coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

किताबी हाट

भर्खरै सकिएको अन्तर्राष्ट्रिय पुस्तक मेलाको एक दिन कवि वैरागी काइँला किताबका स्टल चहारिरहेका थिए। घुम्दैघुम्दै उनले चार्ल्स डिकेन्सको कथाका किताबसँगै केही अरु किताब पनि किने। मेलामा पुस्तक किन्न र हेर्न उनी रमाइलो मान्छन्। अनेक विषयका नयाँ किताब के आएको छ भन्ने थाहा पाउने राम्रो मौका पनि मान्छन् उनी, पुस्तक मेलालाई।

पाठकसमक्ष व्यापारिक हिसाबले किताब पुग्ने र सबै प्रकारका किताब एकै ठाउँ पाइने भएकाले अहिलेको पुस्तालाई किताबसँग साक्षात्कार गर्न सजिलो भएको उनको विचार छ।  त्यसैले उनी बेलाबेला हुने पुस्तक मेला घुम्न समय मिलाउँछन्।

'किताब पसल नै एउटा–दुइटा हुन्थे। विदेशी किताब चाहिए पनि त्यहीँ गइन्थ्यो। अहिले असंख्य किताब पसल छन्। कुन किताब कुन पसलमा पाइन्छ भन्ने पत्तो हुन्न। त्यसैले किताब प्रदर्शनीमा आएपछि कसले के किताब ल्याएछ? कहाँ पाइने रहेछ भन्ने समेत थाहा पाउन सजिलो भएको छ।'

आफ्नो समयमा पुस्तक पाउन निकै दुःख रहेको उनी सम्झन्छन्। गाउँमा छँदा हाटबजारमा किताब किन्ने गर्थे। 'हप्ताको कुनै बार हुने हाटबजारमा सागसब्जी ल्याउनेले डोकोमा किताब पनि ल्याउँथे। त्यही किन्न बजार जान्थ्यौँ,' उनी सम्झन्छन्। त्यसरी उनले पढ्ने बानीको विकास गरेका थिए। पछि सहर आएपछि भने थोरै संख्यामा भएका किताब पसल र कहिलेकाहीँ हुने किताब प्रदर्शनीबाट नयाँ किताब किने। थोरै संख्यामा किताब पसल हुनु पनि ऊबेला एक हिसाबले सजिलो थियो। भन्छन्, 'किताब पसल नै एउटा–दुइटा हुन्थे। विदेशी किताब चाहिए पनि त्यहीँ गइन्थ्यो।' बरु अहिले असंख्य किताब पसल छन्। कुन किताब कुन पसलमा पाइन्छ भन्ने पत्तो हुन्न। सबै पुस्तक सबै पसलमा पाइँदैनन् पनि। उनी भन्छन्, 'त्यसैले किताब प्रदर्शनीमा आएपछि कसले के किताब ल्याएछ? कहाँ पाइने रहेछ भन्ने समेत थाहा पाउन सजिलो भएको छ।'

प्राध्यापक डा. गोविन्दराज भट्टराई त पुस्तक प्रदर्शनीलाई किताब किन्ने ठाउँ मात्र नभई कुनै पनि समाजको सभ्यताको सूचक समेत मान्छन्। बेलाबेला हुने पुस्तक प्रदर्शनीले हाम्रो सभ्यता अझ बढी विकसित हुँदै गएको संकेत गर्ने उनले बताए। उनी आफैँ पनि प्रदर्शनीमा पुस्तक किन्न रमाउनेमा पर्छन्। उनी भन्छन्, 'मलाई त दिन पनि, रात पनि यहीँ बिताउँझै“ लाग्छ। कति अमूल्य किताब आएका हुन्छन्। सबै नकिने पनि घुम्दा मात्रै पनि ज्ञान पाइन्छ।' त्यसैले उनी हरेकजसो पुस्तक प्रदर्शनी जाने गर्छन्। एउटा प्रदर्शनी छुटे धेरै कुरा छुटेको अनुभव हुने उनी सुनाउँछन्।

