८ वैशाख २०८१ शनिबार
समाज

राहतको पर्खाइमा टापुगाउँ ‘गोबरगाढा’

गोबरगाढा(सप्तरी)- ‘निर्वाचनका बेला भोट माग्न आउने, जितेपछि मुख नदेखाउने’ राजनीतिक नेतृत्वप्रतिको यो सदाबहार गुनासोजस्तै मधेसमा अहिले राजनीतिक दलमाथि रगतको राजनीति गरेको आरोप लाग्न थालेको छ। सर्वसाधारणको भनाइ छ– ‘आन्दोलनको आह्वानमा ‘आमजन’ (गैरराजनीतिक व्यक्ति) मर्न लगाएर ‘ब्लड पोलिटिक्स’ (रगतको राजनीति) गर्ने काम भइरहेको छ।'

गत शुक्राबार चुरे तथा समथर (मधेस) मा परेको वर्षाले मधेसका जिल्ला बाढीको चपेटामा पर्‍यो। यसबाट कति मानवीय र भौतिक क्षति भयो भन्ने मूल्यांकन गर्न पनि केही महिना लाग्ने देखिएको छ। बाढीले धेरैलाई बेघर बनाएको सप्तरीको भारदह तेस्रो मधेस आन्दोलन (०७२) मा चर्चामा थियो। कारण भारदहमै स्थानीय राजेन्द्र राउत ‘राजीव’ ले आन्दोलनमा सहादत पाएका थिए। उनको लासको भर्‍याङ चढेर मधेस केन्द्रित दलको नेतृत्व आन्दोलनको आगो मधेसभरि फैलाएर आफ्नो स्वार्थको राजनीति गर्दैछन्। यता बाढीले उनको भारदहस्थित घर डुबाएका कारण उनको परिवार बिच्चलीमा छ।

सहिद राजीव पत्नी नीलम भन्छिन्, ‘माइत गएका बेला आएको बाढीले सारा सामान बगाइदियो। बुधबार फर्केर आउँदा घरमात्र थियो अन्न, लत्तकपडा सबै भिजेर काम नलाग्ने भएका छन्।'

उनले मधेसी नेतृत्वसँग आफ्नो पीडामा मलमरूपी राहतको ठूलो अपेक्षा गरेकी थिइन्। 'मधेस आन्दोलनका बेला एकदुई पटक नेताहरू आए पनि अहिले फर्केका छैनन्,’ उनले भनिन्। विपद्मा अपरिचितले पनि सहानुभूति देखाउँछन्। ‘राहतको पोको लिएर नआएपछि उहाँहरू (मधेसी नेतृत्व) सोध्न आए पनि मन रहन्थ्यो', उनले भनिन्, ‘जसका लागि पतिले प्राण त्यागे उही बिरानो भइदियो।’

राहतको पर्खाइमा ‘टापुगाउँ’

हेर्दाहेर्दै फुसको घर पानीले डुबायो। दैनिक गुजाराका लागि डुंगा चढेर हनुमानगर बजारबाट किनेर लगेको चामलदाल सबै बाढीले बगायो। ‘बाढी आयो, बाढी आयो...' गाउँभरि कोलाहल मच्चियो। विपत्मा ज्यान जोगाउनु कि सामान? ज्यान जोगाउनतिर लागे। 'हेर्दाहेर्दै फुसको घर पानीमा पग्लेर ढल्यो। आँखैअगाडि उत्तरबाट आएको बाढीले ढलेको घर सबै बगाएर दक्षिणतिर लग्यो', बाढीको त्यो क्षण सम्झँदै टापुगाउँ भनेर चिनिने सप्तरी गोबरगाढाकी छोटकीदेवी मुखियाले भनिन्। बाढीले बास गुमाएकी छोटकी डुबानक्षेत्रमै खुला आकाशमुनि जसोतसो दुई दिन काट्न बाध्य भइन्। कारण थियो– टापुगाउँबाट उँचो स्थान (सुरक्षित स्थान) आउने एकमात्र साधन ‘डुँगा’ नहुनु। डुँगा नहुँदा बाढीपीडित छोटकी मात्र नभई १५० घरपरिवार पानीमा थुनिएर बस्न बाध्य भए।

पानी कम भएपछि बाढीपीडितहरु सुरक्षित बास खोज्दै हनुमाननगर–कुनौली बाँधमा आएर आश्रय लिएर बसे। सुक्खा ठाउँमा आश्रय लिनुको आस थियो— सरकारी राहत पाउने। तर, चार दिनसम्म बस्दा पनि राहतको पोको नपुगेपछि टापुगाउँका बाढीपीडित गाउँ फर्कंदैछन्।

स्थानीय मुनचुन मुखियाले गुनासो पोखे, 'सुक्खा ठाउँमा आश्रय लिँदा पनि सरकारी राहत नपाएपछि गाउँ फर्कें। मर्नु बाँच्नु यहीं छ, गाउँ छोडेर कति दिन बाहिर बस्नु?' उनले जसोतसो घर ठड्याएर नयाँ जिन्दगी सुरु गर्ने बताए।

गाउँका मानिस सरकारप्रति रुष्ट देखिनुको कारण आंैल्याउँदै स्वयंसेवीकासमेत रहेकी सुशीला रजक भन्छिन्,‘ जिन्दगी जोड्ने सहारा डुंगा दिन नसक्ने सरकारसँग के आस गर्ने?’ गोबरगाढाबासीका लागि बाढीसँग संघर्ष नौलो विषय होइन। वर्षमा तीन महिना उनीहरु पानी र बाढीसँग संघर्ष गर्छन्। ‘हाम्रो संघर्ष बाढीसँग मात्र कहाँ छ?' स्थानीय सकलदेव सदाय भन्छन, ‘जिन्दगी बाँच्न गाउँका उपल्ला जातिसँग पनि संघर्ष गर्नुपर्छ।’

 ‘बाढीले बेघर बनाएको एक साता बित्यो, ‘एक मुठी’ राहत पाएनांै’ सदायले भने, 'यो सरकार हाम्रा लागि होइन?’

