८ वैशाख २०८१ शनिबार
समाज

तटबन्धमा जुटे सकरपुरावासी

सकरपुरा (सप्तरी)- गत साता खाँडो नदीको बाढीले बस्तीमा पसेर वितण्डा मच्याएको सकरपुराको जनजीवन अझै सामान्य हुनसकेको छैन। बाढीले भत्काएका घर बस्न लायक छैनन्। अधिकांश परिवार अझै पनि च्युरा, मुरहीको भरमा दिन बिताइरहेका छन्। आफ्ना घर लथालिंग भए पनि सकरपुरावासी पछिल्लो तीन दिनदेखि बाढीले भत्काएको खाँडो नदीको तटबन्ध निर्माणमा जुटेका छन्।

विपद्का बेला सरकारको मुख ताक्नुभन्दा पनि आफू जोगिन आफंै अघि सर्नुुपर्छ, सकरपुरावासीले थालेको कामाट अरुले पनि सिक्नुपर्छ- आशीष मिश्र, तिलाठी।

'वर्षाको मौसम छ, त्यसैले घरभन्दा पहिला तटबन्ध निर्माण गर्नु जरुरी छ। फेरि बाढी आयो भने झन् सकस हुन्छ', स्थानीय रमेश मुखियाले भने, 'तटबन्ध बनाएपछि पनि घरको काम गर्न सकिन्छन्, तर तटबन्ध बनाइएन भने घर र बस्ती फेरि डुबानमा पर्छन्।'

 गत आइतबार खाँडो नदीको बाढी २ सय मिटर लामो तटबन्ध भत्काएर सकरपुरा बस्तीमा पसेको थियो। बाढीबाट एक हजार घर डुबानमा परेका थिए। बस्तीका २ सय बढी घर भत्किएका छन्। अहिले बस्तीका महिला, पुरुष मिलेर बाँध निर्माण कार्यमा लागेको सकरपुराका समाजिक परिचालक शिवनाथ यादवले बताए।

 बाँध निर्माणमा पुरुषभन्दा पनि महिलाको सहभागिता बढी छ। बाँध निर्माणमा खटिएका पुरुषलाई खुवाउने मात्रै हैन उनीहरूसँगै बोरा भर्ने, बाँसको पाइलिङ लगाउने जस्ता काममा समेत महिलाले सघाइरहेका छन्। 'सरकारलाई गाली गर्नुभन्दा पनि तटबन्ध बनाउनु पहिला आवश्यक छ', राधादेवी खंगले भनिन्, 'वर्षा रोकिएलगत्तै हामीले गाउँमै भेला गरी जसरी पनि तटबन्ध बनाउनुपर्ने निर्णय गरेर काम थालेका हौं।'

तटबन्ध निर्माणमा अहिले दैनिक पुरुष र महिला गरी ३ सयजना लागिपरेको खंगले बताइन्। तटबन्ध निर्माणमा स्थानीय नेता तथा गाउँपालिकाका कर्मचारीले पनि समन्वयात्मक भूमिका निर्वाह गरेको लड्डु खंगले जानकारी दिए। 'उहाँहरूले पहल गरेर बाँस, बोरा तथा एस्काभेटरलगायत सामग्री र उपकरण खाँडो नदी नियन्त्रण आयोजनाबाट ल्याइदिनु भएको छ', उनले भने, 'नेता पनि कोही न कोही दिनभरजसो हामीसँग बसेकै हुन्छन्, गाउँपालिकाका कर्मचारी पनि आइराख्नुभएको छ, सबैको सहयोग र समन्वयले गाउँले उत्साहित छौं।'

 साबिकको सकरपुरा गाविस हाल तिलाठी कोइलाडी गाउँपालिका अन्तर्गत छ। तटबन्ध कटान गरे खाँडो नदीको मूल बहाव सकरपुरा बस्तीतर्फ सोझिएको निरज झाले बताए। 'भत्किएको तटबन्ध तत्कालै निर्माण नगरिए खाँडो नदीमा आउने सानोतिनो बाढीले पनि गाउँ डुबानमा पर्न सक्ने खतरा छ', उनले भने, 'गाउँलेको आँट र उत्साहका कारण तटबन्ध निर्माण थालिएको हो।'

 तिलाठी कोइलाडी गाउँपालिका क्षेत्रमा मात्रै तिलाठी, लौनियालगायत क्षेत्र खाँडो नदीको कटानबाट जोखिममा परेका छन्। सरकारी संयन्त्रले काम थाल्दा महिनौं लाग्नसक्ने भएकाले आफैं तटबन्ध बनाउन लागेको स्थानीय बताउँछन्। 'गत असार १७ गते नै तिलाठीस्थित गाइड ततबन्धको झन्डै ५० मिटर बाढीले कटान गरेको थियो, अहिलेसम्म बनाउन सकिएको छैन', तिलाठीका आशीष मिश्रले भने, 'विपद्का बेला सरकारको मुख ताक्नुभन्दा पनि आफू जोगिन आफंै अघि सर्नुुपर्छ, सकरपुरावासीबाट अरुले पनि सिक्नुपर्छ।'

 गत असार १७ गतेको बाढीले खाँडो, महुली जस्ता नदीका तटबन्ध ठाउँठाउँमा कटान गरेको थियो। नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले महुली नदीको तटबन्ध बनाउन थाले पनि स्थानीयको पर्याप्त सहयोग भएन। त्यतिबैलै कटान गरिएका तटबन्ध बनाउन नसक्दा गत साताको बाढीले थप क्षति निम्त्याएको हो। 

 सकरपुरामात्रै हैन अन्य क्षेत्रका बाढीपीडित पनि ध्वस्त पुल, कलभर्टलगायत संरचना बनाउन सक्रिय भएका छन्। बस्ती जोडने पुल तथा कलभर्ट बाढीले बगाइदिएपछि आवतजावतमा समेत कठिन भएकपछि पीडित सामूहिक प्रयासमा बाँसका अस्थायी पुल बनाउन लागेका छन्।

प्रकाशित: ४ भाद्र २०७४ ०२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App