एकै ठाउँमा विश्वभरि लेखिएका महŒवपूर्ण किताब पाइने यस्ता मेलालाई उपयोग गरे अहिलेका पाठकलाई पढ्न खासै दुःख नहुने उनको ठम्याइ छ।

पुस्तक प्रदर्शनी एकातिर पठन–संस्कृति विकास गर्ने साधन हो, अर्काेतिर पठन–संस्कृतिको मूल्यांकन गर्ने माध्यम पनि। प्रदर्शनीमा आउने पाठकको विश्लेषण गरी पठन प्रवृत्तिको मूल्यांकन गर्न सकिन्छ। तर नेपाली प्रकाशक वितरकले पाठकको प्रवृत्तिको गतिलो मूल्यांकन गरेजस्तो देखिँदैन। धेरैजसो स्टलवाला प्रकाशक प्रदर्शनीमा दर्शकको घुइँचो नदेखेर दिक्क मानिरहेका देखिए। खासगरी पछिल्ला दिनमा हुने प्रदर्शनीमा अवलोकनकर्ताको संख्या घट्दै गइरहेको प्रकाशक अनि वितरक गुनासो गरिरहेका थिए। वर्षमै धेरैपटक प्रदर्शनी हुने भएकाले हेर्न आउने पाठकको संख्यामा कमी आएको उनीहरु अनुमान गर्छन्। प्रदर्शनीमा भाग लिनु आर्थिक हिसाबले कुनै लाभको कुरा नभए पनि पाठकको ठूलो भीडमा प्रचार–प्रसार गर्न नपाएको कतिले असन्तुष्टि पोखे।

प्रदर्शनीमा अवलोकनकर्ताको यो खडेरीले हाम्रो पठनको नयाँ प्रवृत्तिलाई पनि संकेत गरेको कतिपय विश्लेषण गर्छन्। रिडमोरका बजार प्रबन्धक राजकुमार गिरीको विचारमा स्मार्ट पाठक बढेका कारण प्रदर्शनीमा सहभागीको संख्या ओरालो लाग्दै गएको हो। स्मार्ट रिडिङको चलन बढेका कारण कतिपय राम्रा किताब किन्न पसल वा प्रदर्शनी नै पर्खनुपर्ने बाध्यता अन्त्य भएको छ। त्यसैको असर प्रदर्शनीमा सहभागीको कमी देखिएको गिरीको भनाइ छ। भन्छन्, 'अब नयाँ किताब के आयो? कहाँ पाइन्छ? भन्ने जानकारी मात्र हैन, प्रकाशित भएको केही दिनमै सिंगै किताब स्मार्ट फोनमा डाउनलोड हुन्छ। त्यसो भएपछि प्रदर्शनी धाउनु नै परेन।'

प्रदर्शनीकर्ताले पाठक नआएको गुनासो गरे पनि प्राध्यापक डा. गोविन्दराज भट्टराईलाई भने त्यस्तो लाग्दैन। भन्छन्, 'बाह्रैमासजस्तो काठमाडौंमा हुने पुस्तक मेला प्रकाशक र व्यापारी मात्र जागेर सम्भव भएको होइन। पाठक पनि जागरुक भएर हो।' पुस्तक मेला जाने र पुस्तक किन्ने राष्ट्रिय संस्कार बनिसकेको उनको भनाइ छ। जसरी पुस्तक मेला आउने पाठकलाई हेरेर पछिल्ला पाठकको मनोविज्ञान र रुचि अध्ययन गरिनुपर्ने हो, त्यो भएको देखिँदैन।

नेपाली पाठक आख्यान मात्र पढ्छन् भन्ने पूर्वाग्रह नेपाली प्रकाशक र लेखकको छ। यही पूर्वमान्यताका आधारमा किताब निकाल्ने प्रवृत्ति प्रशस्तै मौलाएको कतै छिपेको छैन। यसको प्रमाण वर्षभरि आइरहने उपन्यास अनि कथाका किताबको बाढी हो। र, उपन्यास छाप्न प्रकाशकले गर्ने हानाथाप पनि यसको प्रमाण हो। होडबाजीमै प्रकाशन भएका कतिपय किताब अति नै हल्काफुल्का रहेको पाठकको गुनासो नसुनिएको पनि होइन। तर यस्तै किताबको धेरै विज्ञापन गरेर धेरै बिकाउने काम गरिँदै आएको छ। मेलामै यस्तै किताबको बिस्कुन लगाइएको हुन्छ।

