coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

नेपाल फेर्ने दश घटना

सानो कोठामा ठूलो टेबुल छ। टेबुलमा नेपालको दुईवटा झण्डा छन्। चार/पाँच जना मुस्किलले बस्न सक्ने कुर्सी कोठामा छन्। हामी कोठा पस्दा तीन/चारजना महिला उनीसँग भलाकुसारी गर्दै थिए। जनताका लागि केही गर्नु छ भन्ने भाव उनको अनुहारमा प्रस्टै देखिन्थ्यो। आँखा गडेका थिए। सर्वहाराको मुक्तिको सपना हावामा उडेको कारण होला, अनुहार भावशून्य थियो। दश वर्षे जनयुद्धले गालेको शरीर अझै पनि महिला मुक्ति र ग्रामीण गरिबीबाट नेपाली जनतालाई रूपान्तरण गर्न सकिन्छ भन्ने आत्मविश्वास तिनमा थियो। उनी थिइन्– रोल्पा नगरपालिकाकी विजयी उपमेयर मनकुमारी घर्ती। 

नेपालको भूराजनीतिमा दश वर्षभित्र ठूलो परिवर्तन आएको छ। चीन पनि खेलाडी भएको छ सक्रिय। स्वयम् भारत नै नेपालको भूराजनीतिलाई परिवर्तन गर्ने कारक बन्यो।

बाइस महिनाको काखे बच्चालाई आफन्तकहाँ छाडेर बन्दूक बोकी दश वर्षे जनयुद्धमा संलग्न उपमेयर 'त्यो बन्दूक बोक्ने म आफँै थिए र?' वा अरु कोही नै थियो भनी बढो दार्शनिक भावले प्रस्तुत भइन् हामीसँग। दुःख कष्ट सहेर जनताका लागि उत्सर्ग गर्न तयार राजनीतिक दलका अधिकांश कार्यकर्ता सामान्य अवस्थामा 'त्यो संघर्षमा लाग्ने म नै थिए र?' भन्ने प्रश्न आफैँसँग गरेको मैले कैयन्बाट सुनेको छ। २००७, २०१७, २०३६ का अनेक आन्दोलनमा लाग्ने कांग्रेसजन हुन् वा तत्कालीन झापाको वर्गशत्रु सफाया आन्दोलनमा लाग्ने युवाहरू, त्यस्तै मधेस आन्दोलन र माओवादी जनयुद्धमा लाग्ने मनकुमारी घर्ती जस्ता धेरै छन् जसलाई राजनीतिक परिवर्तनपछि दार्शनिक भाव उत्पन्न भएका छन्। पुरानो र नयाँ परिचयबीच प्रत्येक राजनीतिककर्मी अलमलिएका र बाटो बिराएका कैयन् उदाहरण छन्।

लामो संघर्ष, त्याग र बलिदानपछि नेपाल एक दशकअगाडि 'नयाँ नेपाल' मा रूपान्तरण भएको छ। अढाई सय वर्षको 'भाग्यवादी र एकल जातिवादी नेपाल' पहिलो पल्ट सबै नेपालीको साझा फूलबारी हुने क्रममा छ। रोल्पा होस् वा राजधानी, सबै जाति र वर्ग पहिचान, अधिकार र अवसरका लागि संघर्षरत् छन्। विगत दश वर्षमा नेपालमा भएका दश युगान्तकारी घटनाले नेपाललाई नयाँ आकार दिन अगाडि बढ्दैछ। नेपालको 'नयाँ सेपिङ' हुँदैछ।  के गए नेपाली समाजबाट र के नयाँ सूत्रहरुबाट नयाँ नेपालको सेपिङ हुँदैछ? हेरौँ :

गणतान्त्रिक नेपाल

अझै पनि केही नेपालीलाई नेपालको राजतन्त्र राजनीतिक दलहरूले भारतसँग साँठगाँठ गरेर समाप्त गरे भन्ने शंका छ। वास्तवमा कुनै पनि तन्त्र, संस्था र संगठनको युग हुन्छ। मानव सभ्यतामा 'ढुंगे युग' पृथ्वीबाट ढुंगा सकिएर अनि नयाँ युग प्रारम्भ भएको होइन। सभ्यता अगाडि बढ्छ र त्यसले नयाँ नयाँ आविष्कार र खोज गर्दा पुराना सभ्यता समाप्त हुन्छन्। नेपालको राजतन्त्र पनि त्यस्तै हो। नेपालको राजनीति युगान्तकारी परिवर्तनको संघारमा आइसकेको थियो र त्यसमा राजतन्त्रको भूमिका थिएन। त्यसैले एक दशकअघि यो गयो। 

