८ वैशाख २०८१ शनिबार
राजनीति

जिल्ला समन्वय समिति तेह्रथुममा एमाले

जिल्ला समन्वय समिति गठन पछि सामूहिक फोटो खिच्दै बिजयी पदाधिकारीहरु । तस्बिर : भगिश्वर लिम्बु

तेह्रथुम – तेह्रथुममा नेकपा एमालेको एकलौटी जिल्ला समन्वय समिति गठन भएको छ । समन्वय समितिको प्रमुख र उपप्रमुखमा नेकपा एमाले र नेपाली काँग्रेसबाट उम्मेद्वारी परे पछि  शुक्रबार सम्पन्न निर्वाचनमा ८ मत प्राप्त गर्दै प्रमुखमा शिव ढुंगाना र उपप्रमुखमा प्रेमलता घिमिरे गौतम बिजयी भएका हुन्। 

समन्वय समितिको निर्वाचनमा नेपाली काँग्रेस तर्फबाट प्रमुख पदका उम्मेद्वार भद्रमाया दाहाल र उपप्रमुखमा रिता खातीले ३ मत प्राप्त गरेका थिए । जिल्लामा नेकपा एमालेको जित सुनिश्चित भए पछि काँग्रेसले प्रमुख र उपप्रमुखमा मात्र उम्मेद्वाराी दिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेले प्रमुख र उपप्रमुख सहित सबै नौ पदका लागि उम्मेदवारी दिएको थियो । प्रमुख र उपप्रमुखबाहेक सदस्य पदमा एमालेका उम्मेदवारहरू यसअघिनै निर्विरोध निर्वाचित भएका थिए। 

समन्वय समितिका प्रमुख ढुंगाना एमाले जिल्ला कमिटी सचिव हुन् । उनी म्याङलुङ नगरपालिका–२ बाट खुला सदस्य पदमा निर्वाचित भएका थिए । उपप्रमुखका उम्मेदवार गौतम मेन्छ्यायेम गाउँपालिका–५ बाट निर्वाचित भएकी थिइन् । समन्वय समितिमा विजयी भएका अन्य सदस्यहरु जयप्रसाद कन्दङवा, रिता दास, लालबहादुर कटुवाल, रेन्जी शेर्पा, रेनुका खडका, खडगमाया राई र थानाहाङ तिगेला रहेका छन्। 

नव–निर्वाचित समन्वय समितिका पदाधिकारीहरुले शुक्रबार देखि पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण पछि जिल्ला समन्वय समितिले आयोजना गरेको बधाई तथा शुुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित प्रमुख ढुंगानाले अहिले देशका विभिन्न भागमा बाढी पहिरोले नागरिकहरु समस्यामा परेकोबेला सरकारले चाँडो भन्दा चाँडो राहत वितरण गर्न अनुरोध गरेका छन्। लगातारको वर्षाको कारण तराईमा मात्र हैन पहाडमा पनि नागरिकहरू बिस्तापित भएकोले राहत वितरणका लागि स्थानीय स्तरबाट समेत पहल सुरु गर्नु पर्ने जिल्ला समन्वय समितिका प्रमुख ढुंगानाले बताए । उनले स्थानीयतहको निर्वाचनमा जिल्लाबाट सहभागी भएका सबैदलहरूको सल्लाह र परामर्श अनुसार हरेक निर्णय गर्ने समेत प्रतिबद्धता जनाएका छन्। 

 

प्रकाशित: २ भाद्र २०७४ १२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App