पाठकको रुचि भने बिस्तारै बौद्धिक, खोजमूलक र तथ्यपरक किताबतिर ढल्कँदो छ। जस्तो, सांग्रिला बुक्सको स्टलमा प्रदर्शन गरिएका दर्जनौँ आख्यान पुस्तकको भीडमा धेरैको आँखा रमेशनाथ पाण्डेको 'कूटनीति र राजनीति'मा थियो। कसैले सौरभको पछिल्लो पुस्तक 'असहमति'लाई सुमसुम्याए र किने पनि। सांग्रिलाकी कर्मचारी अञ्जु दाहालका अनुसार मदन पुरस्कारका लागि छनोट भएका भनी प्रचार गरिएका उपन्यास कृति 'चीरहरण' अनि 'तपन' जस्ता किताबलाई प्रदर्शनीमा धेरैले बेवास्ता नै गरे। यसै वर्ष प्रकाशन भएको नयाँ पुस्तक भएका कारण सौरभको 'असहमति'ले पाठक धेरै तानेको अनुमान गरिएको थियो भने 'कूटनीति र राजनीति' भने पुरानै किताब भए पनि पाठकले निकै माया गरे।

'वी रिड' ब्रान्डले प्रोमोट गरेको र प्रज्ञा प्रतिष्ठानले वर्ष पुस्तक समेत बनाएको जनकराज सापकोटाको 'कहर'भन्दा फ्याक्ट्सले अनुसन्धान गरी तयार पारिएको 'फ्याक्ट्स अफ नेपाल' र किशोर नेपालको 'मिडिया सिद्धान्त र प्रयोग'प्रति पाठकले बढी चासो देखाए।

त्यस्तै, यसपालिको पुस्तक मेलामा सबैभन्दा बढी कुरा गरिएको पुस्तक बन्यो, सिन्जी बुक्सको, 'सि जिनफिङ :  द गभर्नेन्स अफ चाइना।' विश्वभरि नै चर्चा कमाएको यो पुस्तकको नेपाली अनुवाद प्रदर्शनीमा राखिएको थियो। यो किताब खोज्न धेरै आउने गरेको नेपाल–चीन सोसाइटीकी आशा दाहालले बताइन्। योसँगै चिनियाँ सरकार, चिनियाँ कम्युनिस्ट पार्टी, चिनियाँ व्यापार प्रणालीका विषय लेखिएका किताब खोज्ने पनि निकै देखिए। हिरण्यलाल श्रेष्ठको 'सिक्स्टी इयर्स अफ डायनामिक रिलेसनसीप' पढ्ने विद्यार्थी र बौद्धिक पाठकको पनि कमी थिएन।

ग्ाणेश घलेको पुस्तक प्रकाशन र वितरणको क्षेत्रमा २७ वर्ष लामो अनुभव छ। उनी एकता बुक्समार्फत भारतको पेन्गुइन प्रकाशनको डिलरका रूपमा समेत काम गरिरहेका छन्। उनको लामो अनुभवका आधारमा मेलामा आएर किताब किन्ने प्रचलन पहिलेको तुलनामा घटेको उनी देख्छन्। भन्छन्, 'किन्न खासै आउँदैनन्। आए पनि हेर्न मात्र आउँछन्।'

