काठमाडौं- नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धन नेतृत्वले पेस गरेको संविधान संशोधन (दोस्रो संशोधन) विधेयक–२०७४ विफल भएको छ। विधेयक अनुमोदन गराउन सोमबार संसद्मा भएको मतदानमा ४८ मत जुटाउन नसक्दा नेपालको संविधान संशोधन प्रयास विफल भएको हो। विधेयकका पक्षमा ३ सय ४७ मत र विपक्षमा २ सय ६ मत खसेको थियो। उक्त संशोधन पास गराउन सत्तारूढ दलले ३ सय ९५ मत जुटाउनुपर्ने थियो।
गत चैत २९ गते दोस्रोपटक पेस गरेको संविधान संशोधन प्रस्ताव चार महिना लामो रस्साकस्सी पछि मतदानमा लगिएको हो।
'संसद्को कुल संख्या ५ सय ९२ मतको दुई तिहाइ मत नभएकाले संविधान संशोधन (दोस्रो संशोधन) विधेयक–२०७४ अस्वीकृत भएको घोषणा गर्दछु,' सभामुख ओनसरी घर्तीमगरले संसद् बैठकमा भनिन्। संविधान संशोधन विधेयकमाथि परेका अन्य ४९ वटा संशोधन पनि अस्वीकृत भएका छन्।
संसद् बैठकमा संविधान संशोधन विधेयक निर्णयार्थ पेस गर्दा कुल ५ सय ९२ सांसदमध्ये ५ सय ५३ उपस्थित थिए। संसद् सचिवालयका अनुसार ३९ सांसद अनुपस्थित थिए।
तराईमधेस केन्द्रित दलका माग सम्बोधन गर्न भन्दै सरकारले गत चैत २९ गते संशोधन विधेयक दर्ता गराएको थियो। कांग्रेस र माओवादी गठबन्धनले मंसिर १० गते पेस गरेको संविधान संशोधनमा चौतर्फी विरोध भएपछि उक्त प्रस्ताव फिर्ता लिएर चैत २९ गते नयाँ प्रस्ताव दर्ता गरिएको थियो।
प्रधानमन्त्री निर्वाचनका क्रममा शेरबहादुर देउवाले ३ सय ८८ मत पाएका थिए। तर देउवा सरकारले पेस गरेको संशोधनमा भने त्यो भन्दा ४१ कम मत आएको छ।
२०७२ असोज ३ गते संविधान जारी भएपछि संविधान संशोधन गर्नुपर्ने भन्दै तराईमधेस केन्द्रित दलले आन्दोलन गर्दै आएका थिए। २०७२ असोजमा केपी ओली सरकारको नेतृत्वले पहिलोपटक संविधान संशोधन पारित गराएको थियो। त्यसपछि पुष्पकमल दाहाल नेतृत्वको सरकारले पेस गरेको संविधान संशोधन प्रस्ताव पनि विफल भएको थियो।
विपक्षी एमाले नेता सुवासचन्द्र नेम्वाङले सत्तारूढ दलले असफल गराउने उद्देश्यले नै ल्याएको उक्त संशोधन विधेयक पास हुन नसकेको बताए। 'राप्रपामा विभाजन आएपछि, पक्षधरको संख्या झन्झन् घटदै गएपछि संशोधन नियोजित रूपमा अघि बढाइयो। त्यसपछि विपक्षीले फिर्ता लिन सत्तारूढ दलसँग आग्रह पनि गर्यो,' नेम्वाङले नागरिकसँग भने, 'न संशोधन दर्ता गराउँदा विपक्षीसँग सल्लाह गरियो, न त्यसपछि हालिएको संशोधनमा पनि सल्लाह गरियो, छापामार शैलीमा आएको उक्त संशोधनबारे विशेष समिति बनाएर छलफल गरौं भन्दा पनि मान्नु भएन।' संविधान जस्तो गम्भीर विषयमा सत्तारूढ दलले प्रतिपक्षीसँग सल्लाह नगरी जबरजस्ती ल्याएका कारण विपक्षमा मतदान गर्नुपरेको नेता नेम्वाङले बताए।
