर्थिक वर्षमा ललितपुरले तीन अर्ब २२ करोड रुपैयाँको बजेट ल्याएको छ। त्यसमध्ये आन्तरिक आम्दानीको लक्ष्य एक अर्ब २० करोड रुपैयाँ छ। बाँकी रकम केन्द्रीय अनुदान तथा गैरसरकारी संस्थाबाट जुटाइने छ। 
 

चन्द्रागिरि नगरपालिका
चन्द्रागिरि नगरपालिकाको आव ०७३/७४ को बजेट १५ करोड ७५ लाख रुपैयाँ थियो। त्यसमध्ये केन्द्रीय अनुदान सात करोड रुपैयाँ थियो। नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद जैसीका अनुसार नगरपालिकाको आन्तरिक आम्दानी बढ्दै गएको छ। 'नगर क्षेत्रमा पर्यटकीय र औद्योगिक क्षेत्र भएकाले स्थानीय आयस्रोत वृद्धि भइरहेको छ,' उनले भने, 'राजस्व संकलन बढिरहेको छ।'
नगरपालिकाको मुख्य आयस्रोत घर–जग्गा र घरबहाल कर एवं नक्सापास दस्तुर तथा पर्यटक शुल्कलगायत हुन्। चन्द्रागिरिले चालू आर्थिक वर्षका लागि ७० करोड बराबरको बजेट विनियोजन गरेको छ। त्यसमध्ये केन्द्रीय अनुदान ४१ करोड ३३ लाख आउने अपेक्षा छ। 
 

टोखा नगरपालिका
टोखा नगरपालिकाको गत आवको बजेट करिब २५ करोड रुपैयाँ थियो। त्यसमध्ये १४ करोड रुपैयाँ केन्द्रीय अनुदान प्राप्त भयो।  
कार्यकारी अधिकृत नवराज ढुंगानाका अनुसार घरजग्गा, व्यवसायिक कर तथा नक्सापास दस्तुर नगरपालिकाको आम्दानी स्रोत हुन्। चालू आवका लागि नगरपालिकाले ६५ करोडको बजेट विनियोजन गरेको छ। त्यसमध्ये २९ करोड ५१ लाख रुपैयाँबराबर केन्द्रबाट अनुदान आउनेछ। 'अहिलेसम्म बजेटका लागि केन्द्रकै मुख ताक्नुपर्ने बाध्यता छ,' उनले भने, 'स्थानीय तह अधिकारसम्पन्न नहुन्जेल केन्द्रकै भरमा चल्नुपर्ने देखिन्छ।' 
 

कागेश्वरी मनहरा नगरपालिका
कागेश्वरी मनहरा नगरपालिकाको गत आवको बजेट करिब २८ करोड रुपैयाँ थियो। त्यसमध्ये करिब १० करोड रुपैयाँ मात्र स्थानीय स्रोतको आम्दानी हो। 
लेखाअधिकृत गणेशप्रसाद गुरागाईंले केन्द्रबाट नौ करोड ६० लाख रुपैयाँ अनुदान आएको बताए। गत वर्ष आठ करोड ३४ लाख रुपैयाँ अघिल्लो वर्षको बचत रकम सरेको थियो। चालू आवका लागि नगरपालिकाले ६६ करोड १२ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ। त्यसमध्ये केन्द्रीय अनुदान ३४ करोड ५३ लाख ७० हजार रुपैयाँ आउनेछ। स्थानीय स्रोतबाट करिब २४ करोड रुपैयाँ आम्दानीको लक्ष्य छ। यस वर्ष राजस्वबाट १० करोड ६८ लाख ५० हजार, राजस्व बाडफाँडबाट तीन करोड ९० लाख अन्य स्रोतबाट ११ करोड ९३ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य छ। 'स्थानीय तह आफ्नै स्रोतबाट धान्ने अवस्था छैन, केही समय केन्द्रकै भरमा चल्नुपर्ने अवस्था छ,' उनले भने, 'स्थानीय तह अधिकार सम्पन्न भए मात्रै आत्मनिर्भर बन्न सक्छन्।'
 