यसरी मेला आएर किताब किन्ने झन्झटभन्दा इन्टरनेटमा नयाँ किताबबारे जानकारी लिने र ई–बुक पढ्ने प्रवृत्ति बढेको उनको भनाइ छ। मेला आउनेको रुचि भने आख्यान र गैरआख्यान दुवैमा उत्तिकै रहेको पाएको घलेले बताए। पेन्गुइनको प्रकाशनमा यसपालि धेरै मन पराइएकामा युवल नोआ हरारीका 'होमो डिअस, अ ब्रिफ हिस्ट्री अफ टुमरो', 'स्यापियन्स, अ ब्रिफ हिस्ट्री अफ ह्युमनकाइन्ड', सेरिल स्यान्डबर्ग र एडम ग्रान्टको 'अप्सन बी' जस्ता पुस्तक रहे।

नेपाली पाठकको रुचि आख्यानमा मात्र होइन, गैरआख्यानमा पनि उत्तिकै छ भन्ने उदाहरण मेला आएका केही विद्यार्थी हुन्। लीलाधर रिसालले यसपटक साझा प्रकाशनबाट निनु चापागाईंको 'मार्क्सवादी चिन्तनमा सौन्दर्य' किने। उनी मेलामा यस्तै दार्शनिक प्रकृतिका पुस्तक खोजिरहेका थिए। रिसालले भने, 'मेरो रुचि दर्शन, राजनीति र इतिहास हो। तर नेपालीमा यस्ता कम लेखिएका छन्।' यस्ता किताबको प्रचार–प्रसार र चर्चा पनि कम भएजस्तो उनलाई लाग्छ।

राजनीतिक परिवर्तन, सामाजिक जागरण र सचेतना अभिवृद्धिले पछिल्लो समय नेपाली पाठकलाई गैरआख्यानतिर तानेको उनले अनुभव गरेका छन्। राजनीति, इतिहास, समाज, विकास विषयमा लेखिएका किताब खोज्नेको लहर बढेको देख्छन् उनी।

त्यस्तै, पशुपति क्याम्पसका विद्यार्थी विशाल थापा र रमेश पौडेल समाजशास्त्रसम्बन्धी राम्रा पुस्तक पाइने आशामा मेला गएका थिए। तर मेलामा उनीहरु निकै अलमलिए। प्रकाशक वितरकले आफ्नो मात्र नभई अरु धेरै प्रकाशकका किताब छ्यासमिस चाङ लगाइराखेका थिए। स्टलवालालाई किताबको जानकारी भएको उनीहरुले पाएनन्, दर्जनौँ स्टलको हजारौँ किताबभित्र आफूलाई चाहिने किताब खोज्ने झमेला गर्न सकेनन्। अनि साझाको स्टलबाट डोरबहादुर विष्टको 'सबै जातका फूलबारी' किने। नेपाली संस्कृति र धर्मसम्बन्धी भनेजस्तो किताब नपाएकोमा उनीहरु गुनासो गरिरहेका थिए।

नेपाली पाठकको रुचि अन्तर्देशीय सम्बन्ध, संस्कृतिका किताबमा पनि व्यापक रहेको देखिन्छ। वज्र बुक्सको स्टलमा राखिएको अरुन्धती रोयको 'द मिनिस्ट्री अफ अटमोस्ट ह्यापिनेस' र सधैँ बिक्ने चेतन भगत अनि पाउलो कोहेलोका किताबबाहेक धर्म रत्न यमीको पुस्तक 'रिप्लाई फ्रम टिबेट' जस्ता किताबप्रति धेरैले चासो दिएको वज्र बुक्सकी देविका महर्जनले बताइन्। बुद्धिजम्, मावनशास्त्र, समाजशास्त्र, तिब्बती धर्म–संस्कृति र बोन र बोनिजम्बारे पनि पाठकले निकै चासो राखेको भेटियो।

यसरी विविधतायुक्त पाठकको जमघटको थलो बनेको छ, पुस्तक मेला। कथा, उपन्यास, कविताजस्ता साहित्य मात्र होइन, राजनीति, धर्म, दर्शनका गहकिला पुस्तकको खोजी गर्ने समेत पुस्तक मेला पुग्ने गरेका छन्।

