६ वैशाख २०८१ बिहीबार
समाज

झापामा क्लोरिन चक्की अभाव

बनियानी – झापामा पानी निर्मलीकरण गर्न प्रयोग गरिने क्लोरिन चक्कीको अभाव भएको छ। 

क्लोरिन चक्की अभाव हुँदा बाढीपीडितलाई पर्याप्त मात्रामा वितरण गर्न नसकिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । जसका कारण बाढीपीडितलाई पिउने पानीको समेत समस्या भएको छ। 

जिल्ला जनस्वास्थ्य कार्यालयमा रहेको पाँच हजार र युनिसेफले उपलब्ध गराएको पाँच हजार गरी १० हजार क्लोरिन चक्की बाढीपीडितलाई वितरण गरिएको कार्यालयका स्टोरकिपर रमेश खतिवडाले बताए। 

त्यस्तै, नेपाली सेनाले कचनवकल गाउँपालिकास्थित केचनाका बाढीपीडितलाई पाँच हजार क्लोरिन चक्की वितरण गरेको छ। ‘क्लोरिन चक्कीको अभाव छ’, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसुधन कोइरालाले भने, “पर्याप्त मात्रामा क्लोरिन चक्कीको व्यवस्था गर्न पहल गरिरहेका छौँ।” 

बाढीका समयमा पानीकै कारणले झाडापखाला, आउँ, रुघाखोकी जस्ता समस्या देखिने गरेकाले शुद्ध पानी बनाउन क्लोरिन चक्की अत्यावश्यक हुने कोइरालाले बताए। 

यता, बाढी प्रभावित क्षेत्रमा जिल्ला जनस्वास्थ्य कार्यालय झापाले आजदेखि विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । आम्दा अस्पताल दमक, नेपाल रेडक्रस सोसाइटी झापासँगको सहकार्यमा आजदेखि साताव्यापी विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको जनस्वास्थ्य प्रमुख कोइरालाले जानकारी दिए। 

उनकाअनुसार जिल्लाको अतिप्रभावित क्षेत्र झापा गाउँपालिका, कमल, कचनकवल र गौरीगञ्ज गाउँपालिकामा स्वास्थ्य शिविर केन्द्रीत हुनेछ। 

हाल बाढी प्रभावित क्षेत्रमा चिकित्सकसहितको सातवटा स्वास्थ्य शिविर सञ्चालित छन् । चिकित्सकसहितको चार÷पाँच जनाका दरले टोली परिचालन गरिएको प्रमुख कोइरालाले जानकारी दिए। 

बाढीपीडितमा ज्वरो, हिलोले हातखुट्टा खाने, रुघाखोकीको समस्या बढी देखिएको उनले बताए। यता, क्षेत्रीय मेडिकल स्टोर विराटनगरले सिटामोल, नेटफर्म, जीवनजललगायत ३२ प्रकारको औषधि पठाएको स्टोरकिपर खतिवडाले जानकारी दिए। रासस 

प्रकाशित: ३ भाद्र २०७४ ०८:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App