४ वैशाख २०८१ मंगलबार
अर्थ

रोकिएन विदेशी कार्टुनमा जुम्ली स्याउ निर्यात

जुम्ला – जिल्ला कृषि विकास कार्यालय जुम्लाले अनुदानमा उपलब्ध गराउने अर्गानिक जुम्ली स्याउ लेखिएको कार्टुन स्याउ किसानसम्म नपुग्दा किसानले विदेशी कार्टुनमा जुम्लाको स्याउ निर्यात गर्नुपरेको छ । विदेशी कार्टुनमा स्याउ निर्यात भएकै कारण जुम्लाको स्याउ र विदेशी स्याउबीचको भिन्नता छुट्याउन गाह्रो पर्ने गरेको व्यवसायी बताउँछन् । 
विदेशी कार्टुनमा लिएको जुम्ली स्याउ बिक्री गर्न समस्या हुने गरेको व्यापारी गुनासो गर्छन् । ‘जुम्लाको स्याउ विदेशी कार्टुनमा आएको भन्दै कतिपयले विश्वाससमेत गर्दैन,’ स्याउ व्यापारी कृष्ण बुढाले भने, ‘जुम्ली स्याउ लेखिएका कार्टुन किसानसम्म पुग्दैनन्, विदेशी कार्टुनमा स्याउ सार्दा विश्वास गर्दैन ।’ यहाँबाट निर्यात गर्ने व्यापारीलाई उपभोक्ताले विदेशी कार्टुनमा भएको जुम्लाको अर्गानिक स्याउ हुन नसक्ने भन्दै फिर्ता गर्ने गरेको गुनासो स्याउ व्यापारीको छ।

वर्षायाममा सर्खुेत र नेपालगञ्जबाट केरा, टमाटर, अनार, सुन्तला, काउली, खुर्सानी आयात भएर आउने चाइनिज स्याउ र भारतिय स्याउका कार्टुनमा जुम्लाको स्याउ धमाधम ढुवानी भइरहेको छ ।  कृषि कार्यालयले जुम्ली अर्गानिक स्याउको लोगो भएको र कृषि कार्यालयको नाम उल्लेख भएका १६ हजार कार्टुन ७५ प्रतिशत अनुदानमा ल्याएपनि वास्तविक स्याउ किसानसम्म पुग्न सकेको छैन। 

कृषि कार्यालयका कार्टुन कृषि सहकारी, कृषक समूह र जिल्ला सहकारी संघलाई वितरण गर्ने गरिएको छ । सहकारी र कृषि समूहमा पहुँच नभएका किसानले विदेशी कार्टुन खरिद गरेर स्याउ पठाइरहेका छन् । उनीहरुले विदेशी प्रतिकार्टुन ५० रुपैयाँमामा खरिद गरेको बताए । स्याउ किसान बलवीर थापाले गरिब वर्गसम्म सरकारी सेवा पुग्ने नगरेको दुखेसो पोखे ।

पहुँच र पावर जमाएका किसानलाई कृषिले कार्टुन वितरण गर्दा विपन्न किसान मर्कामा परेका हुन् ।   यहाँका किसानले चिनी र चामलका बोरामा प्याकिङ गर्दैै जुम्ली स्याउ निर्यात गर्नुपरेको बताएका छन् । ‘कृषिले अनुदानमा उपलब्ध गराएको कार्टुन पहुँचवाला किसानसम्म पुगेको छैन,’ गुनासो पोख्दै उनले भने, ‘जसको बगैंचा छैन, उसको घरमा सरकारी कार्टुन पुग्छ, स्याउ भएका किसानसम्म पुग्दैन ।’ विदेशी स्याउमा जुम्ली अर्गानिक स्याउ निर्यात भइरहँदा स्याउको गुणस्तर र पहिचानका बारेमा शंका उब्जन थालेको छ । स्थानीय स्याउ किसान सुर्जालक्ष्मी रावलले विदेशी स्याउको कार्टुनमा जुम्ली स्याउ पठाउँदा पहिचानमा नराम्रो दाग लागेको बताइन् । ‘यहाँबाट स्याउ उठाउने व्यापारीले जुम्ली स्याउको चित्र अंकित कार्टुन बनाउन सकेका छैनन्,’ स्याउ व्यापारी कर्णबहादुर रावतले भने, ‘किसानले यहाँको स्याउको पहिचान र गुणस्तरका विषयमा सुझाउन सकेका छैनन्।’ 

टमाटर र केरा आयत गरेका विदेशी स्याउको कार्टुनमा जुम्लाको स्याउ बिक्री भइरहँदा कृषि कार्यालयले कुनै प्रतिक्रिया दिएको छैन । अनुदानका १६ हजार कार्टुन पहुँचवालाका पोल्टामै छन् । वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेल दुई महिनाअघिदेखि जुम्ली स्याउको पहिचान नगुम्ने गरी स्याउका कार्टुन बनाउन निर्देशन गरेको बताउँछन् । ‘सरकारी कार्टुन सबै किसानलाई पुग्दैन,’ उनले भने, ‘तर नपुगेका व्यापारीले विदेशी कार्टुनमै जुम्ली स्याउ लेखेर निर्यात गर्न समयमै सुझाएका थियौं ।’ तर किसानले मनपरी रुपमा ढुवानी गरेकाले व्यवस्थित रुपमा निर्यात हुन सकेको छैन । 
स्थानीय दैनिक उपभोग्य वस्तु किनबेच गर्ने व्यापारीवाट प्रतिकार्टुन ५० रुपैयाँ विदेशी स्याउको कार्टुन खरिद गरी स्याउको ढुवानी भइरहेको छ । हाल जुम्लाको स्याउ नेपालगन्ज, सुर्खेत र बुटवलका सहरसम्म मात्रै पुगेको छ । ‘नेपालगञ्ज, सुर्खेत लगायत ठूला सहर बजारमा जुम्लाको स्याउ भनेर विश्वास गर्न छाडेका छन्,’ किसान महेन्द्र मल्लले भने, ‘विदेशी कार्टुनको स्याउ जुम्लाको नभएको भन्दै किन्नसमेत हिच्किचाउँछन्। 

एकातिर जुम्ली अर्गानिक स्याउको महŒवका बारेमा प्रचार गर्ने अर्कोतर्फ रासायनिक विषादीले फलाइएका स्याउ बिक्री गर्ने प्रयोजनका लागि बनाइएका विदेशी कार्टुनमा जुम्ली स्याउको ढुवानी गर्नुपर्ने बाध्यताले यहाँको स्याउको पहिचान खस्कँदै गएको किसान बताउँछन् । शित भण्डारको व्यवस्था नहुँदा लामो समयसम्म स्याउ सुरक्षित राख्न सकिँदैन । जुम्लालाई अर्गानिक स्याउ उत्पादन गर्ने पकेट क्षेत्रको रुपमा लिइएको भए पनि राज्यले उचित व्यवस्थापन गर्न सकेको छैन । यो वर्ष गत वर्षको तुलनामा २५ प्रतिशत स्याउ उत्पादनमा कमी आएको छ ।   

जुम्लामा रोयल, गोल्ड, रेड, जनाथन जातको स्याउ उत्पादन हुन्छ । जिल्ला कृषि विकास कार्यालयले व्यापारीसँग समन्वय गरेर अलग्गै जुम्ली अर्गानिक स्याउको कार्टुन बनाएर लिनसमेत सुझाएको छैन । अहिले देशका विभिन्न जिल्लाबाट स्याउ खरिदका लागि व्यापारी जुम्ला पुगेका छन् । 

 

प्रकाशित: ७ भाद्र २०७४ ०६:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App