८ वैशाख २०८१ शनिबार
समाज

सुत्केरीपछिको अधिक रक्तस्राव रोक्न नयाँ उपाय

बनेपा- सुत्केरीपछिको अधिक रक्तस्रावबाट हुने मातृ मृत्युदर कम गराउन फुटबल वा भलिबलको प्रयोग गरिन थालेको छ। सुन्दै अनौठो लागे पनि यी खेल सामग्रीको प्रयोगले सुत्केरीपछिको रक्तस्राव कम गराउँदै रेफरल अस्पतालसम्म बिरामी पठाउन सम्भव भएको छ।

‘विगतमा हामीले सुत्केरीपछिको अधिक रक्तस्राव रोक्न महिलाको तल्लो पेट र दुईवटै गोडाको पिँडुलामा साइकलको ट्यूबले बाँध्थ्यौँ। अनि ट्यूबमा हावा भर्दै त्यसको चापले रक्तस्राव रोक्दै उपचार गरिरहने या रेफरल अस्पताल पठाउने निर्णय गर्थ्यौं,’ अलम्पु हेल्थपोष्ट दोलखाकी सिनियर अनमी कृष्णकुमारी थामीले भनिन्।

अघिल्लो वर्ष जुम्ल्याहा शिशु जन्माएलगत्तै अधिक रक्तस्राव भएकी एक महिलालाई उनले यही विधिको प्रयोग गरेर बचाएकी थिइन्। विगतमा तीन ठाउँमा ट्यूब बाँध्दै हावाको चाप निकाल्न एक्लैलाई मुस्किल भएको स्मरण गर्दै उनले भनिन्, ‘अब सजिलो उपाय आएछ। ड्यूटीमा एक्लै हुँदा पनि काम गर्न सकिने भो किनकी तल्लो पेटमा बललाई बाँधेर त्यसमा हावा भर्न खासै समस्या हुँदैन। त्यसैको चापले तल्लो पेटदेखि नै रक्तस्राव रोक्न सजिलो पनि हुने रहेछ,’ थामीले थपिन्।

नेपाललगायत विश्वमै मातृ मृत्युको कारणमध्ये प्रमुख मानिएको प्रसवपछिको अधिक रक्तस्रावलाई रोक्न स्थानीय उपलब्ध सामग्रीका रूपमा पाँच वर्षअघि नेपालमा पनि साइकल ट्यूब प्रविधिको सुरुवात गरिएको थियो। त्यतिखेर प्रसूतिकर्मी थामीले यसको ज्ञान र सीप सिक्ने अवसर पाएकी थिइन्। धुलिखेल अस्पतालमार्फत काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र दोलखा जिल्लाका बर्थिङ सेन्टरका दक्ष प्रसूतिकर्मीलाई यो प्रविधिबारेमा ज्ञान र सीप दिइएको थियो।

युनिभर्सिटी अफ न्यू मेक्सिको, स्कूल अफ  मेडिसिन, अमेरिकाका प्राध्यापक डा. मार्क हाउसवाल्ड र प्रसूतिरोग विशेषज्ञ डा. न्यान्सी एल केरले साइकल ट्यूब प्रविधिलाई नेपाल र पपुआ न्यूगिनीका दक्ष प्रसूतिकर्मी र नर्समाझ बिस्तार गरेर अपेक्षित सफलता पाइसकेको बताएका छन्।

अधिक रक्तस्राव भएर इमर्जेन्सी परेका बखत रगत खिचेर (स्क्वीजीङ) शरीरको प्रमुख अंगहरू मुटु, मष्तिष्क, फोक्सो, मिर्गौला र कलेजोमा प्रवाह गराइन्छ। त्यतिखेर गोडा सक्रिय नहुने हुँदा रगत कम प्रवाह भए पनि खासै असर नपर्ने भएकाले ट्यूबमा रहेको हावाको चापले गोडाको रगत अन्यत्रै पठाइने डा. मार्कले बताए।

‘दक्ष प्रसूतिकर्मीले यस प्रविधि अपनाउँदै दुबै देशका ८० जना सुत्केरी महिलालाई अस्पतालमा रेफर गरेकाले ती महिलालाई बचाउन सकिएको छ। नेपालमा मात्रै ६४ वटा केश रेफर भएका थिए,’ डा. मार्कले भने ‘अधिकांश बर्थिङ सेन्टरमा एक जनामात्रै दक्ष प्रसूतिकर्मी हुने र उनीहरुले यो विधि अपनाउँदै उपचार गरिराख्न सहयोगी नहुँदासम्म गाह्रो हुने भएकाले हामी पनि विकल्पको खोजीमा रहेका थियौं,’ उनले थपे।

इमर्जेन्सी केशमा मात्रै शरीरको कुनै भागमा हावाको चाप दिएर रगत खिच्ने प्रणालीलाई डा. मार्कले यूनिभर्सिटीकै मेडिकलमा अधिक रक्तस्राव भएर ल्याएकी महिलामा प्रयोग गरेर रक्तस्राव रोक्न सफल भएको दृष्टान्त दिए।

‘ती महिलाको २० हप्ताको गर्भ खेर गएको रहेछ । उनको पति घरमा नभएको र फोन पनि बिग्रेको रहेछ। निरन्तर रक्तस्राव भएको थाहा पाएर छिमेकीले अस्पताल ल्याइपुर्‍याए। चार पिन्ट रगत आईभी चढाएँ। तल्लो पेटमा बलजस्तै सामग्रीले हावाको चाप पैदा गराएँ। पाठेघर सफा गरेर भोलिपल्ट घर पठाउन सकेँ,' इमर्जेन्सी मेडिसिनका प्राध्यापकसमेत रहेका डा. मार्कले भने।

