८ वैशाख २०८१ शनिबार
खेल

क्यान विधान संशोधनको सम्भावना

नेपाल क्रिकेट संघकाे विशेष साधारण सभाका अवसरमा युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी(बीच)लगायत अन्य सहभागी । तस्बिर: नागरिक

काठमाडौं– नेपाली क्रिकेटलाई मार्गदर्शन गर्न सक्ने नेपाल क्रिकेट संघ (क्यान) निवार्चित कमिटीको विशेष साधारण सभा मंगलबारबाट राजधानीमा सुरु भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को गाइडलाइनअनुसार नयाँ विधान अनुमोदन गर्नुपर्ने बाध्यात्मक अवस्थामा सुरु साधारण सभालाई सरोकारवालाहरूले विशेष चासोका साथ हेरेका छन्। 

आइसिसीले बनाएको सल्लाहकार समितिले साउन पहिलो साता २०५५ सालको विधानलाई प्रतिस्थापन गर्ने गरी नयाँ विधान बनाएर निवार्चित क्यानलाई पारित गर्ने जिम्मा दिएको थियो । त्यसै विषयमा छलफल गर्न डाकिएको विशेष साधारण सभाले नयाँ विधानलाई केही संशोधनसहित पारित गर्ने सम्भावना छ । उद्घाटन सत्रमा निर्वाचित कमिटीका अध्यक्ष चतुरबहादुर चन्दले आफूहरू क्रिकेटको बाधक नभएको भन्दै लोकतान्त्रिक पद्धतिअनुसार चुनावमा जान तयार भएको बताए। 

‘पाँचौ अधिवेशनको सुझावअनुसार हामी सल्लाहकार समितिमा बसेका हौं,’ चन्दले थपे, ‘क्रिकेटमा लागेकाहरूलाई पन्छाएर क्रिकेट अघि बढ्न सक्दैन । यो हलले नयाँ विधान हुबहु पास गर्न सक्छ वा संशोधनसहित पारित गर्न पनि सक्छ । त्यसैले नेपाली क्रिकेटलाई अघि बढ्ने बाटो खोल्नेछ।’

सल्लाहकार समितीकै एक सदस्यले विशेष साधारण सभाले विधानलाई जस्ताको तस्तै पारित नगरे आइसिसीले नेपालको सदस्यता खारेज गर्न सक्ने बताए । साधारण सभामा प्रस्तुत विधानले पनि त्यो खुला गरिदिएको छ । भदौ १० भित्र साधारण सभाबाट विधान पारित नभए सल्लाहकार समितिले परिषद् वा आइसिसीलाई अन्य उचित विकल्प पेस गर्न सक्ने विधानमा उल्लेख गरेको छ । हाल आइसिसीले क्यानको सदस्यता निलम्बनमा राखेको छ। 

निर्वाचित कमिटीका महासचिव अशोकनाथ प्याकुर्‍यालले क्रिकेटको जटिलता चिर्न यो राम्रो अवसर भएको बताए । उनले क्रिकेटलाई अड्काएर राख्न नहुने भन्दै विधान परिवर्तनशील हुने र नयाँ विधानलाई पनि समयानुसार परिवर्तन गर्न सकिने बताए।

‘सल्लाहकार समितिमा धेरै बुँदामा सहमति जुटिसकेको छ । तथापि केही बुँदामा हामीले असहमति राखेका छौं,’ सल्लाहकार समितिका सदस्यसमेत रहेका प्याकु¥यालले थपे, ‘सल्लाहकार समितिको म्यान्डेटअनुसार हामीले यो विधान यस सभामा ल्याएका हौं । यसलाई हुबहु वा परिवर्तन गरेर पारित गर्ने हलको जिम्मा हो।’

चन्द पक्षले साधारणसभामा प्रत्येक जिल्लाबाट सहभागिता हुनुपर्ने र निर्वाचित केन्द्रीय समिति स्वतः सहभागी हुन पाउनुपर्ने अडान राखेको थियो । त्यसमध्ये प्रत्येक जिल्लाबाट सहभागिता जनाउन पाउने मागलाई सल्लाहकार समितिले स्विकारे पनि केन्द्रिय समिति स्वतः सहभागी हुन पाउने विषयलाई अस्वीकार गरेको थियो । चन्द पक्षले यस विषयमा अझै असहमति राख्दै आएको छ।

विशेष साधारण सभाको उद्घाटन गर्दै युवा तथा खेलकुदमन्त्री राजनकुमार केसीले एक खेल एक संघ हुनुपर्ने भन्दै आफ्नो कार्यकालभर खेलकुदमा राजनीति हुन नदिने आश्वासन दिए । ‘विधान संशोधनपछि नेपाली क्रिकेट सहज ढंगबाट अघि बढ्नेमा म विश्वस्त छु । त्यसपछि नेपालमा एउटा मात्र क्रिकेट संघ हुनेछ,’ मन्त्री केसीले भने, ‘क्रिकेटको समस्या विन–विनको अवस्थाबाट समाधान गर्नुपर्छ । हामीले अन्तर्राष्ट्रिय मूल्यमान्यतालाई पनि ध्यान दिनु आवश्यक छ ।’
अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वउपाध्यक्ष कर्माछिरिङ शेर्पाले व्यक्तिगत स्वार्थका कारण क्रिकेट समस्या समाधान जटिल बनेको बताए । उनले थपे, ‘आपराधिक मान्छेहरूका कारण क्रिकेटमा समस्या आएको हो । काम नगर्ने र निहित स्वार्थ भएकाहरूको कारण खेलकुदमा समस्या आएको छ । जबसम्म खेलाडीभन्दा खेल पदाधिकारी मोटाउने अवस्थाको अन्त्य हुँदैन तबसम्म यस क्षेत्रको विकास हुन सक्दैन ।’ 

‘सल्लाहकार समितिको म्यान्डेटअनुसार हामीले यो विधान यस सभामा ल्याएका हौं । यसलाई हुबहु वा परिवर्तन गरेर पारित गर्ने हलको जिम्मा हो ।’

 

प्रकाशित: ७ भाद्र २०७४ ०२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App