शंखरापुर नगरपालिका 
शंखरापुर नगरपालिकाको गत आवको कुल बजेट ११ करोड रुपैयाँ थियो। त्यसमध्ये आन्तरिक स्रोतको आम्दानी साढे चार करोड र केन्द्रीय अनुदान तीन करोड रुपैयाँ थियो। अन्य आम्दानी भने अघिल्ला वर्षको कार्यक्रमका बाँकी रकमबाट व्यवस्थापन गरिएको हो। 
नगरपालिकाले यस वर्ष ३९ करोड रुपैयाँको बजेट विनियोजन गरेको नगरप्रमुख सुवर्ण श्रेष्ठले जानकारी दिए। त्यसमध्ये केन्द्रीय अनुदान २५ करोड आउने अनुमान छ। 'पूर्वाधारबिना नगरपालिका घोषणा गरिएकाले स्थानीय तह आत्मनिर्भर हुन सकेका छैनन्,' उनले भने, 'केन्द्रकै निर्देशन र गाइडलाइन अनुसार नै चल्नुपर्ने बाध्यता छ।'
 

गोकर्णेश्वर नगरपालिका 
गोकर्णेश्वर नगरपालिकाको गत वर्षको बजेट २२ करोड रुपैयाँ थियो। त्यसमध्ये केन्द्रीय अनुदान आठ करोड रुपैयाँ थियो। नगरप्रमुख सन्तोष चालिसेका अनुसार चालू आवका लागि ६५ करोड ९४ लाख रुपैयाँको बजेट विनियोजन भएको छ। त्यसमध्ये १८ करोड रुपैयाँ आन्तरिक स्रोतबाट आम्दानी गर्ने लक्ष्य छ। 
 

दक्षिणकाली नगरपालिका
काठमाडौंमा दक्षिणकाली नगरपालिका सबैभन्दा कम आम्दानी गर्नेमा परेको छ। गत आवमा दक्षिणकालीको बजेट चार करोड ८० लाख रुपैयाँ थियो। त्यसमध्ये चार करोड रुपैयाँ केन्द्रीय अनुदान नै थियो। 
चालू आवमा नगरपालिकाले २८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। त्यसमध्ये केन्द्रीय अनुदान २२ करोड ६६ लाख रुपैयाँ आउनेछ। आन्तरिक स्रोतबाट भने एक करोड २३ लाख आम्दानी हुने लक्ष्य छ। नगरपालिकाका लेखाअधिकृत विष्णुबहादुर केसीका अनुसार पूर्वाधार नबनाई नगरपालिका घोषणा भएकाले अन्य नगरपालिकाको तुलनामा न्यून आम्दानी भएको हो। 
'यो नगरपालिका ग्रामीण क्षेत्रमा पर्छ, पर्याप्त आम्दानीका स्रोत छैनन्,' उनले भने, 'सबैलाई करको दायरामा ल्याउन जुटेका छौँ, थोरै कर लगाएर सबैसँग उठाउने रणनीति अपनाउन लागेका छौँ।' 
कीर्तिपुर नगरपालिका
कीर्तिपुर नगरपालिकाको गत आवको कुल बजेट २८ करोड ५७ लाख ३५ हजार एक सय २९ रुपैयाँ थियो। त्यसमध्ये आन्तरिक स्रोतमा आठ करोड २१ लाख ९५ हजार एक सय १० रुपैयाँ जुटाइएको थियो। केन्द्रीय अनुदानबाट भने २० करोड ३५ लाख ४२ हजार १९ रुपैयाँ थियो।
कीर्तिपुर नगरपालिकाले चालू आवका लागि ७९ करोड ५६ लाख १४ हजारको बजेट विनियोजित गरेको छ। त्यसमध्ये आन्तरिक स्रोतबाट १३ करोड रुपैयाँ र केन्द्रीय अनुदानबापत २९ करोड रुपैयाँ अपेक्षा गरिएको छ। अरु रकम भने जिल्ला समन्वय समिति र प्रदेशबाट जुट्ने नगरपालिकाका लेखाअधिकृत सानुबाबु परियारले बताए। 
 

तारकेश्वर नगरपालिका
तारकेश्वर नगरपालिकाको गत आवको बजेट २४ करोड २७ लाख ४५ हजार रुपैयाँ थियो। त्यसमध्ये १० करोड ९५ लाख रुपैयाँ आन्तरिक स्रोतबाट जुटेको थियो भने केन्द्रीय अनुदान १४ करोड ३२ लाख रुपैयाँ थियो। 
नगरपालिकाको चालू आवको बजेट ६८ करोड ७९ लाख ६२ हजार रुपैयाँ रहेको छ। त्यसमध्ये केन्द्रीय अनुदान ४२ करोड २५ लाख ६९ हजार रुपैयाँ हुनेछ। 
 