हनुमानगर कँकालिनी नगरपालिकामा गाभिएको यहाँका नागरिक राज्यबाट पाउने समान्य सेवासुविधाबाट समेत वञ्चित छन्।

चारैतिरबाट कोसीको भँगालोले घेरिएका उनीहरूको दैनिकी असाध्यै कष्टकर छ। बर्खाका बेला झनै बसिसाध्य हुँदैन। त्यस बेला धेरैजसो परिवार हनुमाननगर, योगिनिया, भारदह, कोसी ब्यारेजलगायत क्षेत्रमा बस्न बाध्य हुन्छन््। यहाँ झन्डै १ सय ५० परिवार बस्छन्। यादव, मुखिया, सदाय, पासवानलगायत जातिको मिश्रित बसोवास छ, यहाँ।

पशुचौपाया पाल्ने, दूध बेच्ने, माछा मार्ने काम गरेर गुजारा चलाउँदै आएका छन् यहाँका स्थानीय। बाढीले अधिकांश घरका चौपाया बगाएको छ। कोसीको भँगालोमा बगेर आएका अन्य थुप्रै चौपाया यही बस्ती वरपर थुप्रिएर दुर्गन्ध फैलिएको छ। सकलदेव भन्छन्, ‘दुर्गन्धले बसिनसक्नु छ, विकल्प नभएपछि दुर्गन्ध सहनै पर्‍यो।’ बाढीले जमिन गिलो भएपछि विषालु सर्पको बिगबिगी छ। विद्युतीय सुविधाबाट वञ्चित गाउँका स्थानीय टुकीको भरमा रात काट्न बाध्य छन्। सदाय भन्छन्, ‘गाउँलाई उज्यालो पार्न आएको १२५ थान सोलार लाइट बाटोबाटै हरायो।’

उनले भने, ‘बाढीको कहरबाट त भगवान्ले बचायो। सोलार जडान गरिदिएर सर्पको कहरबाट बचाइदिनुस् सरकार!’

गोबरगाढा पुग्न कठिन भएकाले गैरसरकारी संस्थाको राहत पनि यहाँ पुग्न सकेको छैन। त्यस्तै बाढी प्रभावितको तथ्यांक संकलन गर्न सरकारी टोली त्यहाँ पुगेको छैन।

शनिवार यहाँका बाढीपीडितलाई विदेशमा श्रम गर्नेहरुले पठाएको राहतको पोको वितरण गरिएको छ। सञ्चारकर्मी बिपी साहले चामल, दाल, नुन बस्तीका पीडितलाई वितरण गरेका छन्।

सरकारी राहत परेवाको चारा

शनिवार दिउँसो तिलाठीकोइलाडी गाउँपालिका ५ बनरझुलामा बाढीपीडितलाई सरकारी राहत वितरण हुँदै थियो। हनुमाननगर–कुनौली बाँधमा आश्रय लिएर बसेकालाई राहत वितरण गरिएको हो। गाउँपालिकामार्फत ३१० बाढीपीडित परिवारका लागि १० किलोग्रामको एक बोरा मुरही (भुजा) र आधा किलोग्रामको २० पोका चिउरा (१० किलो) प्राप्त भएको वितरणको जिम्मा पाएका राजेन्द्र रायले बताए।

'एक परिवारलाई २५ ग्रामको दरले भुजा वितरण गर्दा मान्छे आक्रोशित त हुन्छ नि', स्थानीय रामकुमार रायले भने, ‘हप्ता दिनमा सरकारी राहत पाइयो, त्यो पनि परेवाको चारा जत्ति।’ यसअघि गाउँलेलाई जिल्ला दैवीप्रकोप उद्धार समितिबाट १७ पोका चामल प्राप्त भएको थियो। उनले भने, ‘चामलको पाका खोल्दा ह्वास्स गनाउने। कुहिएको चामल अहिले पनि त्यत्तिकै थन्केको छ।'

विस्थापित हुनेमा धेरै विपन्न

जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेका अनुसार बाढी प्रभावित सम्पूर्ण परिवारमा राहत पुगिसकेको छ। कतिपय परिवारमा राहत दोहेार्‍याएर पनि पुगेको दाबी उनले गरे।

यहाँ बाढीबाट करिब १ लाख व्यक्ति प्रभावित रहेको सरकारी तथ्यांक छ। करिब १ हजार परिवार विस्थापित भएको अनुमान छ।

बाढीबाट यहाँ सदाय, पासवान, मुखिया, राय जाति बढी प्रभावित छन्। बनरझुलामा त्रिपालमुनि आश्रय लिएर बसेकामध्ये धेरैजसो विस्थापित विपन्न छन्। तर, उनीहरूमध्ये धेरैले सरकारी राहतको स्वाद चाख्न पाएका छैनन्।  स्थानीय भन्छन्, 'राहतमा राजनीति भएर हामी राहतबाट वञ्चित भएका हौं।'

राहत वितरणका लागि संयोजक तोकिएका स्थानीय जागेश्वार राय भन्छन्, ‘दुई दिनअघि प्रमुख जिल्ला अधिकारीले दुईवटा ट्याक्टरमा राहत लिएर जानुस्, भन्नुभयो। तर, पछि त्यो भनाइमा मात्र सीमित भयो, हामीले राहत पाएनांै।'

प्रकाशित: ४ भाद्र २०७४ ०४:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App