coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आज क्यानको साधारण सभा

काठमाडौं- नेपाली क्रिकेटको भविष्यसँग जोडिएको नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारण सभा आज मंगलबार सुरु हुँदै छ। आइसिसीले बनाएको सल्लाहकार समितिबाट साउन पहिलो साता पास भएको नयाँ विधान साधारण सभाको एजेन्डा हुनेछ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)का उपाध्यक्ष इमरान ख्वाजा र आइसिसीको विकास विभाग हेर्ने कर्मचारी अमर शेखको उपस्थितिमा साउन ७ गते काठमाडौंमा बसेको सल्लाहकार समितिको बैठकले विधान विवाद टुंग्याएर साधारण सभालाई जिम्मा लगाएको थियो। भदौ १० भित्र विधानबारे टुंगो नलगाए आइसिसीले आफ्नो बाटो लिने जनाएको थियो।

निर्वाचित क्यानका महासचिव प्याकुरेलले साधारण सभाले नयाँ विधानमा केही संशोधन गर्ने संकेत दिए। ‘नयाँ विधानबाहेक हाम्रो अन्य एजेन्डा छैनन्,’ प्याकुरेलले थपे, ‘सहमतिअनुसार हामीले नयाँ विधानलाई सधारण सभामा लान लागेका छौं। अब हलले दफावर छलफल गरेर टुंग्याउनेछ। केही साथीहरूबाट संशोधन गर्नुंपर्छ भन्ने कुरा आएको छ। यही हुन्छ भनेर अहिल्यै भन्न सकिँदैन।’

साधारण सभाले पारित गरेको विधान राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले स्वीकृत गरेको दिनदेखि लागू हुने नयाँ विधानमा उल्लेख छ। यदि भदौ १० भित्र  पनि साधारण सभाले विधान पारित वा स्वीकृत नगरेमा सल्लाहकार समितिले परिषद् वा आइसिसीलाई अन्य उचित विकल्प पेस गर्न सक्ने विधानमा उल्लेख गरिएको छ। सल्लाहकार समितिका एक सदस्यले यदि यो साधारण सभाले विधानलाई यथावस्थामा पारित नगरे आइसिसीले नेपालको सदस्यता खारेज गर्ने बताए। हाल आइसिसीले क्यानको सदस्यता निलम्बनमा राखेको छ।

गत पुसमा निर्वाचित क्यानको कार्यसमितिलाई राखेपले मान्यता नदिई विघटन गरेर नयाँ तदर्थ समिति बनाएको थियो। त्यसविरुद्ध निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्द समूहले सर्वोच्चमा मुद्दा हालेपछि क्रिकेट विवाद चुलिएको थियो। त्यसैको बहानामा विश्व क्रिकेटको सर्वोच्च नियमनकारी निकाय आइसिसीले वैशाख १३ गते नेपाली क्रिकेटलाई निलम्बन गरेको थियो

प्रकाशित: ६ भाद्र २०७४ ०४:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App