coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तंग्रिन नपाउँदै फेरि विस्थापित

बबईको बाढीबाट विस्थापित तुलसीपुर बखरियाका स्थानीय बासिन्दा। तस्बिर : देवेन्द्र

दाङ- तीन वर्षअघि तुलसीपुर बखरियाका शम्भु बादी बबई बाढीको चपेटामा परे। यहाँका सयौं नागरिकको उठीबास लगाएको बबई बाढीले शम्भुको बास पनि बढार्‍यो। ऐलानी जग्गामा बनाएको सानो झुप्रो थियो। त्यो बेला केही बचेन, बच्यो केबल ज्यान मात्रै।  बबईले नांगेझार बनाएपछि उनी बबई छेउमै त्रिपालको टहरो ठड्याएर गुजारा गरिरहेकै थिए। राहतका नाममा राज्यले दिएको त्रिपाल टाँगेर बसेका उनको ओतमा नयाँ त्रिपाल फेरिएन। च्यातिएको त्रिपाललाई सिलाएरै बासस्थानको जोहो गरिरहेकै थिए।  तर यसपटक फेरि बाढी आयो। त्यही त्रिपालको ओत पनि बचेन। उस्तै बिपत्ति आइलाग्यो। तीन वर्षदेखि विस्थापित जीवन विताइरहेका उनी फेरि विस्थापित बनेका छन्। उनी भन्छन्, 'दुखियामाथि फेरि दैव खनिए।'

त्रिपालको ओत नरहेपछि उनी गाउँलेको आश्रयमा पुगेका छन्। तीन दिनदेखि उनको बास छिमेकीकोमै छ। बेस्सरी उर्लिएको बबई हेर्छन्, पानीको सतह घट्लाकी भनेर। तीन वर्षअघि उठीबास लगाएको बबईले यसपालि फेरि त्रिपालको ओतबाटै लखेट्यो। 'अब कहाँ जाने? कुनै उपाय फुरेकै छैन। 'म गााउँलेको घरमा बसिराछु, यहीं पनि बबईले भेट्लाकी भन्ने चिन्ता लागिरहन्छ,' उनले भने 'केटाकेटी डाँडा उक्लेर बसेका छन्, हामीहरूको त हरिबिजोग भयो। खाने अन्न पनि जोगिएन। पेट पाल्नै सकस भैरहेको छ। गाउँलेले दया देखाएर खान दिए पेट भरिन्छ, नत्र भोकै हुन्छौं।'

स्थानीय ज्योति नेपाली शुक्रबार राति मस्त निद्रामा थिइन्। एकाएक गाउँमा कोलाहल मच्चियो, निद्रा खुल्यो। बाढी पस्यो भन्दै गाउँलेले मच्याएको कोलाहल सुनेर उनको सातो गयो। तीन वर्षअघिको कहरले उनी हायलकायल बनिन्। आफू घरबाट झटपट निस्केर भागिन्। तर घरबाट सरसामान केही निकाल्नै पाइनन्। 'घरभित्र पूरै पानी भरिइसकेको थियो,' उनले भनिन्, 'झटपट बाहिर निस्किँए तर सरसामान निकाल्ने होसै भएन।' घरभित्र पानी पसेको छ, सामान पूरै भिजेका छन्। घरमा जान हिम्मत चल्दैन। गाउँलेको आश्रयमा दिन बितिरहेका छन्। उनले भनिन्, 'पानीले घर ढल्ला कि भन्ने डरले जान पनि सकेकी छैन।' तीन वर्षअघि विस्थापित ज्योतिलाई यसपालि पनि बाढीले लखेटेको छ। 'छिमेकीको घरमा बसिरहेकी छु,' उनले भनिन्, 'बबई स्वात्तै आएर लैजान्छ कि भन्ने डर लागिरहन्छ।'

२०७१ साउन २९ मा बाढी कहर झेलेका थुप्रै दंगालीलाई ठ्याक्कै तीन पर्षपछि फेरि उस्तै कहर दोहोरिएको छ। तीन वर्षअघि बबईको बाढीले लागेको घाउ निको नहुँदै फेरि उस्तै घाउ थपिएको छ। तीन वर्षसम्म राज्यले उचित राहतको बन्दोबस्त गर्न सकेन। आर्थिक स्रोत बलियो भएकाले आफ्नै बलबुताले बलिया घर ठड्याए तर निम्न आयस्रोत भएका पीडिते यी तीन वर्ष केवल टहरोमै बिताए। दाताले दिएका त्रिपाल टालटुल पारेर गुजारा चलाएका उनीहरूलाई पुनः बाढीले बित्यास पारिदिएको छ। 'अब हामी कहाँ जाने? के गरी बस्ने?' बखरियाकै पातली चौधरीको प्रश्न छ, 'हामीलाई दैवले पनि कति पीडा दिइरहेको होला?'

पातलीले तीन वर्षअघि विस्थापित भएपछि परिवारका चारजना मुस्किलले अट्ने सानो टहरोसम्म हाल्न भ्याएकी थिइन्। मजबुत घर बनाउन उनको बलबुताले भ्याएन। 'छोराछोरी पढाउनुपर्‍यो, खाना खान र लाउनु पर्‍यो', उनले भनिन्, 'पैसा नभएपछि बलियो घर हाल्नै सकिएन।' तर यसपाला फेरि खनिएको विपत्तिले उनको त्यही टहरो पनि बचेन। 'सानो टहरो हालेकी थिएँ, त्यो पनि बाढीले लैगो,' उनले भनिन्, 'अहिले छिमेकीको घरमा बसिरहेकी छु।'

तीन वर्षपछि फेरि बाढी विपत्ति निम्तिएपछि पीडितमा झनै त्रास फैलिएको छ। छिमेकमै आश्रय लिइरहेका पनि राति बाढीको त्रासले निदाउन सक्दैनन्। 'रातभरि निद्रा लाग्दैन,' पातलीले भनिन्, 'घर त बचेन, ज्यान पनि जान्छ कि भन्ने डर लागिरहन्छ।' बबईमा आएको बाढीका कारण तटीय क्षेत्रका बस्ती यसपटक पनि डुबानमा परेका छन्। कैयन घर भत्किएका छन्।

तुलसीपुर उपमहानगरपालिकाको मोतीपुरमा यसपालि पनि बबई कहर बनेर उर्लियो। तीन वर्षअघिको बाढीले विस्थापित भए पनि उनीहरू सुरक्षित स्थानमा जान सकेनन्। सोही ठाउँमा बाँसका टहरा हालेर बसेका उनीहरूलाई फेरि पुरानै विपत्तिले लघारिरहेको छ। बस्ती बबईले डुबानमा परेपछि उनी डाँडातिर उक्लिएका छन्। 'बस्ती पूरै जलमग्न छ,' वडा सदस्य सुवास डाँगीले भने, 'टहरामा पानी भरिएपछि  स्थानीय बस्तीबाट भागेको अवस्था हो।' यहाँका झन्डै दर्जन परिवार फेरि विस्थापित बनेका छन्। यस्तै दंगीशरण गाउँपालिकाको गोल्टाकुरीका बासिन्दा पनि फेरि बबई बाढीबाट  विस्थापित भएका छन्। 

प्रकाशित: ३ भाद्र २०७४ ०२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App