coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सपनाको सहर : 'पाइलैपिच्छे समस्या छन्'

श्वेता खड्का, अभिनेत्री

तपाईंलाई कस्तो सहर मनपर्छ?

मलाई शान्त, हरियालीयुक्त, सफा र व्यवस्थित सहर मनपर्छ। सहरवासीले खोज्ने सुविधा पनि यिनै हुन्।

हाम्रा सहर व्यवस्थित छन् त?

हाम्रा सहर व्यवस्थित छैनन्। सत्तामा बस्नेले सहर बनाउन ध्यान दिएनन्। केही महिनाअघि म चीनको बेजिङ गएकी थिएँ। त्यहाँ बाटोमा खसेका पात पनि जसले देख्यो, उसैले टिप्ने रहेछन्। सहर सफा राख्न नागरिक पनि जिम्मेवार छन्। हाम्रोमा भने सबैको मनपरी चल्छ।

मिलेका भवन होऊन्, वरिपरि हरियाली देखियोस्। आफू बसेको ठाउँनजिकै सबै सुविधा पाइयोस्। सडक सफा होस्, ठाउँठाउँमा ट्राफिक चिह्न होऊन्। नत्र त सहरमा बसेको महसुस समेत हुँदैन नि!

काठमाडौं उपत्यका कस्तो लाग्छ?

मेरो जन्मथलो नै काठमाडौं हो। आफू जन्मेको ठाउँ र सेवा–सुविधा हेर्दा उपत्यका राम्रै लाग्छ। यहाँको अव्यवस्थित संरचना, धुवाँ–धुलो, निर्माणाधीन सडक र यी सबैले उत्पन्न भीडभाड हेर्दा उपत्यका भद्रगोल लाग्छ। भएभरका समस्या अहिले काठमाडौंवासीले भोग्नुपरेको छ। यहाँ पाइलैपिच्छे समस्या छन्। धराप सडक, खानेपानीको हाहाकार, पार्किङको अभाव, ट्राफिक जाम, प्रदूषणलगायत पक्षलाई हेर्दा सहरमा बसेजस्तो लाग्दैन। हामीले सुविधा खोज्ने नाममा सहरमा आएर दुःख पाएका छौँ जस्तो लाग्छ। 

काठमाडौं सुधार्न के गर्नुपर्ला?

सरकारको काम गर्ने शैली सुस्त भएकाले सहरको समस्या छिटै समाधान हुन नसकेका हो । यहाँ जति पनि विकास–निर्माणका काम छन्, ती सबै एकचौटि थाल्ने र जताततै भद्रगोल सिर्जना गर्ने गरिन्छ। यो एकदमै नकारात्मक शैली हो। यसले सहर कुरूप देखिन्छ। एउटा योजना सकेपछि मात्रै अर्को काम थाल्ने हो भने सबै समस्या एकैपल्ट देखापर्ने थिएनन्। सडक विस्तार, खानेपानी व्यवस्थापन लगायत कामलाई तीव्र गतिमा अघि बढाउन आवश्यक छ। सहरमा सरकार मात्रै होइन, नागरिक पनि जोडिन्छन्। नागरिकले पनि आफ्नो कर्तव्य निभाउने र राज्यलाई घच्घच्याउने हो भने विकास अघि बढ्छ।

उपत्यकाको मन पर्ने पक्ष के हो?

उपत्यकाको मनपर्ने पक्ष हावापानी, तापक्रम, पुराना सम्पदा, मठ–मन्दिर, नजिकका हरिया डाँडाकाँडालगायत हुन्। उपत्यकाको अर्को राम्रो पक्ष सेवा–सुविधा सहजै पाइनु पनि हो।

काठमाडौंको मननपर्ने पक्ष के हो?

मननपर्ने पक्ष धुवाँधुलो, ट्राफिक जाम, अव्यवस्थित पार्किङलगायत हुन्। यी समस्या सम्झँदा दिक्दार लाग्छ।

आफ्नो सपनाको सहर कस्तो होस् भन्ने लाग्छ?

मिलेका भवन होऊन्, वरिपरि हरियाली देखियोस्। आफू बसेको ठाउँनजिकै सबै सुविधा पाइयोस्। सडक सफा होस्, ठाउँठाउँमा ट्राफिक चिह्न होऊन्। नत्र त सहरमा बसेको महसुस समेत हुँदैन नि!

हाम्रा सहर किन अव्यवस्थित भएका होलान्?