'आफंैले पेस गरेको संविधान संशोधन असफल भएपछि सरकारलाई नैतिक संकट परेको छ, अब यसलाई उहाँहरूले कसरी हेर्नुहुन्छ? हामी हेर्दैछौं,' नेम्वाङले भने।
वाणिज्यमन्त्री मीन विश्वकर्माले संविधान संशोधन विधेयक पास हुने अवस्था नभएकाले संसद्मा निर्णयार्थ पेस गर्नुपरेको बताए। 'संविधान संशोधन पास गराउनका लागि निकै मिहेनत गरिएको थियो तर कसैगरी पनि पास हुने अवस्था नभएपछि निर्णायार्थ पेस गर्नुपरेको हो,' विश्वकर्माले नागरिकसँग भने, 'यसलाई टुंग्याएर जानुपर्ने माग भएपछि सरकारले हतार गरेको हो।' उनका अनुसार विपक्षीले माग गरेझंै विशेष समिति बनाए पनि हल हुने अवस्था थिएन।
संशोधन विधेयक असफल भएसँगै विधेयकमा परेका अन्य ४९ संशोधन प्रस्ताव पनि अस्वीकृत भएका छन्। एमाले सांसदले हालेका ३७, मालेका सांसदका ५ सहित सांसद रामकुमार राई, हरिचरण साह, श्यामकुमार श्रेष्ठ, लालबाबु राउत, मीना पुन, दुर्गा पौडेल, प्रेम सुवाल, गंगा चौधरी सत्गौवालगायतले हालेका ४९ वटा संशोधन प्रस्ताव अस्वीकृत भएका हुन्।
त्यसमध्ये संघीय समाजवादी फोरमका सांसद लालबाबु राउतले आफ्नो संविधान संशोधन प्रस्ताव फिर्ता नलिए पनि सत्तारूढ दलले हालेको संशोधनका पक्षमा मतदान गरेका थिए। संशोधन प्रस्ताव फिर्ता नलिए पनि सत्तारूढको प्रस्तावमा मतदान गर्नेमा हरिचरण साह, रामकुमार राई, रुक्मिणी चौधरीलगायतका सांसद छन्।
नेपाल फोरम लोकतान्त्रिकका सांसद डा. सुबोधकुमार पोखरेलले भने सामूहिक संशोधन प्रस्ताव फिर्ता लिएका थिए। 'नयाँ राजनीतिक परिस्थितिका कारण म मेरो संशोधन प्रस्ताव फिर्ता लिन्छु,' सांसद पोखरेलले भने।
सत्तारूढसँग संविधान संशोधन प्रस्तावमा सहमति जनाउँदै दर्ता गराउन साथ दिने कमल थापा नेतृत्वको राप्रपा पार्टी विभाजनपछि विपक्षमा उभिन पुगेको छ। राप्रपाका १९ जना सांसदले विपक्षमा मतदान गरेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। संविधान संशोधनको विपक्षमा मतदान गर्नेमा कमल थापा, जयन्त चन्द, दिलनाथ गिरी, विक्रमबहादुर थापा, गंगाप्रसाद यादव, कुन्तीकुमारी शाही, भाष्कर भ›ा, दिनेश श्रेष्ठ, सुशील श्रेष्ठ, परशुराम तामाङ, राजेश्वरी देवी, लीला श्रेष्ठ, भक्तबहादुर खपांगी, श्यामसुन्दर टिवडेवाला, राजकुमार अग्रवाल, रामदुलारी चौधरी, कान्ति पासी, गणेश थापा र कान्ता भट्टराई छन्।
प्रकाशित: ६ भाद्र २०७४ ०२:१४ मंगलबार