७ वैशाख २०८१ शुक्रबार
समाज

१२ वर्षदेखि बेपत्ता छोरो खोज्दै वृद्धा आमा

बेपत्ता छोराको तस्विर देखाउँदै जानुका खत्री । तस्विरः महेश्वर

उदयपुर-  १२ वर्षदेखि वेपत्ता छोराको खोजी गरिदिन एक बृद्ध आमाले जिल्ला प्रहरी कार्यालय उदयपुरलाई आग्रह गरेकी छन्। तत्कालीन माओवादी सशस्त्र द्वन्द्वको अन्त्य भईसकेपछि ०६२ मंसिर ५ गतेदेखि बेपत्ता जिल्लाको चौदण्डीगढी नगरपालिका ६ का सन्तोष खत्रीको खोजी गर्न अनुरोध गर्दै ६२ वर्षीया आमा जानुका खत्री प्रहरी कार्यालय आएकी हुन्।

सशस्त्र युद्धको अन्तिमतिर ०६१ मा सशस्त्र प्रहरीमा भर्ना भएर झापास्थित पाथिभरा गणमा कार्यरत खत्री गणबाटै बेपत्ता भएको भन्दै बिहीबार उनले प्रहरीमा उजुरी दिएकी छिन्। धेरै समयसम्म घर नआएपछि फोन गर्दा घर गएको खवर आएपछि गणमा सोध्न जाँदा नभेटेको उनको भनाई छ। गणमा सोध्दा घर गएको भनेको तर, घर पनि नआएपछि फेरि गणमै खोज्न जाँदा नभेटिएको जानुकाले बताईन्। ‘गणबाट घर जान्छु भनेर हिँडेको जवाफ गणले दिएको लामो समयसम्म छोरो घर नआएपछि सोध्न जाँदा त्यहाँ भेटिएन’ जानुकाको उजुरीमा उल्लेख छ ‘त्यहाँ पनि छैन, घर पनि आएको छैन, कता गयो होला मेरो छोरो?’

गणले घर गएको भनेको दिनभन्दा साताअघि मात्र मात्र सन्तोष घरबाट गण फर्केको उनको भनाई छ। जानुकाका अनुसार घरबाट व्यारेक फर्केको सातादिनपछि घर जान्छु भनेर हिँडेको जवाफ तत्कालीन गण प्रमुख डीएसपी बालकृष्ण श्रेष्ठले बताएका थिए। उनले घरबाट व्यारेक फर्केको महिना दिनपछि गणमा हाजिर हुन पठाउनू भन्ने व्यहोराको चिठी गणबाट आएपछि खोज्न जाँदा छोरो नभेटिएको बताईन्।

‘घरबाट अफिस जान्छु भनेर गएको महिनादिनपछि गणबाट चिठी आएपछि कता गएछ भन्दै हामी सोधपुछ गर्दै गणमै गयौं’ उनले सम्झिईन् ‘गणले पनि घर जान्छु भनेर गएको थियो, छिटो पठाउनू भनेर पो भन्यो।’ छोरो हराएपछि उनी लामो समयसम्म गणमा धाउँदै गरे पनि नभेटिएको उनले सुनाईन्। ‘लडाइँमा पर्‍यो भनुँ भने माओवादी र सरकार मिलिसकेका थिए’ उनलाई अचम्म लागेको छ ‘घर पनि आएको होईन, जागीरमा पनि छैन। कता गयो त मेरो छोरो ?’ सन्तोषसँगै जागीरे भएका छिमेकीका छोराछोरी दशैं तिहारजस्ता चाडवाड र बेलाबेला घर फर्कने गर्दा उनलाई छोराको साह्रै याद आउने गर्छ। ‘त्यस्तो बेला खुव याद आउँछ अनि खोज्न थालिहाल्छु’ उनले भनिन् । तत्कालीन प्रमुख श्रेष्ठले पटक पटक सोध्न गएपछि कर्मचारीहरुले हाकिमलाई सोध्नु भनेको र हाकिमलाई सोध्दा झर्केर ‘तेह्रथुम गएको छ’ भनेर जवाफ दिएको पनि उनलाई याद छ।

सशस्त्र युद्धताका मारिएका र घाईते तथा बेपत्ता परिवारले सरकारबाट राहत पाएको देखेकी उनले भने प्रशासन, प्रहरी जता धाउँदा पनि छोराको त के कुरा एकपैसा राहत पनि नपाएको गुनासो गरिन्। प्रहरीले उनको निवेदन दर्ता गरेर खोजी कार्य थालेको जनाएको छ। खत्रीको जाहेरी दर्ता गरेर आवश्यक सोधखोज गर्ने काम थालिहाल्ने प्रहरी निरीक्षक देवीप्रसाद फागोले बताए।

 

 

 

प्रकाशित: २ भाद्र २०७४ ०८:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App