नार्गाजुन नगरपालिका
नार्गाजुन नगरपालिकाको गत आवको बजेट २१ करोड रुपैयाँ थियो। जसमध्ये नौ करोड केन्द्रीय अनुदानबाट प्राप्त भएको थियो। आन्तरिक स्रोतबाट १२ करोड रुपैयाँ आम्दानी भयो। चालू आवमा नार्गाजुन नगरपालिकाले ६४ करोडको बजेट विनियोजन गरेको छ। त्यसमध्ये १५ करोड स्थानीय स्रोतबाट उठाइनेछ, ३५ करोड रुपैयाँ केन्द्रीय अनुदानबाट आउनेछ। बाँकी रकम प्रदेशबाट आउने कार्यकारी अधिकृत लक्ष्मी गौतमले बताइन्। 
 

बूढानीलकण्ठ नगरपालिका
बूढानीलकण्ठ नगरपालिकालको गत आवको बजेट करिब ३० करोड ७१ लाख रुपैयाँ थियो। त्यसमध्ये आन्तरिक स्रोतबाट १४ करोड ७० लाख ६८ हजार आठ सय ५२ रुपैयाँ आम्दानी भएको थियो भने केन्द्रीय अनुदान १६ करोड ११ लाख रुपैयाँ आएको लेखाअधिकृत कमलद्दिन मियाँले जानकारी दिए। नगरपालिकाको चालू आवको बजेट करिब ५५ करोड रुपैयाँ रहेको छ। त्यसमध्ये १५ करोड रुपैयाँ मात्रै स्थानीय स्रोतबाट र ४० करोड केन्द्रीय अनुदान आउने अपेक्षा गरिएको छ। 

 

गोदावरी नगरपालिका 
गोदावरी नगपालिकासँग साबिकको कार्यविनायक नगरपालिका गाभिएका कारण गत वर्षको आम्दानीको तथ्यांक संकलन भइरहेको कार्यकारी अधिकृत टेकराज पन्थीले बताए। उनले नगरपालिकाको यो वर्षको अनुमानित बजेट ५७ करोड ७२ लाख ३३ हजार रुपैयाँ रहेको जानकारी दिए। त्यसमध्ये केन्द्रीय अनुदान ९ करोड सात लाख हुने अनुमान छ। 
महालक्ष्मी नगरपालिका
महालक्ष्मी नगरपालिका चालू आवको बजेट ४० करोड रुपैयाँ रहेको छ। त्यसमध्ये केन्द्रीय अनुदान ३० करोड र आन्तरिक आम्दानी १० करोड रुपैयाँ हुने अनुमान छ। नगरप्रमुख रामेश्वर श्रेष्ठका अनुसार गत वर्षको तथ्यांक भने तयार भइरहेको छ। 
यो नगरपालिकामा साबिकको गोदावरी नगरपालिका केही वडा गाभिएकाले गत वर्षको आम्दानी विवरण उपलब्ध नभएको हो। 
 

'तत्कालै आत्मनिर्भर हुँदैनन्' 
स्थानीय तह पुनर्संरचनाका लागि गठित गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगका अध्यक्ष बालानन्द पौडेल स्थानीय तह तत्कालै आत्मनिर्भर हुन नसक्ने बताउँछन्। 
'ठूलो राजस्व उठाउने जिम्मा अझैसम्म स्थानीय तहलाई दिइएको छैन, त्यसले उनीहरू केही समयसम्म संघ र प्रदेश सरकारमा निर्भर हुनुपर्ने देखिन्छ,' पौडेलले भने। उनले संविधानमै संघ तथा प्रदेश सरकारले स्थानीय तहलाई अनुदान दिनुपर्ने प्रावधान भएको जानकारी दिए। पौडेलका अनुसार स्थानीय तहलाई अधिकार सम्पन्न बनाएर करको दायरा बढाउन सके मात्र उनीहरूको आम्दानीको स्रोत बढाउन सकिन्छ। 

प्रकाशित: २ भाद्र २०७४ ०५:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App