coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

दसैंलाई २५ सय खसीबोका ल्याइँदै

काठमाडौं- सरकारी स्वामित्वको नेपाल खाद्य संस्थानले यसपालिको दसैंलाई दुई हजार पाँच सय  खसीबोका र च्यांग्रा राजधानी ल्याउने भएको छ। डेढ महिनापछिको दसैंमा उपत्यकामा हुने मासुको उच्च मागलाई ध्यानमा राखेर संस्थानले खसीबोका र च्यांग्रा ल्याउन लागेको हो।

यसपालिको दसैंलाई २५ सय खसीबोका र च्यांग्रा राजधानी ल्याउन लागिएको संस्थानका प्रवक्ता शंकर सापकोटाले बताए। 'यसपालि खसीबोका र च्यांगा गरेर २५ सयवटा ल्याउने निर्णय भएको छ,' सापकोटाले आइतबार नागरिकसँग भने, 'उक्त खसीबोका मुस्ताङ, मकवानपुर र दाङबाट ल्याउने प्रारम्भिक योजना बनेको छ।'

संस्थानले मुस्ताङबाट एक हजार च्यांग्रा ल्याउने तयारी गरेको छ। त्यस्तै, मकवानपुर र दाङबाट १५ सय खसीबोका ल्याइने छ। खसीबोका घटस्थापनाको १–२ दिनअघि मात्र काठमाडौं आइपुग्ने छन्।

संस्थानले यसपालि पोहोरभन्दा केही कम खसीबोका ल्याउँदै छ। गत वर्ष जम्मा २८ सय खसीबोका ल्याइएकोमा च्यांग्रा १४ सय ५० र खसीबोका १३ सय थिए। गत वर्ष निजी क्षेत्रबाट प्रशस्त मात्रामा खसीबोका ल्याइएकाले संस्थानका खसीबोका कम बिक्री भएका थिए। पोहारको अनुभवलाई ध्यानमा राखेर यसपालि केही कम ल्याउन लागेको सापकोटाले बताए। पोहोरभन्दा थोरै मात्रामा कम भए पनि बजारको लागि पर्याप्त हुने संस्थानले जनाएको छ। 'यसपालि ल्याउने खसीबोका पनि कम होइन, यो बजारको लागि पर्याप्त हुन्छ,' सापकोटाले भने, 'हामीले ठूलो व्यवसाय गर्नुभन्दा पनि बजार मूल्यलाई सन्तुलनमा राख्नेछौं।'

मुस्ताङमा किनिएका च्यांग्रा झन्डै एक हप्ताको यात्रापछि काठमाडौं आउने छन्। मुस्ताङमा स्थानीय समूहबाट संकलित च्यांग्रालाई दुई दिनको बाटो हिँडाएर म्याग्दीको बेनीसम्म ल्याइनेछ र त्यहाँबाट गाडीमा राखेर काठमाडौं ल्याउने व्यवस्था मिलाएको सापकोटाले बताए।

लामो यात्रा गर्दा विगतमा कैयौं च्यांग्रा, खसीबोका मरेका पनि थिए। लामो यात्रा गरेर आउने, ट्रकमा ल्याउँदा बाटोमा समस्या हुने, एक अर्काले थिचिएर मर्ने गरेको संस्थानले जनाएको छ। १–२ घटना सामान्य भए पनि त्यो हुन नदिन सकेसम्म सतर्कता अपनाइएको सापकोटाको भनाइ छ। स्थानीय गाउँबाट खसीबोका ल्याउँदा भेटेरिनरीमा चेकजाँच गरेर स्वस्थ खसीबोका मात्र ल्याइने सापकोटाले बताए। 

खसीबोका र च्यांग्राको मूल्य भने यकिन भइसकेको छैन। स्थानीय गाउँमा खसीबोका संकलन गरेर मूल्य तोकिएपछि मात्र काठमाडौंमा कति पर्ने यकिन हुनेछ। स्थानीय तहमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, भेटेरिनरी डाक्टर र स्थानीय मिलेर मूल्य तोकिन्छ। मुस्ताङमा च्यांग्रा किन्दा गोठ नै उठाउनुपर्ने नियम छ।

संस्थानले ल्याउने खसीबोकाको मूल्य निजी क्षेत्रको भन्दा केही सस्तो पर्नेछ। संस्थानका अनुसार उसले गत वर्ष तोकेको मूल्य बजारको भन्दा प्रतिकेजी पाँच रुपैयाँ सस्तो थियो। 'संस्थानको उपस्थितिले बजारमा मनोवैज्ञानिक दबाब सिर्जना गर्छ,' सापकोटाले भने, 'हामीले धेरै ल्याएर व्यवसाय गर्नुभन्दा पनि बजार भाउ नियन्त्रण र सन्तुलनमा राख्न सहयोग गर्ने हो।' मुस्ताङबाट ल्याइएको च्यांग्रा भने खसीबोकाभन्दा केही महँगो पर्नेछ।

संस्थानले २०५७ सालपछि गत वर्षदेखि मात्र मुस्ताङका च्यांग्रा ल्याउन थालेको हो। २०५७ सालअघि संस्थानले नियमित च्यांग्रा ल्याउँथ्यो।

गत वर्ष सिराहाको लाहानबाट खसीबोका ल्याइएको थियो। यसपालि उक्त क्षेत्रमा चुनाव लागेकाले ल्याउन अप्ठेरो पर्न सक्ने भएकाले चुनाव सम्पन्न भएका ठाउँबाट ल्याउने तयारी भएको सापकोटाले बताए।

भदौ १८ बाट सुपथ मूल्य पसल

संस्थानले हरेक वर्ष दसैंका बेला सञ्चालन गर्ने सुपथ मूल्य पसललाई यसपालि पनि निरन्तता दिने भएको छ। उपत्यकाका विभिन्न ठाउँमा १८ गतेदेखि सस्तो पसल राख्ने तयारी भएको सापकोटाले बताए।

थापाथली, नख्खु, रामशाहपथ, सूर्यविनायक, जाउलाखेल, कोटेश्वर, कुलेश्वर, टेकुमा सुपथ मूल्यका पसल राख्ने तयारी संस्थानले गरेको छ। सकेसम्म सबै क्षेत्रमा पर्ने गरी सुपथ मूल्यका पसल खोलिने संस्थानले जनाएको छ। संस्थाले मूल्य वृद्धि, खाद्यान्न अभाव हुन नदिन सुपथ मूल्य पसल राख्दै आएको छ।

उपत्यकामा मात्र सञ्चालन गर्दै आएको सहुलियत मूल्यका पसललाई माग भएका बाहिरी जिल्लामा पनि सञ्चालन गर्न सकिने सापकोटाले बताए। संस्थानले पोहोर साल सुर्खेतमा पनि यस्तै किसिमको पसल सञ्चालन गरेको थियो।

प्रकाशित: ५ भाद्र २०७४ ०५:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App