प्रदर्शनीमा कतै वेद। उपनिषद् त कतै बाइबल अनि कतै कुरानका ठेली उठाएर लैजानेको कमी थिएन। स्रष्टासँग किताबमा हस्ताक्षर माग्नेको लर्काे पनि उस्तै थियो। संस्कृतिविद् सत्यमोहन जोशीको किताब 'नेपाली कलाको रूपरेखा' यसपालि रिडमोरले निकालेर प्रदर्शनीमा राखेको थियो। उनी उपस्थित भएको दिन हस्ताक्षर लिने बढ्थे, स्टलको रौनक अर्कै देखिन्थ्यो। रिडमोरले यसपालि धेरै बेचेको किताबमा जोशीको यो पुस्तक र दिनेश अधिकारीको फोटो संस्मरण 'तस्बिरको कथा' हुन्।

हस्ताक्षरका लागि तीन दिन प्रदर्शनी स्थलमा उपस्थित भएका अधिकारी व्यस्त देखिन्थे। त्यहीँ उनले किताबबारे निकै रोचक प्रशंसा र प्रतिक्रिया पाए। उनले भने, 'प्रदर्शनीको मजा नै यही हो। पाठकसँग प्रत्यक्ष अन्तर्क्रिया हुन्छ।'

गीत तथा कविताका लागि लोकप्रिय उनको यो फरक स्वादको पुस्तकलाई पाठकले मन पराएकामा उनी निकै उत्साहित थिए। पाठकको यो विविधताले गहन अध्ययनको संस्कृतिको संक्रमणको संकेत गर्ने अधिकारीको भनाइ छ।

यति धेरै खालका पाठकको जमघट भए पनि प्रदर्शनीका सहभागी प्रकाशकले व्यावसायिक काइदा नजानेकामा भने अधिकारीले खिन्नता प्रकट गरे। पुस्तक स्टलको भिजिटरमैत्री व्यवस्थापनको कमी धेरैले महसुस गरेका थिए। स्टलमा बस्ने जनशक्ति आफैँ पुस्तकबारे जानकार नहुनु मेलाका धेरै सहभागी प्रकाशकको कमजोर पक्ष थियो। यो यसपटक मात्र नभई अन्य समयमा अरु आयोजक गर्ने प्रदर्शनीको पनि सधैँको समस्या हो।

स्रष्टा अधिकारीले भने, 'सबैभन्दा महŒवपूर्ण कुरा प्रकाशकले कुन किताब आफूले अलि बढी प्रचार–प्रसार गर्न खोजेको हो, त्यसको डिस्प्ले राम्रो गर्दैनन्। जसले गर्दा पढ्न इच्छुक नयाँ पाठक किताबको चाङमा अलमलिन्छन्।' त्यसो हुँदा गन्जागोलमा जुन पायो, त्यही पुस्तक किन्ने र नराम्रो पुस्तक परेपछि त्यस्ता पाठकलाई पठनमा जाँगर नचल्ने अधिकारीको विचार छ। मेलाप्रति पाठकको विश्वास अभिवृद्धि गर्नु आवश्यक रहेको उनको सुझाव थियो। राम्रो व्यवस्थापन गरे मेलामा पाठक आएनन् भन्दै प्रकाशकले रोइकराई गर्ननपर्ने उनको आसय हो।  

अधिकारीले भनेझैँ अन्तर्राष्ट्रिय भनिएको यसपालिको प्रदर्शनीलाई पनि किताब देखाएर टार्ने मेलो मात्र सम्झे प्रकाशकले। यसरी गरिने मेलाले पुस्तक पठन संस्कृतिको विकास गर्न सकेजस्तो देखिँदैन। त्यसैले कवि अधिकारी प्रश्न गर्छन्, 'के प्रदर्शनी स्टक क्लियरेन्स गर्ने ठाउँ हो?'

त्यसैले पठन–संस्कृतिको विकासकै नाममा सही, पुस्तक प्रदर्शनीलाई पुस्तकको बजार विस्तारको माध्यम बनाउने कि नबनाउने? प्रकाशकले सोचेकै होलान्।

प्रकाशित: ३ भाद्र २०७४ ०४:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App