१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बाढीपीडितलाई शीघ्र राहत पुर्‍याउन सांसदहरुको माग

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता माधवकुमार नेपालले विपद् व्यवस्थापन र पीडितसामु राहत पुर्‍याउने काममा सरकार असफल भएको बताएका छन्। 

व्यवस्थापिका–संसद्को आजको विशेष समयमा भाग लिँदै उनले भने – “हामी जनताको समस्याप्रति गम्भीर हुन सकेका छैनौँ। सबैभन्दा धेरै मारमा परेको जनताको संख्या अझै पहिचान हुन सकेको छैन।” 

राहत पाउनुपर्नेले नपाउनु र नपाउनु पर्नेले पाउनु भनेको स्थानीय तहको निर्वाचन समयमै नगर्दाको परिणति भएको बताउँदै नेता नेपालले भने – “बाढीपहिरो र डुबान क्षेत्रमा अत्यावश्यक खाद्यान्न, त्रिपाल, लुगाफाटो र औषधि पठाउनेतर्फ राज्यको ध्यान जाओस्।” 

साउन २७ देखि परेको वर्षा र बाढीबाट रौतहट जिल्लालगायत देशका धेरै भागमा अहिलेसम्म १३५ जनाको मृत्यु भएको र धेरै ठूलो सम्पत्तिको नोक्सानी भएको बताउँदै उनले भने – “जलवायु परिवर्तनको असरलाई न्यून गर्न हामीले कति आवाज उठाउन सकेका छौँ, त्यसबारे सबैले गम्भीरतापूर्वक पुनरवलोकन गर्न र सोच्न आवश्यक छ। दक्षिणमा सीमा क्षेत्रमा बनाइएको तटबन्धको कारण तराईको जनजीवन चौपट हुने गरेको छ।”

रौतहटमा मात्र चार लाख जनता प्रभावित हुनाका साथै रु तीन अर्बभन्दा बढीको क्षति भएको उनले उल्लेख गरे। 

संघीय समाजवादी फोरम नेपाल सांसद डा शिवजी यादवले हालै आएको बाढी, पहिरो र डुबानको कारण मुलुकका विभिन्न जिल्लामा भएको जनधनको क्षतिबारे अध्ययन गर्न विशेष समिति गठनको माग गरे। उनले संविधान संशोधनको प्रस्तावलाई विश्व समुदायले नै गहिरो चासोको साथ हेर्दै आएकाले छिटो छिनोफानो हुनुपर्ने बताए। 

मधेशी जनअधिकार फोरमका लोकतान्त्रिकका सचेतक योगेन्द्र चौधरीले संविधान संशोधन गर्दा मुलुकमा थारुले उठाएको माग पनि सम्बोधन गरिनुपर्दछ भने। 

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आसन्न भारत भ्रमणका बेला तराईको डुबान समस्याबारेमा स्पष्टसँग कुरा राख्न प्रधानमन्त्रीसँग आग्रह गरे। 

नेकपा मालेका सांसद सिपी मैनालीले अन्तर्राष्ट्रिय मापदण्डविपरीत सीमा क्षेत्रमा बनाइएको बाँध र सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रणका विषय भारतसामु उठाउन सुझाव दिए। 

राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र यादवले सबै नेपालीका लागि समान अधिकार दिने र संविधान कार्यान्वयन गर्ने सन्दर्भमा हुन लागेको संविधान संशोधनको पक्षमा उभिन सबै राजनीतिक दललाई आग्रह गरे। 

नेपाली काँग्रेसका शेषनाथ अधिकारीले नारायणी र राप्ती नदीले चितवनमा बालीनालीमा धेरै क्षति पु¥याएको बताउँदै त्यस क्षेत्रका खोलामा बलियो तटबन्ध निर्माण गर्न माग गरे।
 
राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्रीले आफ्नो आसन्न भारत भ्रमणका बेला भारतले बनाएको बाँधबाट उब्जिने डुबान समस्या र कोशी बाँधको साँचोको विषय स्पष्ट रुपमा कुरा राख्नुपर्ने सुझाव दिए। 

बाढी पीडितलाई तत्काल राहतको माग 

व्यवस्थापिका–संसद्को आजको शून्य समयमा भाग लिने अधिकांश सदस्यले हालै मुलुकका विभिन्न भागमा गएको बाढीपहिरो र डुबानबाट पीडित जनतालाई राहत र बसोबासको व्यवस्था मिलाउन सरकारसँग माग गरे। 

डुबान क्षेत्रमा फैलन सक्ने रोगब्याधिलाई समयमै नियन्त्रण गर्न विशेषज्ञसहितको स्वास्थ्य टोली खटाउन तथा सदाका लागि खोला नियन्त्रण गर्न बलियो तटबन्धको व्यवस्था गर्न पनि उहाँहरुले सरकारको ध्यानाकर्षण गराए। 

काठमाडौँमा ल्याउन लागिएको मेलम्चीको मुहानमा जंगली सुँगुरले दूषित बनाएको हुँदा त्यस क्षेत्रबाट सँगुर हटाउन पनि सांसदले माग गरे। 
आजको शून्य समयमा सांसदहरु शान्तिदेवी चौधरी, शेरबहादुर तामाङ, शारदाकुमारी विश्वकर्मा, सीता नेपाली, हर्कबोल राई, हरिबहादुर राजवंशी, शिवचन्द्र चौधरी र शिवलाल थापाले तराईका अधिकांश जिल्लाका जनताले बाढीपहिरो र डुबानका कारण दुःख झेल्नुपरेकाले उनीहरुलाई तत्काल राहत र बसोबासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गरेका थिए। रासस 

प्रकाशित: ५ भाद्र २०७४ १०:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App