८ वैशाख २०८१ शनिबार
अन्य

कामनपा-२७ का वडाध्यक्ष भन्छन्- 'रत्नपार्कमा यौनकर्मीको मोलमोलाई हुन्छ'

चिनियाँमान वज्राचार्य, वडाध्यक्ष, कामनपा-२७

तपाईंको वडामा पर्ने वीर अस्पताल र दरबार हाई स्कुल क्षेत्र ढल फुटेर लथालिंग छ, वडा कार्यालयले अहिलेसम्म किन देखेन?

वीर अस्पतालदेखि दरबार हाई स्कुल क्षेत्रमा कहाँ ढल फुट्यो भनेर पहिचान गर्नै सकेका छैनौँ। विभिन्न ठाउँमा फुटेको ढलको पहिचान गर्न खोज्यौँ। तर, अहिलेसम्म सफल हुन सकेका छैनौँ। जसकारण सर्वसाधारणले  महिनौँदेखि सास्ती खेप्दै आइरहेका छन्। मेलम्ची खानेपानीको पाइप र विद्युत् प्राधिकरणले जथाभावी खनेका खाल्डाका कारण समस्या निम्तिएको हो। त्यसैले विद्युत् प्राधिकरण र आयोजना कार्यान्वयन निर्देशनालयलाई ढल व्यवस्थित बनाउन निर्देशन दिइसकेका छौँ।

रत्नपार्क क्षेत्रमा साँझपख यौनकर्मीको मोलमोलाई हुँदा यो क्षेत्रको बेइज्जत भइरहेको छ। रत्नपार्कमा साँझपख हिँड्न समेत मुस्किल छ । पैदलयात्रुलाई पनि तानातान गर्ने अवस्था  छ। त्यसको असर प्रत्यक्ष रूपमा मैले पनि भोगेको छु।

तपाईंको वडामा फुटपाथ समेत व्यवस्थित छैन नि?

खानेपानी पाइप विस्तारका लागि खनिएका फुटपाथ  अव्यवस्थित भएका हुन्। हाम्रो वडामा खानेपानीका १५–२० ठाउँमा पाइप चुहिएका छन्। त्यसले सडकभर पानी छताछुल्ल भइराखेको छ। सम्बन्धित निकायको बेवास्ताकै कारण फुटपाथमा हिँड्न मुस्किल भएको छ। दृष्टिविहीनका लागि बनाइएको 'टक–टायल' भत्किएको छ। काठमाडौं महानगरपालिका र सम्बन्धित निकायलाई तत्काल मर्मतका लागि वडाले पटक–पटक पत्राचार गरिसक्यो। तर, अझैसम्म टेरेका छैनन्। त्यसैले दबाब समूह गठन गरेर विरोध गर्ने सोचमा छौँ।

अकासेपुल र फुटपाथ व्यापारीले कब्जा गरेका छन्, किन व्यवस्थापन गर्नुहुन्न? 

सुन्धारा, रत्नपार्कलगायत अकासेपुल र फुटपाथमा व्यापार गर्न पाइँदैन, व्यापारीले मनोमानी ढंगले गरिरहेका छन्। त्यसको अनुगमन गर्ने जिम्मा महानगर अन्तर्गतका नगरप्रहरीको हो। नगरप्रहरीले नियमित अनुगमन र कारबाही नगर्दा समस्या थपिएको हो। नगरप्रहरी वडाको मातहत नहुँदा काम लगाउन गाह्रो हुने रहेछ। नगरप्रहरीको ड्युटी १० देखि ५ वर्षसम्म मात्रै छ। सडकमा भने ५ बजेदेखि  पैदलयात्रुको चहलपहल धेरै हुन्छ। नगरप्रहरीको ड्युटी फेर्ने बेला भइसक्यो। नगरप्रहरीलाई समयानुकूल परिर्वतन गर्दै लैजानुपर्ने बेला भइसक्यो। अबदेखि नगरप्रहरीसँग समन्वय गरेर फुटपाथको व्यापार हटाई पैदलयात्रुलाई हिँड्न सहज बनाइनेछ।

सुन्धारा, असन, रत्नपार्क क्षेत्रका सडकमा अनधिकृत पार्किङ छ, हटाउने पहल किन गर्नुहुन्न?