राजतन्त्र गयो, गणतन्त्र नेपालमा केही कोलाहल र ठेलमठेल छ। देशको शान्ति र अमनचयन खलबलिएको भनिन्छ। गणतन्त्रको प्रारम्भिक दिनमा फ्रान्सदेखि चीनसम्म र स्वतन्त्र भएको अमेरिकादेखि भारतसम्म कोलाहाल र ठेलमठेल नै भएको थियो। अहिले देशभर स्थानीय निर्वाचनमार्फत स्थानीय नेतृत्वअगाडि आएको छ राष्ट्र निर्माणका लागि। मनोवैज्ञानिकरूपमा पहिलोपल्ट यो देश भाग्यले, राजाले र विदेशीले होइन, हामी साधारण नेपालीको परिश्रम र मेहनतले निर्माण गर्नुपर्छ भन्ने जागरण आएको छ। यो अद्भूत जागरण गणतन्त्रका कारण सम्भव भयो। नेपाल नयाँ युगमा प्रवेश गरेको यो संकेत हो। २१औँ शताब्दीको प्रारम्भमा सुरु भएको नेपालको गणतन्त्रलाई विश्व र नेपालका भावी पुस्ताले गौरव गर्नेछन् र त्यसलाई प्रमाणित गर्ने जिम्मेवारी वर्तमान पुस्तासामु छ।

संविधानसभा र नयाँ संविधान

संविधानसभाबाट नेपालको संविधान बनाउने कार्य झण्डै सात दशकपछि सम्पन्न भएको छ। कैयन् नेता र कार्यकर्ता राजनीतिलाई जनताको बीचबाट स्थापित गराउने काममा लाग्दा आफ्ना सम्पूर्ण जीवन नै समर्पण गरे। मकैको खेतीका लेखक कृष्णप्रसाद अधिकारीबाट सुरु भएको राजनीतिक संघर्ष सय वर्षभन्दा बढी चल्यो र संविधानसभाबाट संविधान जारी भयो। यस क्रममा बिपी कोइरालादेखि पुष्पलालसम्मले जनताको नेतृत्व गरे। कैयन् सहिद भए।

अनेक आरोह/अवरोह र भूराजनीति चिर्दै नेपाली जनताका प्रतिनिधिले संविधानसभामार्फत नेपालको संविधान बनाएर जारी गरेका छन्। यसरी बनाएको संविधानले नेपालको नयाँ आकार ग्रहण गर्दैछ। नेपालको संविधानले वञ्चनामा परेका, सीमान्तकृत, महिला, अल्पसंख्यक सबैलाई स्पेस दिने प्रयत्न गरेको छ। नेपालको संविधान कार्यान्वयन अगाडि बढ्दै जाँदा नयाँ नेपालको आकार पनि नयाँ ढंगले निर्माण हुँदै जानेछ। नेतृत्व तह र नीतिगत तहमा नेपालको इतिहासमै पहिलोपल्ट आमनेपाली निर्णायक हुनेछन्। महिला, दलित, आदिवासी, जनजाति, खसआर्यलगायत सबैको साझा मञ्च निर्माण गर्न नेपालको संविधानले दिशा निर्देश गरेको छ।

समावेशी लोकतन्त्र

नेपालको विविधतालाई सम्बोधन गर्ने शब्द समावेशी बन्यो। लोकतन्त्रको अगाडि धेरै विशेषणको आवश्यकता नरहेको लोकतन्त्रका विज्ञ भन्ने गर्छन् नेपालमा। तर नेपालमा निरंकुश राजतन्त्र, बहुदलीय प्रजातन्त्र र परिवारतन्त्रका शासकहरू सबैले लोकतन्त्रको नाममा एकल जातीयतन्त्रको शासन सञ्चालन गरे विगतमा।  विगतको भन्दा फरक लोकतन्त्र हो भन्ने बुझाउन पनि समावेशी शब्दलाई लोकतन्त्र अगाडि स्थापित गराउन जरुरी थियो। नेपालमा अहिले सबैभन्दा बढी प्रयोग सम्भवतः 'समावेशी' शब्द होला। यो शब्दले नेपालको लोकतन्त्रको मात्र सम्बोधन गर्दैन, यसको बहुआयामिक महत्व छ। सामान्य दलित पनि आजको नेपालमा समावेशी राज्यबारे बुझ्ने र जान्ने हुन पाएको छ भने त्यसको पछाडि यही समावेशी शब्दको कारण हो।