यही घटनाले वर्षौंदेखि विकल्पको खोजीमा रहेका डा. मार्कलाई हौस्यायो, र विकासोन्मुख देशका बर्थिङ सेन्टरका लागि सुलभ प्रविधिको रूपमा फुटबल/भलिबलमार्फत हावाको चाप दिने प्रविधिको विकास गरे।

‘एउटा बल, हावा दिने पम्प, पीन र बाँध्ने कपडा (बाइण्डर) यी चार सामग्री उपलब्ध भएमा दक्ष प्रसूतिकर्मी एक्लैले प्रयोग गर्दै सुत्केरीको उपचार गर्न सक्ने र साइकल ट्यूब पनि विस्थापन हुने भएकाले पपुवा न्यूगिनीमा प्रयोगमा ल्यायौं। त्यहाँका प्रसूतिकर्मीहरुले ठूलो सफलता हासिल भएको जानकारी दिएका छन्,’ प्रसूतिरोग विशेषज्ञ डा. न्यान्सीले भनिन्।

सन् २०११ देखि नै धुलिखेल अस्पतालको स्त्री तथा प्रसूति रोग विभागसँग मिलेर धुलिकखेलका मुख्य अस्पताल र  आठ वटा जिल्लाका २० वटा सामुदायिक स्वास्थ्य केन्द्र(आउटरिच सेन्टर) का सबै दक्ष प्रसूतिकर्मीलाई मार्क र न्यान्सीले समयानुकुल ज्ञान र सीप प्रदान गर्दै आएका हुन्। यसपटक उनीहरूले विकास गरेको ‘मामा सेभर बल एण्ड बाइण्डर’ प्रविधि विस्तार गर्दै नेपालको मातृ मृत्यु दर घटाउने अभियानमा फेरि यहाँ आएका हुन्।

संसारभर नै मातृ मृत्युको प्रमुख कारकका रूपमा असुरक्षित गर्भपतनपछिको संक्रमण, उच्च रक्तचापका जटिलता र प्रसवोत्तर समयको अधिक रक्तस्रावलाई लिइएको छ।

 ‘महिलाको अकालमा मृत्यु हुनुका कारणमध्ये सुत्केरीलगत्तै अधिक रक्तस्राव हुनु प्रमुख हो। यस्तो अवस्था आएमा तल्लो पेटमा चाप दिएर पाठेघर एवं  यसका वरिपरिका अंगमा रक्त प्रवाह घटाउनमा साइकल ट्यूबको प्रयोग गरिँदै आइएको थियो,’ धुलिखेल अस्पताल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुमनराज ताम्राकारले भने, ‘अबको नयाँ तरिकमा पेटमा चाप दिइने साधन (बल एण्ड बाइण्डर)बाट प्रसवोत्तर समयमा रक्तस्राव घटाई अधिक रक्तस्रावका कारण हुने मृत्युलाई जोगाउन मद्दत हुने भयो,’ उनले थपे।

 ‘बलको प्रयोगमा पिनको माध्यमले बिस्तारै हावा फुस्काउन र भर्न सजिलो हुने भएकाले रक्तस्रावको मात्रा हेर्दै हावाको चाप घटाउन–बढाउन सकिने भयो। साइकल ट्यूबमा हावाको चाप घटाउन–बढाउन अलि समस्या नै थियो’, डा. ताम्राकारले भने।

इमर्जेन्सी अवस्थामा यसरी रगत खिच्ने विधिमा कसैकसैलाई गोडामा झमझम हुन सक्ने संभावना रहेकाले त्यसको यकिनका लागि अस्पतालमा कार्यरत १२ जना स्वास्थ्यकर्मीलाई पेटमा हावाको चाप दिइने साधनबाट परीक्षण गरेर उनीहरुको  सुझाव लिइएको ताम्राकारल बताए।

तालिममा सहभागी सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, भक्तपुर र काठमाडौं जिल्लाका गरी ९६ जना दक्ष प्रसूतिकर्मीलाई लाई ‘मामा सेभर बल एण्ड बाइन्डर’ बारे प्रयोगात्मक ज्ञानसहित सबैलाई एक/एक सेट सामग्रीसमेत हस्तान्तरण गरिएको छ।

‘व्यवस्थापन समितिलाई अनुरोध गरेर थप केही फुटबल, पम्प र बाइण्डर किन्न लगाउँछौं। केही गरी एकैपटक धेरै जटील केश आइहालेमा यसको प्रयोग गर्दै एकै समयमा रेफर गर्न सहज हुन्छ’, ठूलोपर्सेल हेल्थ पोष्टकी सिनियर अनमी गीता सेढाइँले भनिन्।

पहिलो पटक अभ्यास गर्न पाएको यस विधिले सुत्केरीपछिको अधिक रक्तस्रावमात्रै नभई यसबाट अपूर्ण गर्भपतन, पाठेघरमा मासु पलाएर हुने रक्तस्राव, परिवार नियोजनका साधन निकाल्दाको रक्तस्राव र महिनावारी रोकिने क्रमको अत्यधिक रक्तस्रावमा समेत रोकेर तत्तकाल अस्पताल रेफर गर्नमा उपयोगी हुने नाला हेल्थपोष्टकी सिनियर अनमी रूपा कर्माचार्यको भनाई रहेको छ।

प्रकाशित: ४ भाद्र २०७४ ०४:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App