हाम्रो वडा महानगरकै अति व्यस्तमध्ये पर्छ। यहाँ सुन्धारा, रत्नपार्क, न्युरोडलगायत व्यस्त बजार छन्। व्यापारिक तथा अन्य पर्व, जात्राको अवसरमा भीडभाड हुन्छ। यस्तो बेला खुट्टा टेक्ने ठाउँ समेत हुँदैन। अनधिकृत सवारी पार्किङले जटिल समस्या निम्त्याएको छ। वडाले नै व्यवस्थित पार्किङस्थल बनाउन सक्ने अवस्था छैन। त्यसैले नगर कार्यपालिकाको बैठकमा व्यवस्थित पार्किङका लागि एजेन्डा नै बनाएर लैजानेछु।

भर्खरै भएको नगरपरिषद्मा कस्ता योजना अघि बढाउनुभयो त?

नगरपरिषद्बाट वडामा एक करोड पाँच लाख रुपैयाँ बजेट विनियोजन भएको छ। महानगरको केन्द्रबिन्दुमा रहेको वडाका लागि यो एकदमै न्यून बजेट हो। त्यसैले गर्दा अधिकांश विकासका कामका लागि केन्द्रीय सरकार र महानगरकै मुख ताक्नुपर्ने बाध्यता छ। नगरपरिषद्ले साना सडक, ढल, जात्रा तथा पर्वलगायत क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर काम अघि बढाइनेछ।

आफ्नो कार्यकालमा वडालाई कस्तो बनाउने सोच्नुभएको छ?

मेरो कार्यकालमा वडालाई नमुना बनाउने योजना अघि सारेको छु। महानगरकै केन्द्रमा भए पनि वडामा अझैसम्म ढल, सडक, बिजुली व्यवस्थित छैन। वडाका सडकलाई चिल्लो र रातभर नै झिलिमिली बनाउनेछु। महानगर तथा केन्द्र सरकारसँग समन्वय गरेर स्मार्ट सवारी पार्किङ बनाउनेछु।

असन क्षेत्रमा भूकम्पले भत्काउन लागेका भवन त्यत्तिकै छन्, तिनलाई व्यवस्थापन गर्न के गर्नुहुन्छ?

राजधानीकै पुरानो व्यापारिक केन्द्र हो, असन। त्यहाँ अति नै साँघुरा सडक छन्। दुई वर्षअघिको भूकम्पले भवन कतै चर्किएका छन् त कतै टेकोका भरमा छन्। वडाले भूूकम्पले भत्किएका संरचना हटाएर नयाँ संरचना निर्माणका लागि स्थानीयसँग छलफल गरिरहेको छ। भूकम्पपीडितका लागि भवन निर्माणको नक्सापास निःशुल्क गरेका छौँ।

रानीपोखरी पुनर्निर्माण कहिले हुन्छ त?

रानीपोखरी सहरकै सौन्दर्य हो। भूकम्पले भत्काएदेखि रानीपोखरीको बिजोग छ। महानगर र पुरातŒव विभागबीचको विवादका कारण बालगोपालेश्वर मन्दिर पुनर्निर्माणमा समस्या थपियो। पोखरीवरपर पार्क बनाउने कार्यमा ढिलासुस्ती भइरहेको छ। पोखरी निर्माणको जिम्मेवारी महानगरको हो। वडाले केवल समन्वय गरिदिने मात्रै हो। तर, अब दबाब समूह नै गठन गरेर सम्पदा पुनर्निर्माणमा झकझकाउनेछौँ।

रत्नपार्क–खुलामञ्चलाई अघोषित 'रेडलाइट एरिया' भनिन्छ, तपाईं चुनिएपछि पनि सुधार्न केही गर्नुभएको छैन, रमाइलो लागिरहेको छ र?

रत्नपार्क क्षेत्रमा साँझपख यौनकर्मीको मोलमोलाई हुँदा यो क्षेत्रको बेइज्जत भइरहेको छ। रत्नपार्कमा साँझपख हिँड्न समेत मुस्किल छ । पैदलयात्रुलाई पनि तानातान गर्ने अवस्था  छ। त्यसको असर प्रत्यक्ष रूपमा मैले समेत भोगेको छु। रत्नपार्क क्षेत्रमा हुने गतिविधिबारे प्रहरी प्रशासन समेत जानकार छ। कहिलेकाहीँ अनुगमन गरेर झारा टार्ने काम मात्रै गरिरहेको छ। अब प्रहरीसँग समन्वय गरेर समस्या समाधान गर्न केन्द्रित हुनेछु।

प्रस्तुित :  हिमाल लम्साल

प्रकाशित: २ भाद्र २०७४ ०६:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App