१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मुगुका जनताको प्रश्न: सिंहदरवारको अधिकार गाउँमा कि सदमुकाममा ?

मुगु- लामो समयसम्म स्थानीय तह जनप्रतिनिधिविहीन हुँदा त्यहाँको सम्पूर्ण काम गाविस सचिवहरुले धानेका थिए। गाविस सचिव सदरमकाममै बस्दा स्थानीयले गाउँको काम गर्न बजारनै झर्नुपर्ने बाध्यता थियो।

२०७४ वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन पछि राज्यले सिंहदरवारको अधिकार गाउँमा पुग्ने र जनताले सरकारको प्रत्यक्ष उपस्थित भएको महशुस गर्ने बताएको थियो। राज्य संघीयतामा गई स्थानीय तहको निर्वाचनबाट जनप्रतिनीधी आईसक्दा पनि जनताले पुरानो दु:ख विर्सन सकेका छैनन।

 स्थानीय तहको निर्वाचन पछि सम्बन्धित गाउँपालिका र वडा कार्यालयहरुबाटै जनताका काम हुने भने पनि निर्वाचन सम्पन्न भएको चार महिना पुग्दा पनि ग्रामीण क्षेत्रका गाउँपालिका, वडा कार्यालयहरुका सम्पर्क कार्यालयहरु सदरमुकाममा नै रहेका छन्। गाउँमा पाउने भनेको सेवा सुविधा जनताले सदरमुकाम धाएरै लिनु परिरहेको छ।

मुगु जिल्लामा एउटा नगरपालिका र तीन वटा गाँउपालिका रहे पनि हिजो आज वडा कार्यालयहरुमा सचिव नहुँदा स्थानीयका कामकाज ठप्प प्राय रहेका छन्।

२४ वटा गाविसलाई एउटा नगरपालिका र तीनवटा गाउँपालिकामा विभाजन गरि ४५ वडा कायम गरिए पनि अहिले सम्वन्धित वडा कार्यालय र गाउँपालिका कार्यालयमा कर्मचारी नजाँदा समस्या आएको छ। साविकका गाविस भवन रहेका स्थान आसपासका वडाहरुका कार्यालयहरु भवनको क्षमता हेरेर कार्यालय सञ्चालन गर्नु पर्ने , यदि ठाउँ नपुगे घर भाडामा लिएर पनि  कार्यालय सम्बन्धित वडाको पायक पर्ने स्थानमा राख्ने गरि गाउँपालिका र नगरपालिकाले घरभाडाको रकम वडालाई दिए पनि वडा कार्यालयहरु सदरमुकाममा नै चलेका छन। गाउँपालिका त टाढाको कुरा नगरपालिकाका १४ वटा वडा मध्य अधिकांश वडाका सम्पर्क कार्यालयहरु सदरमुकाममा नै खोलिएका छन।

मुगु जिल्लामा एउटा नगरपालिका र तीन वटा गाँउपालिका रहे पनि हिजो आज वडा कार्यालयहरुमा सचिव नहुँदा स्थानीयका कामकाज ठप्प प्राय रहेका छन्।

सरकारले स्थानीय तहको निर्वाचन पछि गाउँमा सिंहदरवार घरघरमा सरकार पुग्ने नारा लगाए पनि स्थानीय तहको निर्वाचन पछि जन प्रतिनीधी निर्वाचित भए तर  जनताहरुले पाउने सेवा जन्म दर्ता,नागरिकता सिफारिस,मृत्यू दर्ता,नाता प्रमाणीत,लगायतका सम्पूर्ण काम सचिवहरु नहुँदा प्रभावित हुने गरेका छन्। स्थानीय तहबाट विबाह दर्ता, जन्म दर्ता, मृत्यु दर्ता , बसाई सराई र सम्बन्ध विच्छेद जस्ता काम गर्ने अधिकार स्थानीय पञ्जिकाधिकारी अर्थात सचिवलाई भए पनि अहिले गाउँमा सचिव नहुँदा यि सबै काम प्रभावित भईरहेका छन्।

दुर्गम गाँउ बस्तीबाट ३,४,दिन हिडेर सदरमुकाम गमगढीमा नागरिकताको सिफारिस लिन ,जन्म, मृत्यु दर्ता लगायतका अन्य कामका लागि सचिव खोज्दै गाउँबाट सदरमुकाम आउनु परेको तथा सदरमुकाममा रहेको वडाका सम्पर्क कार्यालयहरुमा समेत सचिव भेट्न नसकिएको सर्वसाधारणले गुनासो छ। सोरु गाउँपालिकामा गाउँपालिकाको कार्यालय सोरुकोटमा स्थापना गरिए पनि कर्मचारीहरु, वडाका सचिवहरु सम्बन्धित कार्यालयमा नबस्दा संघीयतामा सिंहदरबारको अधिकार गाउँमा भन्ने कुरामा मात्र परिवर्तन भएको तर व्यवहारमा परिवर्तन हुन नसकेको सोरुकोटका स्थानीयवासी सन्तोष शाहीले बताए। वडा सचिव र कर्मचारी नहुँदा सामान्य नागरिकताको सिफारिस लिन  आएका मान्छे त्यतिकै फर्किने गरेका र अझै पनि नागरिकता लिनकै लागि जिल्ला सदरमुकाम धाउनु पर्ने अवस्था कायमै रहेको अर्का स्थानीयवासी अजबहादुर रोकायाको भनाई छ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकाका ११ वटै वडाहरुमा वडा सचिव नहुँदा कामकाज गर्न समस्या भई रहेको र सामान्य जन्म दर्ता वा मृत्यु दर्ता गर्नका लागि स्थानीयवासी सचिव खोज्दै सदरमुकाम पुग्ने गरे पनि सचिव भेट्न नसकिएको सोरु गाउँपालिका वडा नम्बर ११ धैनकोटका देवीलाल मल्लले बताए।

सदरमुकाम स्थित छायाँनाथ रारा नगरपालिकाका १४ वटै वडाहरुलाई यहि महिना भित्रै आ आफ्नो वडाको पायक पर्ने स्थानमा कार्यालय स्थापना गरि सेवा प्रवाह गर्न निर्देशन दिई सकिएको नगरपालिकाका मेयर हरिजंग शाहीले बताए। सिंहदरवारको अधिकार गाउँमा भनेर सरकारले स्थानीय तहबाट जनतालाई सेवा प्रवाह गर्न भनि सके पछि सदरमुकाममा कार्यालय खोलेर बस्न नपाईने शाहीको भनाई छ।

प्रकाशित: ७ भाद्र २०७४ १०:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App