coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कूटनीतिक पहलबाट समाधान खोज्न सुझाव

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले भारतले बनाएका बाँधका कारण नेपाली भूमि डुबानमा परेको हो भने कूटनीतिक पहलबाट समस्याको समाधान खोज्न प्रधानमन्त्रीसहित प्रमुख राजनीतिक दलका नेतालाई आग्रह गरेकी छिन्।

राष्ट्रपति भण्डारीले शनिबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेतालाई शीतल निवास बोलाएर तराई/मधेसमा भइरहेको डुबानप्रति चिन्ता व्यक्त गर्दै यस्तो आग्रह गरेकी हुन्।

उनले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा यो विषय उठाउन पनि सुझाएकी छिन्। समस्याको दीर्घकालीन समाधान खोज्न आग्रह गर्दै उनले पूर्वतायरी र विपत् रोकथाम उपाय अवलम्बन गर्न पनि सुझाइन्।

'बाढीको विपत्ति दोहोरिइरहने भएकाले राहतमा मात्र नभई रणनीतिक योजना बनाऔं। क्षति कम गर्ने विषयमा सोचौं,' राष्ट्रपतिलाई उद्धृत गर्दै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, 'भारतले बनाएका बाँधका कारण डुबान भएको हो भने प्रधानमन्त्रीको भारत भ्रमणका बेला यो कुरा उठाउनुपर्छ।'

राष्ट्रपतिको कार्यालयले राष्ट्रपतिले देशमा बाढीपहिरो र समसामयिक विषयमा चासो व्यक्त गर्दै प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाको उचित प्रबन्ध मिलाउन, प्राकृतिक प्रकोप न्यूनीकरण गर्न अल्पकालीन र दीर्घकालीन रुपमा नदी प्रणालीलाई व्यवस्थित गर्न प्रमुख दलको ध्यान आकृष्ट गरेको जनाएको छ।

सरकार परिर्वतन भएसँगै परराष्ट्र नीति पनि फेरिने गरेको गुनासो गर्दै राष्ट्रपतिले साझा परराष्ट्र नीति ल्याउन पनि सुझाइन्। हाम्रो विदेश नीति दलपिच्छे फरक हुन्छ कि साझा धारणा बनाउने हो भन्ने प्रश्न गर्दै राष्ट्रपतिले भनिन् , 'अब साझा धारणा बनाएर अघि बढौं।'

राष्ट्रिय हितलाई सर्वोपरी राखेर असंलग्न सिद्धान्तमाा आधारित भएर परराष्ट्र नीति बनाउन राष्ट्रपतिले ध्यानाकर्षण गराएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रपतिले संविधान जारी गर्दा एक ठाउँमा उभिएका शक्ति नै कार्यान्वयनका लागि पनि एक हुनुपर्ने बताइन्। 'संविधान जारी गरेपछि संविधानसभा संसद्मा रुपान्तरित भएकाले संविधान जारी गर्ने शक्तिबीचको सहमतिमा संविधान संशोधन गर्नुपर्ने होइन,' राष्ट्रपतिलाई उद्धृत गर्दै नेता श्रेष्ठले भने, 'हुन त २ तिहाईबाट संशोधन गर्ने संवैधानिक व्यवस्था छ तर, संविधान जारी गर्ने शक्ति नबाँडिँदा राम्रो। यो मेरो सुझावमात्र हो।'

भेटमा प्रधानमन्त्रीसहित प्रमुख राजनीतिक दलका नेताले तराईमधेसमा बाढीबाट आहात जनतालाई  राहत वितरण र पुनर्स्थापना गर्ने काम भइरहेको जानाकारी गराएका थिए। उनीहरूले मुलुकको राजनीतिक अवस्था पनि जानाकारी गराए। प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरोपीडितको उद्धार तथा राहत वितरणमा सरकारले उच्च प्राथमिकता दिएको जानकारी गराएका थिए। 

भेटमा सहभागी कांग्रेस नेता रामचन्द्र पौडेलले बाढीपहिरोबाट उत्पन्न समस्या, संविधान संशोधन तथा परराष्ट्र नीतिका विषयमा राष्ट्रपतिको चासो र चिन्ता रहेको सुनाए। 'उच्च राजनीतिक समझदारीका साथ संविधान कार्यान्वयन गर्न उहाँको आग्रह थियो,' पौडेलले भने।

भ्रमणबारे पूर्वप्रधानमन्त्रीसँग छलफल

प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेका छन्। उनले प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार साँझ पूर्वप्रधानमन्त्रीहरूलाई बोलाएर भ्रमणका क्रममा उठाउनुपर्ने विषयमा सुझाव लिएका हुन। जेठ २४ गते प्रधानमन्त्री निर्वाचित देउवा भदौ ७ देखि ११ गतेसम्म भारत भ्रमणमा निस्कने तयारीमा छन्।  भारत भ्रमणमा जानुअघि नै संसद्मा विचाराधीन संविधान संश्ोधन विधेयकको टुंगो लगाउने तथा संघ र प्रदेश निर्वाचन मिति घोषणा तयारीमा देउवा छन्।

प्रकाशित: ४ भाद्र २०७४ ०२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App