coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाढी प्रभावित क्षेत्रमा ज्वरो र रुघाको प्रकोप

धनुषाको मुखियापट्टीमा नेपाली सेनाको गोरखनाथ गणले सञ्चालन गरेको शिविरमा स्वास्थ्य जाँच गराउँदै स्थानीय। तस्बिर: नागरिक

जनकपुर- मधेसको बाढी प्रभावित क्षेत्रमा ज्वरो र रुघाखोकीको प्रकोप फैलिन थालेको छ। बुधबार धनुषाको रघुनाथपुरस्थित बाढी पसेको बस्तीमा आयोजित स्वास्थ्य शिविरमा अधिकांस ज्वरोका बिरामी भेटेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।

दुई सय भन्दा बढी बिरामीलाई जाँच गरेकोमा एक तिहाई भन्दा बढी ज्वरोले ग्रस्त भेटिएको जनस्वास्थ्य अधिकृत सचितानन्द देवले जनाए। यस अघि नेपाली सेनाको गोरखनाथ गणको अगुवाईमा शिविर सञ्चालन गरेको दुब्बरकोट र मुखियापट्टीमा पनि ज्वरो र रुघाखोकीको बिरामी बढी भेटिएका छन्।

४ सय ९९ जनाले उपचार सेवा पाएको दुब्बरकोटमा १ सय ८० जना ज्वरोका बिरामी भेटिए भने १ सय १९ जनामा रुघाखोकीको समस्या देखियो । मुखियापट्टीमा ३ सय ३८ जनाले स्वास्थ्य जाँच गराए । ती मध्ये १ सय ५६ जना ज्वरोको बिरामी भेटियो । ८१ जनालाई रुघाखोकी र २२ जनालाई छाला सम्बन्धी रोगले छोएको थियो।

बाढीले सबैभन्दा बढी खुल्ला पानीको मुहानलाई दुषित पार्ने गरेको र फोहोर पानीले ज्वरो, रुघाखोकी, छाला तथा आँखा पाक्ने रोगको संक्रमण बढ्ने खतरा उत्पन्न हुने जनकपुर अञ्चल अस्पतालकी मेसु डा.कल्पना बछारले बताइन्। ‘तराई–मधेशको ग्रामिण भेगमा अहिले पनि पोखरी तथा खाल्डाखुल्डीमा जमेको पानीमा नुहाउने, कपडा धुने, भाँडा माझ्ने जस्तो प्रवृति छ’ डा.बछारले भनिन्, ‘बाढी आएपछि ती सबै पानीको मुहान फोहोर भएको छ र त्यसको प्रयोगले सिधै मानव स्वास्थ्यमा असर गरिरहेको छ।’

एकैदिन २६ स्थानमा स्वास्थ्य शिविर

स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले बुधबार महोत्तरीको बाढीप्रभावित गाउँ लोहारपट्टीमा निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गरेका छन् । यो सहित जिल्लाका विभिन्न २६ स्थानमा निःशुल्क औषधी सहितको शिविर सञ्चालन भएको छ ।

बाढीको असरले रोगको प्रकोपको रुप लिन नपाओस् भनेर तत्काल बाढी प्रभावित सबै ग्रामिण भेगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको मन्त्री पोखरेलले जनाए । ‘दुई वर्ष अगाडि विनाशकारी भूकम्प आएको भन्दा पनि ठूलो विनास यो बाढीले गरेको छ’ उनले भने, ‘यसको असर मेट्न त समय लाग्छ तर, मानव स्वास्थ्यको गम्भिरता बुझेर तत्काल स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।’

प्रत्येक शिविरमा दुई जनाको दरले विशेषज्ञ चिकित्सक र दुई हजार भन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरिएको छ । शिविरका लागि महोत्तरीसँगै धनुषा, सर्लाही र सिन्धुलीका स्वास्थ्यकर्मी तथा चिकित्सक आएका छन् । शिविरमा प्राथमिक उपचारदेखि विशेषज्ञ सेवा सहितको व्यवस्था गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय, महोत्तरीले जनाएको छ ।

 

 

प्रकाशित: ७ भाद्र २०७४ १३:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App