विविधता, लोकतन्त्र र विकास यी तीन सूत्रबाटै नेपालको संविधान निसृत छ। नेपालमा जातीय, भौगोलिक, वनस्पति, जलवायु, भाषिक अनेकन् विविधता छन्। लोकतन्त्रले यो विविधतालाई सम्बोधन गर्छ र सबै नेपालीको विकास यही सूत्रबाट सम्भव छ। नयाँ नेपालको सोच यही छ संविधानमा।

धर्म निरपेक्षता

'राज्यको धर्म हुँदैन', व्यक्तिलाई धार्मिक अस्थाकोे स्वतन्त्रता रहनुपर्छ भन्ने सोच लोकतन्त्रको मर्म हो। हिन्दु राष्ट्र भनी पहिचान भयो विगतमा नेपालको। तर हिन्दुबाहेकका बौद्ध, मुस्लिम र अन्य धर्मवलम्बीले कसरी राज्यलाई चिन्ने? तिनको र राज्यको सम्बन्ध कसरी स्थापित गराउने? एकपटक इस्लाम धर्म घोषणा भएका देशहरू हेरौँ। त्यहाँ अन्य धर्ममा विश्वास गर्ने समुदायमाथि भएका हत्या, हिंसा र धर्म परिवर्तनका कुरा हिंसक छन्, अमानवीय छन्। राज्यकै संरक्षणमा यस्तो हुने गर्छ। छिमेकका बंगलादेशमा बौद्ध र हिन्दुमाथि भएको नरसंहार र श्रीलंकामा बौद्ध धर्मवलम्बीहरूले हिन्दुमाथि गरेको नरसंहार अनि ज्यादति मानव सभ्यताको क्रूर कालो इतिहासको पाटो हो। नेपाल धर्म निरपेक्ष देश भएपछि अल्पसंख्यक र बहुसंख्यक सबैका लागि यो देशमा सम्भावना छ  र अवसर पनि भन्ने समान भाव व्यक्त भएको छ। बहुसंख्यक हिन्दुहरूसँग भएको सनातनदेखिको सहिष्णुता र अल्पसंख्यकबीचको सम्बन्ध सूत्र नै नयाँ नेपालको धार्मिक सहिष्णुता हो।

राज्यको पुनर्सरचना

'काठमाडौँकेन्द्रित शासन चल्न सक्दैन'– यो स्वीकारोक्ति लामो समयदेखि आमनेपालीबीच थियो। तर काठमाडौँ अटेर गर्छ र बुझ्दैन। देशभर शासन गर्न सकिन्छ भन्ने मानसिकता सिंहदरवारमा रह्यो। यो मानसिकतामा अझै परिवर्तन हुन सकिरहेको छैन। अनेकन् उपाय खोजिँदैछन् अधिकार सम्पन्न राज्यको पुनर्सरचनामा बाधा हाल्न।

मधेस र माओवादी आन्दोलनको धक्का केन्द्रीकृत राज्य व्यवस्थाले सहन सकेन र नेपाल संघीय गणतन्त्रमा जान बाध्य भयो। अहिले नेपालको नयाँ राजनीतिक नक्सा निर्माण हुँदैछ क्रमशः। यो जटिल र समय लाग्ने काममा अनेकन् आरोह/अवरोह आइरहेका छन् र अझै कैयन् वर्षसम्म आई नै रहनेछन्। सुविधाभोगी राज्यका अनिर्वाचित स्थायी संयन्त्रले सिंहदरवारको अधिकार गाउँघरमा पुग्नबाट रोक्ने अनेकन् प्रयत्न अहिले गर्दैछन्। राजनीतिक दल र आमनागरिकको जित होला कि अनिर्वाचित स्थायी राज्य संयन्त्रको नेपालको भविष्य यही सूत्रमा निर्भर छ।

भूराजनीति परिवर्तन

नेपाल ल्यान्ड लक देशमात्र होइन, 'भारत लक' देश पनि हो भन्ने मान्यता थियो विगतमा। अहिले मानसिक र राजनीतिक कारणले नेपालीबीच यो मानसिकता कमजोर भएको छ। हिमालपारिको छिमेकी चीन पनि नेपालको भूराजनीतिमा महत्वपूर्ण पक्ष हो भन्ने जनताबीच जागरुकता बढेको छ। तिब्बतबाट निस्किएका हिमनदीले नेपालको हिमालय शृंखलालाई छिचोलेर उत्तरबाट दक्षिण बगे, सबै देश नै लामो समय दक्षिणायन् थियो विगतमा। तर अहिले त्यही शृंखलालाई चिरेर नेपालको जमिनी सम्पर्क र सम्बन्ध चीनसँग बढ्दो छ। चीन र नेपालबीच दर्जनौँ नाकामा बाटो निर्माण हुँदैछ, कैयन् भइसकेका छन्।

