७ वैशाख २०८१ शुक्रबार
कला

तीजको विकृतिमा बहस

काठमाडौं- अहिले महिलावर्गलाई तीजले छपक्कै छोएको छ। विगतमा धार्मिक, परम्परागत र सांस्कृतिक आधारका रूपमा मनाइने तीजलाई अचेल त्यो बुझाइमा मात्र सिमित मानिएको छैन। श्रीमान्का लागि मात्र हैन, महिलाहरू आफंै अघिबढ्ने माध्यमका रूपमा पनि यसलाई लिइन थालिएको छ। पछिल्लो समयमा तीज भड्किलो हुँदै गएको गुनासो बढिरहँदा तीजका राम्रा कुराहरू अंगाल्दै यस्ता कुरीतिलाई हटाउनुपर्ने पनि आवाज उठ्न थालेका छन्।

गत साता 'साथी' नामक संस्थाले आयोजना गरेको 'तीज टक' कार्यक्रममा कलाकार, व्यापारी तथा सरकारी पदाधिकारीले तीजका सकारात्मक पक्षलाई उजागर गर्दै तीजका नामका हुने विकृति हटाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा बोल्दै अभिनेता राजेश हमालले तीजका बारेमा महिलाको निर्णय नै महत्वपूर्ण हुने बताए। लैंगिकहिंसा नियन्त्रण अभियानका सद्भावना दूतसमेत रहेका हमालले कुनै पनि दबाबबिना महिलाको स्वनिर्णयमा उनीहरूले चाहे जसरी तीज मनाउन सल्लाह दिए।

‘मानवीय रूपले अर्को व्यक्तिको मर्यादा, आत्मसम्मानमा ठेस पुर्‍याउने हक कसैलाई छैन,’ हमालले भने, ‘आफ्नो निर्णय क्षमता छ भने आफ्नो लागि तीज उपयुक्त छ वा छैन। त्यो कुरा महिलाले नै बुझ्नुपर्छ।’ आफ्नो हजुरआमाले सानै उमेरमा वैधव्य प्राप्त गर्दा पनि परिवारको रेखदेखसँगै सबै क्षेत्र धानेको उदाहरण दिए। ‘मैले श्रीमती मधुलाई हिजो व्रत बस्छौ कि बस्दिनौ भनेर सोधेको थिएँ। नत्र मलाई त थाहा नै थिएन’, हमालले भने, ‘तीजका बारेमा महिलासँगै रीतिरिवाज, भोगाई र सोचाइ जोडेर सकारात्मक प्रश्न गरिनुपर्छ।’

पूर्व मिस नेपाल माल्भिका सुब्बाले तीज रीतिरिवाज र संस्कृति भएर पनि यसले महिलालाई केही हदसम्म पीडा दिइरहेको बताइन्। लिम्बु पिता र बाहुनी आमाको अन्तरजातिय विवाह भएकाले पनि आफूले यसका फरक व्यथा भोगेको खुलाइन्। उनले पनि श्रेष्ठसँग अन्तरजातिय विवाह गरेपछि सामाजिक संस्कारको थप मर्म भोगेको बताइन्। ‘लिम्बु समुदायमा नछुने बार्ने, पानी नखाई तीजको ब्रत बस्नु पर्ने कडाई थिएन,' उनले भनिन्, ‘बिहे भएर गएपछि भने श्रीमान्को घरमा मैले त्यो भोेगे। माइतमा सँधै खुल्ला रहेकी म बिहेपछि बुहारीका रूपमा  बस्नुपर्ने उपदेश पनि माइतीबाटै पाएँ।’ सुन्दरीका रूपमा सामाजिक सञ्जालमा हालेको फोटोमा पुरुषहरूले सुन्दर टिप्पणी गरेको तर गर्भवती हुँदा हालेको फोटोमा भने नकारात्मक टिप्पणी पाएको बताउँदै यी उदाहरणहरूले पुरुषवादी समाजको झल्को पाएको बताइन्।

राष्ट्रिय सूचना आयोगकी आयुक्त यसोदा तिम्सिनाले लक्ष्मीपूजा, दशैं लगायतमा महिला पूज्ने संस्कार भए पनि महिनावारी हुँदा त्यही भगवान छुन नहुने कुरिती अझै नेपाली समाजमा रहेको बताइन्। ‘तीजमा भेला हुनु रमाइलो गर्नु र एकतामा बाँधिनु सकारात्मक पाटो भए पनि ऋषि पञ्चमीमा पाप पखाल्नु भन्नु चाँहि कुरिती नै हो,’ उनले भनिन्, ‘राज्यले पनि 'ए तिमीहरु अछुत हौ, पखालेर शुद्ध भएर आउ' भनेर विभेद गर्दै त्यो दिन बिदा दिनु गलत हो।’

अर्का वक्ता युवा उद्यमी निर्वाण चौधरीले तीज महिला शसक्तीकरणको बाटोमा लैजानुपर्नेमा जोड दिए। श्रीमतीले व्रत नबसेकामा नाक खुम्चाउने श्रीमान्हरू पुरुषवादी समाजका नमुना रहेको महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालाले बताइन्। समयअनुसार तीजलाई परिवर्तन गर्दै लैजानुपर्नेमा महिलाहरूले नै पहल गर्नुपर्नेमा उनले जोड दिइन्।

'साथी'की संस्थाकी बन्दना राणाले नेपालमा नछुने, दाइजो, सुत्केरीलाई हेय, कन्यादन, बालबिबाह, जबरजस्ती विवाह, वादी प्रथा जस्ता कुरिती अझै रहेको उल्लेख गरिन्। उनले संस्कार र परम्पराका नाममा महिलामाथि हुने यस्ता परम्परालाई हटाउन परिवर्तित तीजले सघाउने दाबी गरिन्। ‘मलाई पनि सानैदेखि शिरमा हात राखेरै शौभाग्यवती भव भनेर आशिष दिन्थे,’ उनले अनुभव सुनाइन्, ‘किन भनेको थाहा थिएन। पछि पो थाहा पाएँ कि श्रीमान् मर्दा उसँगै म पनि मर्ने रहेछु।’ गाउँघर र दूरदराजमा मात्र हैन शहरकै महिला पनि नछुने, व्रत र भगवानका मामलामा आफंैभित्र एकप्रकारको डर पालेर बसेको उनले बताइन्।

कार्यक्रमकी सहजकर्ता पत्रकार बबिता बस्नेतले तीजले पारिवारिक सम्बन्धलाई प्रगाढ पार्ने भन्दै केही नखाई ब्रत बस्ने बस्न जोड दिने, पाप पखाल्ने जस्ता गलत क्रियाकलापले महिलालाई नै हानी गर्ने बताइन्।

प्रकाशित: ६ भाद्र २०७४ ०४:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App