७ वैशाख २०८१ शुक्रबार
राजनीति

पार्टी फुटाउने षड्यन्त्र विफल पार्छौ : थापा

हेटौंडा- विभाजनको संघारमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हेटौडामा जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टी फुटाउने पशुपतिशमसेर राणाको योजना विफल बनाउने विषयमा गम्भीर छलफल भइरहेको छ।  असन्तुष्ट केन्द्रीय सदस्यलाई समेट्न र पार्टीका अन्य नेताका मनोबल उच्च तुल्याउने रणनीतिसहित राप्रपा अध्यक्ष कमल थापाले केन्द्रीय समिति बैठक आफ्नो गृहनगरी हेटौंडामै राखेर पार्टी विभाजन हुन नदिन कसरत थालेका हुन्। 

४० प्रतिशत केन्द्रीय सदस्य लिएर राणाले राप्रपा (लोकतान्त्रिक) निर्वाचन आयोगमा दर्ता गराउन पहल गरेपछि थापा उनी विरुद्ध क्रुद्ध छन्। बिहीबार दिउँसो सुरु भएको ३ दिने बैठकमा करिब एक सय केन्द्रीय सदस्य सहभागी छन्।

निर्वाचन आयोगले राणा समूहलाई भदौ ४ गतेसम्म ४० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर सनाखत गरी बुझाउन अन्तिम म्याद दिएपछि त्यसविरुद्ध थापाले केन्द्रीय सदस्यलाई एकढिक्का राख्न केन्द्रीय समिति बैठक बोलाएर अन्तिम प्रयास गरेका हुन्।

बैठक उद्घाटनपछि पार्टी अध्यक्ष कमल थापाले सत्तारुढ दल, सरकार र निर्वाचन आयोगले राप्रपा फुटाउन गरिरहेको प्रयत्नलाई विफल तुल्याएरै छाड्ने बताए। उनले राष्ट्रवादी शक्तिलाई कमजोर पार्दै देशीविदेशी शक्तिको षड्यन्त्रमा निर्वाचन आयोगले सहयोग गरेको आरोप लगाए।

राप्रपाको बहुसंख्यक केन्द्रीय सदस्य र सांसद एकीकृत पार्टीका पक्षमा रहेको भन्दै उनले पार्टी विभाजनका लागि हस्ताक्षर गरेकाहरू एकताकै पक्षमा आइरहेको दाबी गरे।

राणाले पार्टी फुटाउने तयारी गरेपछि तनावमा रहेका थापा एक सातादेखि गृहनगर हेटौंडामा रहेर राणा समूहलाई ४० प्रतिशत हस्ताक्षर पुर्‍याउन नदिन क्रियाशील छन्।

भदौ ३ गतेसम्म सञ्चालन हुने बैठकमा पार्टी विभाजनको क्षति कम गर्ने, संविधान संशोधन, दुई नम्बर प्रदेशको निर्वाचन तयारी, प्राकृतिक प्रकोपले उत्पन्न समस्यालगायत विषयमा छलफल हुने राप्रपा प्रवक्ता भुवन पाठकले बताए। पार्टी फुट्नबाट जोगाउने बैठकको पहिलो लक्ष्य रहेको भन्दै उनले पार्टीबाट अलग भएकालाई कारबाही फुकुवा गरी पुरानै भूमिकामा स्थापित गरिने बताए।

प्रकाशित: ३ भाद्र २०७४ ०२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App