यहाँ भएका नीति लागू गरिएनन्। विकासको नीति पनि पुरानो छ। समयअनुसार परिमार्जन भएन। यहाँ भवन निर्माणमा मनपरी छ। म केही समयअघि इजरायल गएकी थिएँ, त्यहाँ सबै घरको उचाई र रङ एउटै थियो। हामीले पनि यसलाई ख्याल राख्ने हो भने सहर राम्रो हुन्छ।

पछिल्लोपटक कुन सहर घुम्नुभयो?

पछिल्लो समय माल्दिभ्स र इन्डोनेसियाका केही सहर घुमेकी थिएँ। पहिलोचोटि घुमेकाले सहरको नाम याद गर्न सकिनँ।

मनपर्‍यो कि परेन त?

असाध्यै मनपर्‍यो। यी देशका सहर घुम्दा अनुपम दृश्य देख्न पाएँ। एकैनासका घर, फराकिलो सडक र सेवा–सुविधाले ती सहर राम्रा छन्।

विदेशका कुन–कुन सहर घुम्नुभएको छ?

मैले चीनको बेइजिङ, अमेरिकाको वासिंटन डिसी, सिंगापुर, अस्ट्रेलियाको मेलबर्नलगायत धेरै सहर घुमेकी छु। यी सहरमा देखिने दृश्यले मन लोभ्यायो। मौलिकतालाई ध्यान दिएर सहरको विकास गरिएकाले यी सहर सुन्दर छन्।

उतातिर घुमेर नेपाल फर्कंदा कस्तो लाग्छ?

एक–दुई दिन त निकै गाह्रो हुन्छ। सबैतिर फोहोर मात्रै देखिन्छ। आफ्नो देश भनेपछि जस्तो भए पनि माया लाग्छ। विदेशी सहरको सुन्दरता बिस्तारै भुल्छु। विदेशका सहर पनि बनाएर सुन्दर भएका हुन्। हाम्रा सहर पनि बनाउने हो भने विश्वकै नमुना बन्न सक्छन्। यहाँ नीति–निर्माण तहमा हुनेले सहरको विकासमा ध्यान दिएनन्।

विदेशी र नेपाली सहरमा खास भिन्नता के छन्?

विदेशी सहर बनावटी हुन्। दृश्यले नै थाहा हुन्छ, ती सहर मानिसले नै सजाएका हुन्। ती सहरको इतिहास खासै पुरानो छैन। हाम्रा सहर प्राकृतिक रूपमै सजिएका छन्। यहाँको सरकार मात्र कमजोर देखिएको हो। यहाँका सम्पदा, डाँडाकाँडा, हावापानी, प्राकृतिक सौन्दर्य अन्त कतै भेटिन्न। भेटियो भने त्यो नेपाल नै हो।

नेपालका सहरमध्ये मनपर्ने कुन हो?

मलाई पोखरा मनपर्छ। त्यहाँका ताल, प्राकृतिक सुन्दरता एकदमै राम्रो लाग्छ। फुर्सदको समय प्रायः पोखरा पुग्ने गर्छु।

काठमाडौंमा पाइनेमध्ये मनपर्ने परिकार?

मलाई न्युरोडको लस्सी र पानीपुरी एकदमै मनपर्छ। समय मिल्यो भने कहिलेकाहीँ त्यता जान्छु।

कतै घुम्न जानुपर्‍यो भने कुन ठाउँ रोज्नुहुन्छ?

नगरकोट, त्रिशूलीको र्‍याफ्िटङ, चितवनलगायत ठाउँमा जान्छु। उपत्यकाका दरबार क्षेत्रतिर कहिलेकाहीँ घुम्छु।

काठमाडौंको मेयर हुनुभएको भए कसरी काम गर्नुहुन्थ्यो?

यहाँका अव्यवस्थित सडकलाई छिटोभन्दा छिटो व्यवस्थित बनाउँथेँ। सडक राम्रो भएपछि सहरको मुख्य समस्या समाधान हुन्छ। यसबाहेक सहरवासीको माग र सहरलाई कसरी विश्वमा चिनाउन सकिन्छ भन्ने ढंगबाट काम थाल्थेँ। सबै कुरा देखिने र पाइनेे सहर बनाउँथेँ।

प्रस्तुति :  शिवहरि घिमिरे

 

प्रकाशित: २ भाद्र २०७४ ०६:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App