नेपालको भूराजनीतिमा दश वर्षभित्र ठूलो परिवर्तन आएको छ। चीन पनि खेलाडी भएको छ सक्रिय। यसो हुनुमा भारतआश्रित नेता क्रमशः समाप्त हुँदै जानु र आमनेपाली मानसिकतामा आएको परिवर्तनमात्र जिम्मेवार छैन। स्वयम् भारत नै नेपालको भूराजनीतिलाई परिवर्तन गर्ने कारक बन्यो।

रेमिेटेन्स र युवा पलायन   

नेपाली अर्थतन्त्रको आकार बढेको छ भने त्यसको श्रेय नेपाली गाउँले युवालाई जान्छ। नेपालको मध्यमवर्ग देशबाट श्री सम्पत्ति लिएर पलायन हुने क्रम बढेपछि नेपाली अर्थतन्त्र धान्न गाउँले युवा अगाडि आए। एकातिर नेपालका मध्यमवर्गका युवा विदेश पढ्न, बसाइँ सरी जान र घुमफिर गर्न डलर सक्न लागिपरेका छन् भने ग्रामीण युवाहरू त्यही सरकारी ढुकुटीमा डलर भर्न लागिपरेका छन्।

नेपालबाट रोजगारीका लागि मलेसिया, मध्यपूर्व र अनेकन् प्रतिकूल भूगोलमा काम गर्ने गरिब ग्रामीण युवाहरू आफ्नै देशको नोकरशाहतन्त्र, आर्थिक नीति र राजनीतिक नेतृत्वको संवेदनहीनता र अपमान भोगेर पनि देश बचाएका छन्, धेरैलाई जीवन धानेका छन्। नेपालको ग्रामीण समाजको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तन गरी नयाँ नेपाल निर्माणमा यिनै युवाको भूमिका छ।

उदारवादी अर्थनीतिको निरन्तरता

नेपालको उदारवादी अर्थनीति भनेको भन्सार र कर बढाउने काममा सीमित छ। कांग्रेस वा कम्युनिष्ट सबैले देशको अर्थनीतिलाई समृद्धशाली बनाउने कुनै नयाँ उपाय खोजी गर्न चाहेनन्। विदेशीसँग सहयोग र ऋण माग्नु अर्थनीतिको अर्को अनिवार्य काम भएको छ। युवालाई देशबाट पलायन गराउन वैदेशिक रोजगारी विभाग बन्छ र राष्ट्रिय रणनीति तर्जुमा गरिन्छ। उत्पादनशील क्षेत्रबाट राष्ट्रको ढुकुटी बढाउन अर्थ मन्त्रालय र यसको नेतृत्व पूर्णतः अक्षम भएको छ नेपालमा। योजना आयोग पनि व्यक्तिको प्रोफाइल वृद्धि गर्ने काममा सीमित रह्यो विगतमा। नयाँ नेपाल निर्माणमा सबैभन्दा ठूलो चुनौती आर्थिक क्षेत्रमा छ। कसरी उत्पादकत्व र उत्पादनशील क्षेत्र बढाउने?

माथिका आठ सूत्रबाहेक भूकम्प, नाकाबन्दी र अहिलेको बाढीले नेपालको राजनीतिक, ऐतिहासिक, सांस्कृतिक र आर्थिकरूपले नेपालको नयाँ सोच निर्माण भएको छ। यसका आयाम नयाँ छन् र प्रभाव पनि नेपाली समाजमा तीव्र भएर फैलिएको छ। यसको सविस्तार व्याख्या यहाँ  सम्भव छैन।

मनकुमारी घर्ती राजनीतिको नयाँ प्रतिनिधि पात्र हुन। विगतको राज्य संरचना भएन भनी काखे बच्चा छाडी क्रान्तिमा होमिएकी यी प्रतिनिधि पात्र असफल हुँदा नयाँ नेपालका सबै सूत्र असफल हुनेछन्। नयाँ सूत्र सफलतातर्फ बढोस् र राजनीतिका नयाँ पात्र सफल हुन सकून्। अहिलेलाई यही शुभकामना छ।   

प्रकाशित: ६ भाद्र २०७४ ०३:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App