coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

बसमा कल्पनाको उडान

काठमाडौं- यातायात यस्तो साधन हो जहाँ यात्राका क्रममा माानिसले कसैलाई पाउँछ र कसैलाई गुमाउँछ। बलिउड फिल्ममा ट्रेन यात्राले जोडेका यस्ता धेरै सम्बन्धका कथा पर्दामा रोचक हिसाबले प्रस्तुत भएका छन्। तर, नेपालको बस यात्रा रोचक नभएरै होला नेपाली फिल्ममा बसयात्रामा जोडिने  सम्बन्धका रोचक कथा पर्दामा आएका छैनन्। अझ नाटकमा त यस्तो कथामा बनेका नाटक छैनन् भन्दा पनि हुन्छ। तर, मण्डला थिएटरमा चलिरहेको नाटक अपवाद बनेर आएको छ। मण्डलामा हाल चलिरहेको नाटक 'को १ ६ , ६ एक ६' ले बसयात्राका क्रममा एक युवकले गर्ने कल्पनालाई विषय बनाएर नाटक तयार गरेको छ। नाटकका थप दुई विशेषता पनि छन्, नाटक सांगीतिक छ र नाटक संवादविहीन छ।

नाटकको कथा सुरु हुन्छ एउटा युवक (अमृत ढुंगाना)को बिराटनगरदेखि बेलबारीसम्मको यात्रासँगै। युवक गाडीमा चढ्दा उसले देख्छ उसकै उमेर हाराहारीकी युवती आकाशे रङको सुन्दर लुगामा कानमा एयरफोन लगाएर मस्तसँग केही सुनिरहेकी हुन्छे। आम टिनएजरलाई जस्तै युवकलाई पनि युवतीलाई देख्नासाथ 'लभ एट फर्ष्ट साइट' हुन्छ। तर, लजालु स्वभावको युवक न केटीको छेउमा बस्न सक्छ न केटीलाई आफ्नो मनको कुरा भन्न सक्छ। उसले गर्न सक्ने एउटै कुरा छ र त्यो हो कल्पना। करिब एक घन्टाको नाटक युवकको त्यही कल्पना र यथार्थमा रुमल्लिएको छ।

आधा सुर अर्थात् रोशनराज थापाले संगीतमार्फत् कथा भन्नलाई साधारण कथा छानेका छन्। कथामा उनले टिनएजर अर्थात् २०/२२ वर्षको युवाको मनोविज्ञानलाई पस्कने प्रयास गरेका छन् जसमा उनी सफल छन्। कुनै राम्री केटी देख्ने बित्तिकै कल्पनाको संसार बनाउन तम्सने तर केटीलाई आफ्नो मनको कुरा भन्न नसक्ने युवाको मनोविज्ञान उनले राम्ररी पस्केका छन्। धेरै मानिसले अमृतले निर्वाह गरेको चरित्रलाई अनभूत गर्न सक्छन्। नेपालमा कसै न कसैले कुनै न कुनै समय आफ्नो सिट छेउछाउ राम्री युवती देखेर कल्पनाको उडान भरेकै हुन्छ। यस हिसाबले रोशनले चरित्र चित्रणमा सफलता पाएका छन्।

नाटकमा यात्राका दुई तह छन्। एउटा यात्रा चरित्रको भौतिक छ भने दोस्रो यात्रा कल्पनाको छ। तर, दर्शकलाई मुख्य चरित्रको भौतिक यात्राभन्दा पनि कल्पनाको यात्राले आनन्दित तुल्याउँछ। यथार्थको यात्रालाई थप रोचक बनाउन भने रोशनको समूह चुकेको छ। नाटकमा ज्यादा उतार चढाव छैन र नाटकले प्रेमलाई मुख्य कथाको रूपमा अगाडि बढाएको छ। नाटकमा सामाजिक विषयका गहकिला खुराक खोज्न जाने दर्शकलाई भने यसले निराश बनाउन सक्छ तर नाटकको विषय र चरित्रको उमेर र मनोविज्ञानलाई बुझ्ने हो भने नाटक ठीकै छ।

नाटकको राम्रो पक्ष मध्ये एक हो, सेट डिजाइन। रोशनको समूहले यात्राका लागि गज्जबको गाडी बनाएको छ। गाडीलाई कलाकारले मञ्चका रूपमा लोभलाग्दो प्रस्तुति गरेका छन्।

कलाकारको रूपमा अमृतको अभिनय स्वभाविक छ। २० वर्षे मध्यमवर्गीय युवकको रूपमा अमृतले आफूलाई विश्वनीय बनाएका छन्।  अधिकांश समय गीत सुनेर बसिरहने युवतीको रूपमा निशाले पनि दर्शकका ध्यान तानेकी छिन्। ड्राइभरको बनेका अनुप न्यौपाने, खलाँसी मिलन कार्की, पण्डित आयान खड्का, गुन्डा रोहित पौडेल र विभिन्न भूमिकामा देखिने रियर राईले राम्रो अभिनय गरेका छन्। नाटकमा पुष्कर कार्की र सागर दाहालको पनि अभिनय रहेको छ।

संगीतको भरपुर भएको नाटकमा  आधासुर, सरूभक्त, विवेक ओझा र सिजन दाहालले गीतमा शब्द भरेका छन् भने र वाद्यवादनमा आधासुर, दीपक श्रेष्ठ, दीक्षित अधिकारी र निरज रेग्मी रहेका छन्। आगामी भा› १७ गते सम्म मण्डला नाटकघर अनामनगरमा यो नाटक सोमबार बाहेक हरेकदिन साँझ साढे पाँच बजे र  शनिबार दिउँसो १ बजे पनि अतिरिक्त शो मञ्चन भैरहेको छ।

प्रकाशित: ५ भाद्र २०७४ ०४:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App